+
+

अखिल क्रान्तिकारीमा उमेर हद लागू हुँदा अध्यक्षका सबै प्रत्यासी ‘आउट’

लिलु डुम्रे लिलु डुम्रे
२०८१ असोज १४ गते १९:४६

१४ असोज, काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा ३२ वर्षे उमेरहद कायम गर्दा अहिले अध्यक्षमा दाबी गरिरहेका डेढ दर्जन उम्मेदवार सबै बाहिरिने भएका छन् । उमेर हद कायम हुँदा अहिले उपमहासचिव र त्योभन्दा तल्लो वरीयता रहेका विद्यार्थी नेताहरूको बाहुल्य हुने भएको हो ।

अखिल क्रान्तिकारीको १० असोजदेखि कीर्तिपुरमा जारी २३ औं राष्ट्रिय सम्मेलन अहिले विद्यार्थी राजनीति गर्न उमेरको सीमा राख्ने/नराख्ने विवादका कारण प्रभावित छ । उमेर हदको पक्ष र विपक्षमा बलियो मत देखिएपछि यो मुद्दालाई मतदानबाट टुंग्याउने निर्णयका विरुद्ध पनि विरोध भएपछि अहिले सम्मेलन नै प्रभावित भएको हो ।

बन्द सत्र रित्तै, सम्मेलन नेताको कोठाचोटामा

अखिल क्रान्तिकारीको २३ औं सम्मेलन स्थल त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको स्मृति हल अहिले खाली छ । सम्मेलन प्रतिनिधिहरू लाखापाखा लागिसकेका छन् ।

‘कीर्तिपुरको सम्मेलन हलमा अहिले सम्मेलन प्रतिनिधि छैनन्, हल रित्तो छ’ अखिल क्रान्तिकारीका एक नेताले अनलाइनखबरसँग भने, ‘केही नेताहरू अब के गर्ने भनेर छलफल गरिरहेको बुझिएको छ ।’

अघिल्लो सम्मेलनले नयाँ कार्यसमिति निर्वाचित गर्न नसकेपछि सम्मेलन सकिएको केही समयपछि प्रचण्डले अध्यक्षका प्रत्यासीहरूलाई खुमलटार बोलाएर पञ्चा सिंहलाई अध्यक्ष घोषणा गरिदिएका थिए ।

यसपटक पनि अध्यक्षका प्रत्यासी धेरै भएपछि अखिल क्रान्तिकारीका पदाधिकारी फ्र्याक्सन इञ्चार्ज हिमाल शर्मासहित सोमबार बिहान प्रचण्डको निवास खुमलटार पुगेका थिए । प्रचण्डले नयाँ नेतृत्व मात्र होइन, उमेर हदको विवाद पनि मतदान नै गरेर लोकतान्त्रिक विधिबाट टुंग्याउन निर्देशन दिएको फ्र्याक्सन इञ्चार्ज हिमाल शर्मा बताउँछन् ।

भेटमा सहभागी अध्यक्षका प्रत्यासी जीपी मैनालीले प्रचण्डको भनाइ उद्धृत गर्दै भने, ‘हलले जे भन्छ, त्यही मान्नुस् ।’

पार्टी अध्यक्षको निर्देशनअनुसार मतदानको तयारी गर्न सम्मेलन स्थलमा नेतृत्व फर्किएपछि केही ३२ नाघेका विद्यार्थी नेताहरूले उमेर कटेका नेताहरूले गरेको त्यागको अवमूल्यन नगर्न भन्दै नाराबाजी गरेका थिए ।

संगठनभित्र उमेर हद लागू गर्नुपर्ने र गर्न नहुने दुवै मत रहेको अखिल क्रान्तिकारीका प्रवक्ता समेत रहेका मैनाली बताउँछन् ।

निवर्तमान उपाध्यक्ष एवं अध्यक्षका आकांक्षी तुकमान महराको नेतृत्वमा रहेका केही प्रतिनिधिले सम्मेलन केन्द्र तोडफोड गरेपछि सम्मेलनको प्रक्रिया रोकिएको छ ।

माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेत विवाद मिलाउने जिम्मेवारीसहित अहिले सम्मेलन स्थलनमा खटिएका छन् । उनले सात जिल्लाको प्रतिनिधि विवाद समाधान गरेर निर्वाचन प्रक्रिया सुरु गर्न पहल गर्ने निवर्तमान उपाध्यक्ष क्षितिज सापकोटाले जानकारी दिए ।

उमेर हदको पक्षमा स्ववियु नेतृत्व

उमेरको समयसीमा राख्न नहुने तर्क राख्नेले आन्दोलनमा गरेको योगदानलाई कारण बनाएका छन् । तर, सक्रिय विद्यार्थी जीवन बिताइरहेका र स्वतन्त्र विद्यार्थी युनियनको आबद्ध विद्यार्थीहरू भने अग्रजहरूले इतिहासको ब्याज खान नहुने तर्क गरिरहेका छन् ।

‘समय अनुसार नयाँलाई हस्तान्तरण र पुस्तान्तरण गर्दै जानुपर्दछ भन्ने उमेर हद राख्नुपर्छ भन्नेहरूको विचार छ,’ अखिल क्रान्तिकारीका एक पूर्व पदाधिकारीले भने । अखिल क्रान्तिकारीका नेताहरूका अनुसार अधिकांश स्ववियु सभापतिहरू उमेर हद लागु गर्ने पक्षमा छन् ।

उमेर सीमाको विवाद निरुपण गर्न हुने मतदानमा प्रतिनिधिहरूले २८, ३० र ३२ वर्षमध्ये कुन उमेर हद लागु गर्ने भनेर पनि मतदान गर्नुपर्ने हुन्छ । ‘उमेर हद राख्न हुन्न भन्नेले एउटामा टीक लगाए भयो । उमेर हद राख्न पर्छ भन्नेले तीनबाट एउटा उमेर पनि छान्नुपर्दछ,’ निवर्तमान उपाध्यक्ष सापकोटाले भने ।

अन्ततः प्रतिस्पर्धा जनार्दन र वर्षमानकै

उमेर हद लाग्ने निर्णयको पक्षमा मत परिणाम आएको अवस्थामा समेत विद्यार्थी संगठनमा अध्यक्षका लागि प्रतिस्पर्धा उपमहासचिवद्वय जनार्दन शर्मा र वर्षमान पुन पक्षधरबीच नै हुने देखिएको छ ।

उमेर हद लागू हुँदा २२ औं सम्मेलनबाट निर्वाचित १७ उपाध्यक्षहरू इन्‍द्र भुसाल, नरेश रेग्मी, पवन कार्की, मदन भूल, मदन भट्टराई, नारायण खनाल, जीपी मैनाली, क्षितिज सापकोटा, केशव रावल, डा. अच्युत भट्ट, तुकमान महरा, मिलन एमसी, लक्ष्मी जोशी, प्रविणा अधिकारी, सूर्यनारायण साह, गजेन्द्र देव लगायत प्रतिस्पर्धाबाट बाहिरिने छन् । यो दौडबाट संगठनका निवर्तमान महासचिव दिपेश पुन पनि बाहिरिने छन् ।

योसँगै निवर्तमान उपमहासचिव र तल्लो वरियतामा रहेकाहरूको नयाँ कार्यसमितिको नेतृत्वमा दबदबा रहनेछ ।

३२ वर्षे उमेर हद कायम हुँदा कोशीबाट हेमन्त राई अध्यक्षको आकांक्षी छन् । कोशीको निवर्तमान अध्यक्ष राई नेता सुदन किराँती निकट हुन् । उनी उपमहासचिव शर्मा पक्षधरका हुन् ।

बागमतीबाट अध्यक्षमा अर्का आकांक्षी रोशन थापामगर देखिएका छन् । नेता शर्मा पक्षका उनी निवर्तमान कमिटीमा सचिव एवम् पुल्चोक क्याम्पसका निवर्तमान स्ववियु सभापति थिए ।

बागमतीबाट अघिल्लो कमिटीमा उपमहासचिव रहेका सुरजसिंह ठकुरीले केन्द्रीय अध्यक्षमा दाबी गर्ने तयारी गरेका छन् । उमेर हद लागु हुँदा अध्यक्षका दाबेदार गर्ने ठकुरी पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ नजिकका भनेर चिनिन्छन् ।

उमेर हद लागू भए गण्डकीबाट केन्द्रीय अध्यक्षको दाबी गर्नेमा नारायण बडाल र सुदिन पौडेल छन् । दुवै जना विघटित कमिटीका उपहासचिव हुन् । बडाललाई नेता शर्मा र पौडेललाई वर्षमान पुनको साथ छ ।

लुम्बिनीबाट राजेन्द्र विष्ट अध्यक्षका आकांक्षी देखिएका छन् । सचिवको कार्यकाल सकाएका विष्ट वर्षमान पुन पक्षधर हुन् ।

उमेर हद लागु हुँदा कर्णालीका तिर्सना हमाल, योगेन्द्र बुढा अध्यक्षका आकांक्षी देखिएका छन् । अघिल्लो कार्यकालमा उपमहासचिव रहेकी हमाल वर्षमान पुन पक्षधर हुन् भने अघिल्लो कार्यकाल उपमहासचिव रहेका बुढा कृष्णबहादुर महरा निकट छन् ।

सुदूरपश्चिमबाट पार्वती नेगीले अध्यक्षमा दाबी गर्ने तयारी गरेकी छन् । वर्षमान पक्षधर उनी अघिल्लो कमिटीमा उपमहासचिव थिइन् ।

उमेर हद लागु गर्दा महासचिवमा मदन ढकाल, देवेन्द्र शर्मा, आरती शर्मा लगायत आकांक्षी देखिएका छन् । अघिल्लो कमिटीका केन्द्रीय सदस्य ढकाल पार्टी अध्यक्ष प्रचण्ड पक्षधर हुन् ।

जनार्दन टीमबाट देवेन्द्र शर्मा महासचिवका आकांक्षी हुन् । अघिल्लो कार्यकाल केन्द्रीय सचिवालय सदस्य रहेकी आरती शर्मा कुनै समूहमा खुलेकी छैनन् ।

प्रस्तावित विधानमा २४३ केन्द्रीय समितिको व्यवस्था गरिएको छ । पदाधिकारी ३३ जना रहने गरी बनाइएको विधानमा उपाध्यक्ष ९, महासचिव १, उपमहासचिव ९, सचिव १२, कोषाध्यक्ष १ रहने गरी प्रावधान बनाइएको छ ।

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?