+

तनावले पनि निम्त्याउँछ मुटुमा जोखिम ?

२०८१ असोज  १६ गते १७:२१ २०८१ असोज १६ गते १७:२१
तनावले पनि निम्त्याउँछ मुटुमा जोखिम ?

धुम्रपान र मदिरा मुटुका लागि शत्रु हुन् । किनकि यसको लतले मुटुसम्बन्धी रोग ल्याउन सक्छ भन्ने त धेरैलाई थाहा नै छ । तर धेरैलाई थाहा नहुन सक्छ, अत्यधिक तनावले पनि मुटुमा समस्या ल्याउन सक्छ ।

कसरी ?

कुनै कुराको तनाव लामो समयसम्म रहेमा मुटुलाई प्रभाव पार्न सक्छ । तनाव महसुस भइरहेमा एड्रेनालाइन जस्ता हार्मोनको स्तर बढ्छ । यो हर्मोनको वृद्धिले मुटुको धड्कन छिटो छिटो कम्पन गराई रक्तचाप बढाउँछ । जसकारण मुटुमा रक्तनलीहरू साँघुरिन्छ ।

यदि तनाव केही क्षणका लागि हो भने शरीरले अस्थायी प्रतिक्रिया गरी शरीरलाई ठूलो क्षति गर्दैन । तर तनाव लामो समयसम्म रह्यो भने रक्तनली साँघुरो बनाउने र मुटुको धड्कन अनियमित पार्ने जोखिम रहन्छ । कुनै कुराले लामो समयसम्म तनाव लिइरहेको अवस्थालाई दीर्घ तनाव भनिन्छ ।

अमेरिकन हार्ट एसोसिएसनका अनुसार दीर्घ तनावले रक्तचाप बढाउनेदेखि मुटु सुन्नाउने र मुटुमा रक्त प्रवाह कम गराउँदै लैजान्छ । यद्यपि, विज्ञहरुले अझै अध्ययन गरिरहेका छन् ।

तनाव एक्लैले मुटुलाई जोखिममा पार्दैन’

पक्कै पनि दीर्घ तनावले मुटुरोगलाई बढावा दिन्छ । तर सधैं तनाव एक्लैले प्रत्यक्ष रुपमा मुटुरोगको जोखिम गराउँदैन । लगातार तनावले इन्सुलिन प्रतिरोधको जोखिम बढाउँछ । जसले मुटुसँगै मुधमेहको पनि जोखिम गराउँछ ।

धुम्रपान गर्ने बानी, मधुमेह अत्यधिक मात्रामा मदिरा पिउने, शारीरिक रुपमा सक्रिय नहुने, अस्वस्थकर खानेकुरा आवश्यक भन्दा बढी खाने, फाइबर भएको खानेकुरा कम खाने, मोटोपना, मधुमेह भएमा मुटुरोगको जोखिम रहन्छ । उनीहरु जहिले पनि मस्तिष्कघातको जोखिममा पनि रहनेछन् ।

तनाव लिइरहने व्यक्ति पनि प्राय: अस्वस्थ जीवनशैली अपनाउन थाल्छन् । जसको उपज उमेर बढेसँगै मुटुरोगले गाल्न सक्छ । फलस्वरुप हृदयघात, कोरोनरी आर्टेरी डिजिज र कार्डियाक एरेस्टको सम्भावना उच्च गराउँछ ।

जोखिममा युवा

अहिले युवाहरुमा तनाव बढ्दै गएको देखिन्छ । परिवार र समाजको अपेक्षा, सफल भविष्य बनाउने चाहना, आर्थिक स्थिरताको तनाव, सामाजिक मान्यतामा खडा उत्रिनुपर्ने दबाबले पनि मानसिक अवस्थालाई नराम्रोसँग प्रभावित गर्न सक्छ ।

पछिल्ला अध्ययन अनुसार लगातारको तनावले पार्ने शारीरिक असर र त्यससँगै अन्य स्वास्थ्य समस्या हाबी हुँदा ४० देखि ५० वर्षका व्यक्तिमा धड्कन अनियमित हुने, उच्च रक्तचाप र हृदयघातको समस्या बढिरहनु चिन्ताको विषय भएको उल्लेख गरेको छ ।

तनावले ल्याउने अन्य स्वास्थ्य समस्या

दिमागमा २४ घण्टै तनावको माहोल बनिरहयो भने कर्टिसोल तनाव हर्मोन वृद्धि हुन्छ । जसले टाउको दुख्ने, जोर्नीहरु दुख्ने र माइग्रेन पनि हुनसक्छ ।

अर्को भनेको श्वासप्रश्वासका लागि नाक, हावा छिर्ने नली र फोक्सो महत्वपूर्ण हुन्छ । यो प्रणालीले नै कोषहरुमा अक्सिजन लैजाने र शरीरमा अनावश्यक रहेको तत्व कार्बोनडाइअक्साइडमा रुपान्तरण गरेर पठाउँछ । यद्यपि, तनावले यो प्रक्रियामा अवरोध ल्याउँछ । किनकि तनावले धैर्यता कम ल्याउने र श्वासप्रश्वास छिटो छिटो चल्दा सास लिने फाल्न कठिन हुन्छ । यो प्रक्रियामा बारम्बार अवरोध आएमा दीर्घकालीन रोगको जोखिम रहन्छ ।

त्यस्तै, तनावले पाचनसम्बन्धी समस्या निम्तयाउन सक्छ । पेटमा लाखौं कोष हुन्छन्, जो सिधा दिमागसँग जोडिएका हुन्छन् । तनावले पेट र दिमाग जोड्ने स्नायुमा असर पार्न सक्छ । जसकारण ग्यास्ट्रिकको समस्या, रिङ्गटा लाग्ने, भोक नलाग्ने वा अपच हुने जस्ता समस्या ल्याउँछ । इरिटेबल बाउल सिन्ड्रोम जस्तो गम्भीर पाचन समस्याको कारक तनावलाई मानिन्छ ।

साथै, तनाव हर्मोनले पेटमा रहेको लाखौं ब्याक्टेरियालाई कमजोर पार्छ । जसकारण मुड र सोच्ने क्षमतामा नकारात्मक प्रभाव पार्छ ।

तनावले मुटुमा प्रभाव पारेमा देखिने संकेत

तनावका साथै, धड्कन अनियमित, छाती दुखाइ, छोटो श्वासप्रश्वास लिने, बेहोस हुन्छु जस्तो अनुभव र हातखुट्टा सुन्निएको संकेत देखिए तत्काल मुटुरोगका चिकित्सकलाई देखाउनुपर्छ ।

तनाव व्यवस्थापन कसरी गर्ने ?

सानोतिनो तनाव जीवनमा भइरहन्छन् । तर यसलाई आफूले नियन्त्रण पाउन सकेन भने मुटुरोग मात्र होइन, डिप्रेसन, अनिद्रा जस्ता रोगको सूची बन्न सक्छन् । त्यसकारण दैनिक आउने तनावलाई व्यवस्थापन गर्न सिक्न र तनावमा परेकालाई सिकाउन आवश्यक छ ।

के गर्ने ?

– धेरै काममा एकैपटक हात नहाल्ने र महत्वपूर्ण काममा ध्यान केन्द्रित गर्ने

– कुनै कुरामा मद्दत माग्न नहिच्किचाउने

– अनावश्यक कुरामा ‘हुँदैन’ भन्न सिक्ने

– चित्त बुझेको छैन भने स्पष्ट आफनो कुरा राख्ने

– परिवारसँग समय बिताउने

– दु:ख परेमा सुखी व्यक्तिसँग नभई आफू भन्दा बढी दु:खी व्यक्तिसँग तुलना गर्ने

– आफूलाई के मनपर्छ त्यसबारे सोच्ने र त्यही कुरा गर्न आफूलाई प्रेरित गर्ने

– कुनै कुराले मन खाइरहेको छ भने बन्द कोठामा नबस्ने र खुल्ला वातावरणमा घुम्न ननिस्कने

– दैनिक १० मिनेट सास बिस्तारै लिने र छोड्ने जस्ता प्राणायामका विधि अपनाउने

– पर्याप्त निदाउने र स्वस्थकर खानेकुरा खाने

– ध्यान र योग गर्ने, जसबाट शरीरसँगै दिमागलाई पनि आराम मिलोस् र सकरात्मक ऊर्जा रहोस्

– क्याफिन जस्ता उत्तेजित पार्ने तत्वबाट टाढा रहने

काम र जीवनबीच सन्तुलन बनाउन नसक्दा पनि सधैंको हतारोले तनाव दिइरहन सक्छ । त्यसैले कामको दबाब कम गर्न समयको उचित व्यवस्थापन गरी आफ्नो लागि पनि समय निकाल्ने वातावरण मिलाउनुपर्छ । यसका लागि बिहानदेखि बेलुकीसम्मको दैनिकी तालिका बनाउनु उपयुक्त हुन्छ ।

डा. माधव विष्ट तनाव मुटुरोग

धेरै कमेन्ट गरिएका

डा. माधव विष्ट
लेखक
डा. माधव विष्ट
मुटुरोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ७६०९ एमबीबीएस, एमडी, सिंगापुरस्थित नेसनल हार्ट सेन्टरबाट इन्टरभेन्सल कार्डियोलोजी फेलोसिप मोरङको टंकीसिनुवारीस्थित विराट मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय