+
+

भुपेन्द्र बडुवाल हत्या प्रकरणमा फेरि साक्षी बुझ्ने आदेश

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १४ गते २०:२०
हत्या गरिएका युवक भुपेन्द्र बडुवाल ।

१४ असोज, धनगढी । कैलालीको लम्कीचुहा नगरपालिका–१ का २३ वर्षीय भुपेन्द्र बडुवाल हत्यासम्बन्धी मुद्दामा जिल्ला अदालत कैलालीले फेरि साक्षी बुझ्ने आदेश गरेको छ ।

आइतबार हेर्दाहेर्दैमा राखिएको मुद्दा सोमबार सुनुवाइ गर्दै न्यायाधीश हरिसिंह धामीको एकल इजलासले साक्षी बुझ्ने आदेश दिएको अदालतका शाखा अधिकृत कमल घलेले बताए । जिल्ला अदालतले यो मुद्दामा साक्षी बुझ्ने आदेश गरेको पाँचौँ पटक हो

बडुवालको २३ कात्तिक २०७८ मा टीकापुर नगरपालिका–१ मा हत्या भएको थियो । प्रहरीले गरेको अनुसन्धानका आधारमा २६ फागुन २०७८ मा जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा नवीन रावलसहितका २१ जनाविरुद्ध कर्तव्य ज्यान सम्बन्धी मुद्दा दायर गरेको थियो ।

पटक–पटकको सुनवाइपछि २६ चैत २०८० मा जिल्ला अदालतका तत्कालीन न्यायाधिश विष्णुप्रसाद अवस्थीको इजलासले प्रतिवादीको बयान लिने र वादी पक्षको बकपत्र गराउने काम सकिसकेको छ ।

त्यसपछि अन्तिम सुनवाइका लागि जिल्ला अदालतले पेशी तोकेपनि कहिले जिल्ला सरकारी वकिलको कार्यालय र कहिले प्रतिवादीका कानुन व्यवसायीबाट पेशी सार्दै आएको छ । ६ महिनाको अवधिमा सरकारी वकिलको कार्यालयकाबाट तीन र प्रतिवादीका कानुन व्यवसायीको तर्फबाट चारपटक पेशी स्थगित गरेको पाइएको छ ।

सरकारी वकिल कार्यालय र प्रतिवादी पक्षका कानुन व्यवसायीले पटक–पटक मुद्दाको पेशी सारेपछि मुद्दालाई कमजोर पार्ने चलखेल भइरहेको आशंका पीडित पक्षले गरेको छ ।

बडुवालको हत्या प्रकरणमा मुख्य अभियुक्त भनिएका नवीन रावलसहितका २१ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको छ । उनीहरुमध्ये १२ जनालाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेकाहरु पुर्पक्षका लागि थुनामा छन् भने अरु फरार छन् ।

उनका अनुसार मौकामा कागज गर्ने व्यक्ति र मृतकको स्वास्थ्य परीक्षणमा संलग्न डाक्टरसँग केही कुरा बुझ्नुपर्ने भन्दै साक्षीको आदेश भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?