+
+

के पृथ्वी मान्छेको मात्रै हो ? वन्यजन्तुको होइन !

हामीले वन्यजन्तुको प्राकृतिक वासस्थान शहरीकरण एवं भौतिक विकासको नाममा टुक्र्याइराखेका छौं । वन्यजन्तु आफ्नो घर भत्किएकोमा मानिस कहाँ निवेदन हाल्न आउँदैनन् । निर्दोष प्राणी न परे ! तर, के हामीले उनीहरूको समस्या अनदेखा गर्नु बुद्धिमानी हो ?

रोशन शेरचन रोशन शेरचन
२०८१ असोज १९ गते ९:००

हामी मानिसहरू आफ्ना दुःख-पीडाहरू आफन्त र इष्टमित्रलाई सुनाउँछौं, दुःखबाट त्राण पाउने उपाय निस्किहाल्छ कि भन्ने आशामा ।

भाषाको सहारा लिन्छौं, जो मान्छेको सबभन्दा भरपर्दो माध्यम हो । मानिसलाई आफ्नो व्यथा अन्यमाझ पुर्‍याउन अहिले प्रविधिको नपत्याउने साथ-सहयोग छ । सामाजिक सञ्जाल मार्फत हामी आफ्ना समस्या विश्वको कुनै पनि कुनामा भएका आफन्तलाई बताउन सक्छौं ।

तर, वन्यजन्तुसँग त्यस्तो सम्भावना र सुविधा छैन । ऊ पूरापूर प्राकृतिक छ, पशुवृत्तिमै बाँचेको छ । समृद्ध भाषा छैन, शायद भाषा नै पनि नहोला । संकेत छ तर त्यो आममान्छेको निम्ति गूढ नै छ । केही प्राणीशास्त्री बाहेक अरूले त्यसको अर्थ बुझ्न सक्दैनन् । मान्छे आफ्ना सपना, महत्वाकांक्षा र सुख-सुविधाका निम्ति यति भागदौडमा छ कि वन्यजन्तुको दुःख बुझ्नेतिर चासो छैन, बराबर छ ।

जोड्न खोजेको सन्दर्भ भर्खरको हो- अगस्ट, सेप्टेम्बर महिनाको । केही संचारकर्मी मित्रहरूसँग मानिस र जैविक विविधता, त्यसमा पनि वन्यजन्तुको अन्तरसम्बन्धबारे अन्तरक्रिया गर्न पश्चिम तराईको यात्रामा थियौं । बुटवल, कोहलपुर र धनगढीमा एकदिने गोष्ठी राखिएको थियो । अनुभवी स्रोतव्यक्तिहरूसँग मैले पनि एक सेसन सहजीकरण गर्ने अवसर पाएको थिएँ ।

नेपालमा इकोसिस्टम, जैविक विविधताको अवस्था कस्तो छ ? इकोसिस्टम र जैविक विविधताको सामुन्ने के-कस्ता जोखिमहरू छन् ? रेखीय पूर्वाधारले (सडक, सिंचाइ नहर, विद्युत् प्रसारण लाइन, रेलमार्ग) जैविक विविधतामा पार्न सक्ने नकारात्मक प्रभावहरू केके हुन् ? यी असरहरूलाई कम गर्ने सम्भाव्य उपाय के हुन सक्छ ? साथै देशीय र विदेशमा अपनाइएका केही प्रभावकारी उपायहरू आदि बारे जानकारी दिएको थिएँ ।

सहभागीमध्ये स्थानीय सरकारका जनप्रतिनिधिहरूको बाहुल्य थियो । साथै थिए, प्रदेश वन निर्देशक, पूर्वाधार कार्यालयका इन्जिनियर, वन कार्यालयका प्रमुख, सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधि, मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका प्रतिनिधि र सञ्चारकर्मी ।

गोष्ठीको अन्तिम कार्यक्रम धनगढीमा भएको थियो । तीन जना स्रोतव्यक्तिहरूले आफ्ना प्रस्तुति सिध्याएपछि छलफल सेसन सुरु भयो । सहभागीहरूले पालैपालो आफ्ना राय र धारणा राख्दै थिए । म नोट टिप्न व्यस्त थिएँ ।

यसैक्रममा एउटा नगरपालिकाको मेयरले भनिन्- ‘वन्यजन्तुले मान्छे मारिरहेछ, घाइते बनाइरहेछ । किन चाहियो वन्यजन्तुमैत्री पूर्वाधार ? मान्छे ठूलो कि जनावर ?’

हामी अवाक् भयौं । प्रथम, हामी कसैले मानिसभन्दा वन्यजन्तु महत्वपूर्ण भनेका थिएनौं । हाम्रो उद्देश्य प्रस्ट थियो- वन्यजन्तु र मानिस बीच हुनसक्ने सहअस्तित्वबारे छलफल चलाउने र वन्यजन्तुमैत्री पूर्वाधार निर्माण निर्देशिकाबारे सहभागीहरूलाई जानकारी गराउने । मेयरले मज्जाले कुरा घुमाइन् । नभनेको कुरालाई स्पष्टीकरण दिने कुरा पनि भएन । हामी मौन बस्यौं । मेयर प्रतिनिधि पात्र थिइन् । तर, त्यो घटनाले एउटा जनप्रतिनिधिको जैविक विविधतालाई हेर्ने दृष्टिकोण छर्लङ्ग देखाइदिएको थियो ।

मेरो मनमा प्रश्न उठ्यो । मेयरले त हामीले राखेका विषयलाई स्वागत पो गर्नुपथ्र्यो । हामीले कुरा स्पष्ट राख्न सकेनौं वा उहाँले बुझ्न चाहनुभएन, अनभिज्ञ छु । वन्यजन्तु र मान्छेबीच द्वन्द्व हुनाका अनेकौं कारण छन् । एउटा कारण चाहिं योजना विना गरिने सडक निर्माण हो । वातावरणीय अध्ययन विना निर्माण गरिने स्थानीय वा ग्रामीण सडकले वन वा वासस्थान नष्ट वा खण्डीकरण गरिदिंदा वन्यजन्तु अल्मलिई बस्तीतिर छिर्ने सम्भावना बढेको वैज्ञानिक अध्ययनले देखाएको छ ।

वन्यजन्तुमैत्री पूर्वाधार निर्माण निर्देशिकाले रेखीय पूर्वाधार निर्माण गर्दा संरचनाहरू वन्यजन्तुमैत्री बनाउन किन आवश्यक छ ?

प्राविधिक टोलीले अध्ययन गरेर स्वीकृति दिएपछि मात्र विस्तृत सर्भेक्षण गर्नुपर्ने लगायत वन्यजन्तुमैत्री संरचनाको मापदण्ड पनि अनुसूचीमा दिएको छ । वन्यजन्तुसँग वाहन ठोक्किएर दर्जनौं दुर्घटना भएको जगजाहेरै छ । वन्यजन्तु मात्र होइन सवारी चालक र यात्रुको पनि मृत्यु वा घाइते भएको कसैबाट छिपेको छैन । यस्तोमा वन्यजन्तुमैत्री पूर्वाधारले वन्यजन्तुलाई मात्र होइन मान्छेको जीवन पनि सुरक्षित बनाउँछ भनेर बुझ्न कठिन छैन । श्यामश्वेतमा हेर्ने अर्थात् यो कि त्यो ? जस्ता ध्रुवीकृत दृष्टिकोणले समाधानको उपाय दिन सक्दैन । म खिन्नै बनें ।

जनप्रतिनिधिहरूले मतदाताको पक्षमा नै वकालत गर्ने हो तर वन्यजन्तुमैत्री संरचना पनि स्थानीय जनताको पक्षमा छ भनेर बुझ्न आवश्यक छ । बरु पूर्वाधार विकासको नाममा डोजर चलाउने र वातावरणीय सुरक्षालाई प्राथमिकतामा नराख्ने अभ्यास दीर्घकालको निम्ति हानिकारक छ ।

वन्यजन्तुको प्राकृतिक वासस्थान शहरीकरण, राष्ट्रको समृद्धि र भौतिक विकासको नाममा टुक्र्याइराखेका छौं । वन्यजन्तु आफ्नो घर भत्किएकोमा मानिस कहाँ निवेदन हाल्न आउँदैनन् । निर्दोष प्राणी न परे, आफ्ना समस्याहरू बताउन सक्दैनन् । के त्यसैले हामीले उनीहरूको समस्या अनदेखा गर्नु बुद्धिमानी हो ? प्राणी र प्रकृतिको सुरक्षा मानिसकै सामाजिक दायित्वभित्र पर्दैन र ? वन्यजन्तुको अवस्थाप्रति किन संवेदनशील नबन्ने ? करुणा सुन्दरतम् भाव होइन र ? मान्छे ठूलो कि वन्यजन्तु भन्ने प्रश्नले बहसलाई फलदायी दिशातिर लैजाँदैन ।

वातावरण विज्ञानको दृष्टिमा मान्छे ठूलो कि वन्यजन्तु भन्ने प्रश्नमा, जुन जवाफ छाने पनि गलत हुन्छ । मान्छे र वन्यजन्तु समान रूपमा इकोसिस्टमको इकाई भएकोले के बराबर हुन सक्दैनन् ? मान्छे र प्राणी परोक्ष रूपमा परस्परमा निर्भर हुन्छन् । मान्छे र प्राणी मात्र होइन, वन, वनस्पति, घाँसेमैदान, सिमसार, ढुंगा, माटो, वासस्थान र समग्रमा ल्याण्डस्केप निरन्तर एकआपसमा प्रतिक्रियामा रही खास इकोसिस्टम बन्छ, जहाँ सबै एकआपसमा सूक्ष्म ढंगले जोडिएका हुन्छन् । त्यो खाद्य सञ्जाल भत्किए, सबैको अस्तित्व संकटमा पर्छ । कसैले वन्यजन्तु र उनीहरूको वासस्थानको संरक्षणको पक्षमा बोल्दा परोक्षमा मान्छेकै हितको निम्ति बोलेको हुन्छ ।

अर्बौं, खर्बौं लगानी गरेर पनि एउटा डल्फिन, बाघ, गैंडा, कृष्णसार, अजिंगर वा मलसाप्रो हामी बनाउन सकिन्न । त्यो असम्भव छ । प्रकृतिले लाखौं करोडौं वर्ष लगानी गरेर एक एक प्रजाति अहिलेको स्वरुपमा आएका हुन् । लाखौं करोडौं जीवहरू प्राकृतिक वातावरणसँग अनुकूल हुन नसक्दा, प्राकृतिक छनोटमा परी विलुप्त भए । लाखौं करोडौं वर्षको उद्विकासकोे क्रममा अहिले अस्तित्वमा रहेका यी प्रजातिहरू भविष्यमा पनि हजारौं लाखौं वर्ष बाँच्न पाउनुपर्छ

हामीले मात्र हेर्न पाएर पुग्दैन, हाम्रा सन्ततिहरूले यी वन्यजन्तुहरू हेर्न पाउनुपर्छ । अनि पो सहअस्तित्व ।

कहाँ कहाँ देखिए संकट ?

नेपालको झण्डै २४ प्रतिशत भूभाग संरक्षित क्षेत्रले ओगटेको छ । संरक्षित क्षेत्र जैविक विविधताको दृष्टिले समृद्ध (बायोडाईभर्सिटी हटस्पट) मानिन्छ । त्यहाँ थरी-थरीका इकोसिस्टमहरू पाइन्छ- वन इकोसिस्टम, घाँसेमैदान इकोसिस्टम, सिमसार इकोसिस्टम आदि ।

त्यति मात्र होइन, वन्यजन्तुहरू एक संरक्षित क्षेत्रबाट अर्को संरक्षित क्षेत्र जान प्रयोग भएका केही जैविक मार्गहरूको पहिचान भई पुनर्स्थापना पनि भइरहेको छ । बरण्डाभार, लमही, काम्दी, खाता, लालझाडी-मोहना, बसन्ता आदि यसका उदाहरण छन् । आहारा, पानी र प्रजनन्को खोजीमा वन्यजन्तुहरू एक स्थानबाट अर्को स्थानमा विचरण गर्दछन् । तर वन्यवन्तुमैत्री पूर्वाधारको अभावमा सडक दुर्घटनाहरू बढिरहेको छ । तथ्य हेरौं ।

बाँके राष्ट्रिय निकुञ्जको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९-८० मा साना, मझौला र ठूलो गरी ५५६ वन्यजन्तुको मृत्यु भएकोमा १८७ वटाको मृत्यु प्राकृतिक कारणले (वृद्ध भई, रोग लागेर, आपसमा लड्दा घाइते भई) भएको थियो । दोस्रो प्रमुख कारण भने सडक दुर्घटना थियो ।

-वन्यजन्तुले बाटो काट्दा वाहनसँग ठोक्किएर भएको मृत्यु, जसमा १४१ वन्यजन्तुको प्राण गएको थियो । यो पश्चिम तराईको पनि बाँके राष्ट्रिय निकुञ्ज वरपरको तथ्याङ्क । देशभरिको तथ्याङ्क हेर्ने हो भने, यसरी मृत्यु हुने प्राणीको संख्या धेरै गुणाले बढ्नेछ । प्राणीहरूको यस्तो हृदयविदारक अवस्थाबारे सञ्चारकर्मीले किन नलेख्ने ? २३ जुलाई, २०२२ मा चितवनमा निर्माणाधीन सडकछेउको खाल्डोमा मृत गैंडा भेटियो ।

खाल्डो खुलै छोडिएको रहेछ । सो सडकखण्ड बरण्डाभार जैविक मार्गमा परेकोले खाल्डो खुलै राख्नु जोखिमपूणर् थियो । निर्माण व्यवसायी वा प्रस्तावकको लापरबाहीले एउटा अबोध प्राणीले अनाहकमा जीवन गुमाउनुपर्‍यो ।

-कल्पना गर्छु, अन्य दिन झैं साँझ वा बेलुका त्यो अमूक गैंडा निश्चिन्त सुस्त गतिमा सडक पार गरेर उत्तरको जंगलमा जान खोज्दै थियो । घ्वाँच्च.. खाल्डोमा जाकियो । अकस्मात् खाल्डोको भुईंमा मुख जोतिएपछि गैंडा निस्सासियो । दाहिने खुट्टा खाल्टोको किनारमा फँसेकोले जति कोसिस गर्दा पनि खुट्टा टेक्नै सकेन । खुट्टाले भर नभएपछि शरीरलाई उठाउन सकेन र उसको भारी शरीर धराप जस्तो साँघुरो खाल्टोमा तड्पिंदैरह्यो । निस्कन घण्टौं प्रयास गर्‍यो, तर सकेन ।

– रात गहिरिंदै गयो । बेलाबखत रात्रिबसको चम्किलो उज्यालो सडकमा छरिन्थ्यो र केही उज्यालो खाल्टोतिर पर्दथ्यो । त्यसपछि अन्धकार पुरानै लयमा फर्कन्थ्यो । दिउँसो भएको भए मानिसले देख्थे, खबर गर्थे र कसैगरी निकाल्थे तर उसको पीडाको सुस्केराहरू अध्ँयारोले निलिदियो ।

-बाहिर निस्किन नसक्ने देखेपछि उसले आफ्नो बच्चा केटो सम्झियो र सम्झियो परिवारजन । भोक र प्यासले उत्तिकै सताउँदै लगेको थियो । छाला दर्फरिएर रगत बगिरहेको थियो । घाउ चहर्‍याइरहेको थियो । गैंडा शिथिल हुँदै गयो । पशुवृत्तिबाट आफ्नो अन्त्य नजिकै आएको थाहा पाएर अन्तिम पटक आफ्नो केटो र परिवार सम्झेर ठूलो स्वरमा चिच्याएर आँखा चिम्लियो । के प्राणीको हृदयविदारक अवस्थामा दुःखी हुनु मूर्खता हो ? के वरपरका ट्रेजेडीहरूमा संवेदित बन्नु कमेडी हो ?

-सिंचाइ नहर पनि वन्यजन्तुको मृत्युको कारक बनेको छ । बर्दिया राष्ट्रिय निकुञ्जको तथ्याङ्क अनुसार, पछिल्लो पाँच वर्षमा बबई भेरी सिंचाइ नहरमा ७७ वटा वन्यजन्तुको डुबेर मृत्यु भएको छ- पानी खान नहरमा पस्दा नहरको किनार धेरै भिरालो भएर बाहिर आउन नसक्नु र पानीको प्रवाहले बगाउनुले ।

– पछिल्लो समय अर्को चुनौती थपिएको छ- तराईमा गाउँ वा नगरपालिकाले माछा पालनको निम्ति निर्माण गरेका पोखरीहरू । पोखरी वरपर छेकबार नहुँदा वा पोखरी किनारको भिरालोपन नमिल्दा त्यहाँ पनि वन्यजन्तु डुबेर मर्ने सम्भावना बढेको छ ।

जोखिम न्यूनीकरणका प्रयास

यद्यपि यस दिशातर्फ न्यूनीकरणका प्रयास नभएको होइन । उदाहरण, सिक्टा सिंचाइ परियोजनाको मुख्य नहरमाथि निर्माण गरिएको क्रसिंग । त्यो क्रसिंग स्थानीय बासिन्दाहरूले प्रयोग गर्छन्, वन्यजन्तुहरूले पनि । त्यस्तै सिक्टा सिंचाइ नहर र महाकाली सिंचाइ आयोजनाको वन्यजन्तुमैत्री र्‍याम्प । यस्ता उपयुक्त डिजाइनले मान्छेको विकासको आवश्यकतालाई पूरा गर्छन् साथै वन्यजन्तुको आवतजावतलाई पनि सहज बनाउँछन् ।

सन् २०१८ मा नेपालमा पहिलो वन्यजन्तुमैत्री अन्डरपास बन्यो । सडक विभागले नारायणगढ मुग्लिङ खण्डको बरण्डाभार करिडोरमा चार वटा अन्डरपास निर्माण गर्‍यो । बरण्डाभार करिडोर वन क्षेत्र १०७ वर्ग किमीमा फैलिएको छ । र, यसको करिब चार किमी लम्बाइ पूर्व-पश्चिम राजमार्गले काट्दछ । त्यो जैविक मार्ग चितवनमा अवस्थित एक मात्र जंगलपेटी (फरेष्ट स्ट्रिप) हो, जसले चितवन राष्ट्रिय निकुञ्जलाई उत्तरको महाभारत शृंखला हुँदै अन्नपूणर् संरक्षण क्षेत्रसँग जोड्छ ।

यसको अर्थ, वन्यजन्तु यसै मार्ग भएर महाभारत शृंखला आउजाउ गर्छन् । सीसीटिभी राखी अध्ययन गर्दा १५ थरीका स्तनधारी जनावरले ती अन्डरपासहरू प्रयोग गरेको देखियो जसमा जंगली बँदेल, चितुवा र जंगली बिरालो प्रमुख थिए ।
छिमेकी भारतले पेन्च बाघ अभ्यारण्यमा राष्ट्रिय राजमार्ग ४४ मा १६.१ किमी लम्बाइको राजमार्ग उठाएर एलिभेटेड ब्रिज बनाएको छ, जसले गर्दा सडक मुन्तिरबाट वन्यजन्तुहरू निर्धक्क ओहोरदोहोर गर्न पाउँछन् ।

अध्ययनले बाघ, नीलगाई, जंगली बिरालो, हरिण, गौर, जंगली बँदेल, खरायो आदि जनावरले अन्डरपास प्रयोग गरेको देखाएको छ । त्यति नै लामो नभए पनि नेपालले वन्यजन्तुको विचरणको दृष्टिले रणनैतिक महत्वको जैविक मार्गहरूमा एक, दुई किमीको त्यस्ता पूर्वाधार बनाउन आवश्यक भइसकेको छ ।

प्राकृतिक थुम्काहरूमा बेतुकका भ्यूटावर, हरेक वर्षामा बजेट थप्नुपर्ने डोजर चालकले निर्माण गरेका सडकहरूको सट्टामा यस्ता संरचना प्राथमिकतामा पर्नुपर्ने हैन र ? मान्छेलाई मात्र ध्यानमा राखी निर्माण गरिएको विकासलाई कसरी दिगो विकास भन्ने ?

पूर्व-पश्चिम राजमार्गको स्तरोन्नतिको निम्ति नेपाल सरकारले वैदेशिक अनुदान लिएको छ । चार लेनको पक्की सडक, सर्भिस लेन र मापदण्ड सहितको स्तरोन्नति भएपछि सवारी साधन थप गतिमा गुड्नेछ । सडक दुर्घटनाको बढ्दो जोखिम कम गर्न वन्यजन्तुमैत्री संरचनाहरू अपरिहार्य भइसक्यो ।

सवारी चालकहरूलाई पनि जैविक मार्गहरू कहाँ-कहाँ पर्छन् भन्ने र वन्यजन्तुको आनीबानी बारे सचेतना दिन जरूरी छ ।

रेखीय पूर्वाधार परियोजनाको कुल बजेटको एक-दुई प्रतिशत, वन्यजन्तुमैत्री संरचनामा खर्चनुपर्ने बाध्यकारी नीति नबनाउँदासम्म दिगो समाधानको बाटो देखिंदैन भलै कमजोर कार्यान्वयन हामी नेपालीको सदावहार पहिचान बनिसकेको छ।

यो मानवकेन्द्रित पृथ्वीमा प्राणीहरूका बारेमा मान्छेले नसोचे कसले सोच्ने ?

लेखकको बारेमा
रोशन शेरचन

झन्डै तीन दशकदेखि लेखनमा सक्रिय निबन्धकार एवं कवि रोशन शेरचनका ‘गल्ली संसार’, ‘धोविघाट एक्सप्रेस’ एवं ‘चम्पारन ब्लुज’ जस्ता पुस्तक प्रकाशित छन् । वातावरण विज्ञानमा विद्यावारिधी शेरचन संरक्षण साहित्यका पनि अभियन्ता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?