+
+

तीन-चार दिनसम्म ट्रकमा कोचेर क्रूरतापूर्वक राँगा–भैंसी ढुवानी

सुमित्रा लुईटेल सुमित्रा लुईटेल
२०८१ असोज १५ गते ७:१५

‘बाढी–पहिरोका कारण गाडीमा पशु–प्राणीहरू कष्टकर, अलपत्र परेको सुन्नमा आइरहेको छ । ध्यान जाओस् !’ सामाजिक सञ्जालमा कतिपयले यसरी नै पशु कल्याणबारे चासो राखेका छन् ।

अहिले ठाउँ–ठाउँमा बाटो अवरुद्ध भएकाले काठमाडौं ल्याइँदै गरेका राँगा–भैंसीलाई पनि कति दिनदेखि ट्रकभित्रै कोचेर राखिएको सरोकारवालाले बताएका छन् । चितवनको रामनगरमा तीन दिनदेखि राँगा–भैंसी बोक्ने ट्रक रोकिएको थियो । ‘हामीले ट्रकबाट ओरालेर घाँसपानी दिनु, आराम गराउनु भनेका थियौं’ एनिमल नेपालको चितवनका टीम भन्छन्,  ‘तर आज हेर्न जाँदा त्यहाँ राँगा–भैंसीको ट्रक थिएन, हामीले सोध्दा काठमाडौं पुगिसक्यो भनेर जवाफ दिए ।’

अहिले काठमाडौं भित्रने कुनै पनि सडक सहज रूपमा सुचारु छैन । भर्खरै मात्र परेको अविरल झरीले काठमाडौं जोड्ने मुख्य–मुख्य सडक भत्काएको छ । पूर्व–पश्चिम राजमार्ग जोड्ने त्रिभुवन राजपथ, सिन्धुली हुँदै काठमाडौं भित्रिने बीपी राजमार्ग जस्ता सबै सडकखण्ड ठाउँ–ठाउँमा अवरुद्ध छन् ।

काठमाडौं ल्याइँदै गरेका ती पशुप्राणी बाटोमा थुनिएका सरोकारवालाहरूले बताएका छन् । राँगाभैंसी लगायत पशुहरू घाँसपानी खान नदिई गाडीभित्र राखिएको भन्दै उनीहरूले यसबारे सम्बन्धित निकायमा ध्यानाकर्षण गरेको बताएका छन् ।

चितवन, रामनगरस्थित क्वारेनटाइनका कर्मचारी कृष्ण पौडेलसँग हामीले यसबारे कुरा गर्दा उनको जवाफ यस्तो थियो, ‘व्यवसायीले राँगा–भैंसी ल्याएपछि हामीले के गर्नु त ? हामीले रोक्न मिलेन । आजदेखि बाटो खुलेको छ, त्यही भएर राँगा–भैंसीको ढुवानी पनि भइरहेको छ ।’

यता पशु क्वारेन्टाइनका प्रमुख मोदनाथ गौतम ‘अहिले पशु ढुवानी रोकिएको’ बताउँछन् । उनी भन्छन्, ‘काठमाडौं ल्याइँदै गरेका राँगा–भैंसीहरू चितवन रामनगरबाट नै फर्काएका छन् । बीच बाटोमा रहेका राँगाभैसी भने सुरुङ मार्गबाट काठमाडौं भित्रिएको भन्ने थाहा पाएको छु ।’

सरकारले पशु ढुवानी नियमन गर्न काठमाडौंको नागढुंगालगायत विभिन्न ठाउँमा पशु क्वारेनटाइन स्थापना गरेको छ । उनीहरुले पशुलाई मापदण्ड विपरित ढुवानी गराएको छ वा छैन भनी हेर्न र आवश्यक परे कारबाही गर्न सक्छन् ।

यद्यपि एनिमल नेपालले यस अवधिमा कष्टपूर्वक राँगा–भैंसी ढुवानी गर्ने क्रम नरोकिएको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । अहिलेको प्रतिकूल अवस्थामा ढुवानी गर्दा पशुहरूले अत्यन्तै कष्ट खेप्नुपर्ने भएकाले तत्कालका लागि ढुवानी रोक्न प्रहरी प्रशासन लगायतमा उनीहरूले ध्यानाकर्षण पत्र बुझाएका छन् ।

‘अहिले त्यसै पनि बाटो यति असजिलो छ । ठाउँ–ठाउँमा पहिरो खसेको छ, खाल्डाखुल्डी परेको छ । यस्तो बाटोबाट राँगा–भैंसी ढुवानी गर्दा यसै पनि कठिन हुन्छ’ एनिमल नेपालकी लाइफ स्टक विभाग प्रमुख सुलक्षणा राणा भन्छिन्, ‘त्यसमाथि चार, पाँच दिनदेखि सडकमै थुनिएर बस्नु परेमा कति गाह्रो होला !’

अहिलेको अवस्थामा ढुवानी गर्दा यी पशुहरूले अत्यन्तै कष्ट खेप्नुपर्ने भएकाले सो हुन नदिन सबैसँग आग्रह गरेका छन् । ‘यस्तो अवस्थामा पनि अबोध पशुलाई ढुवानी गर्नु निन्दनीय कार्य हो’ उनी भन्छिन्, ‘यस्तो हुन नदिन सबैमा हाम्रो अनुरोध छ ।’

कच्ची एवं भत्किएका सडकबाट लामो समय लगाएर पशु ढुवानी गर्दा उनीहरू निस्सासिने, चोटपटक लाग्ने, शरीर थिलथिलो हुने भन्दै एनिमल नेपालले ढुवानीका क्रममा लापरबाही र गैर जिम्मेवारीपन देखिएको बताएको छ ।

पशुलाई सहजतापूर्वक ढुवानीका लागि मापदण्ड बनाइएको छ । त्यस अनुरूप उनीहरूलाई सहज रूपमा बस्न सक्ने गरी राख्नुपर्ने, ठाउँ–ठाउँमा गाडी रोकेर घाँसपानी दिनुपर्ने, नाक र पुच्छरमा बाँध्न नहुने, गाडीको गति तीव्र हुन नहुने जस्ता मापदण्ड छन् ।

पशु ढुवानी गर्दा मापदण्ड पालना भएको छ वा छैन भनी सरकारले काठमाडौंको नागढुंगा लगायत ठाउँ–ठाउँमा पशु क्वारेन्टाइन राखेको छ । पशु ढुवानी मापदण्ड विपरीत भए उनीहरूले दण्ड–जरिवाना गर्न सक्ने व्यवस्था छ । यद्यपि अहिलेसम्म पशुहरूलाई मापदण्ड पालना नगरी क्रूरतापूर्वक भित्र्याएको देखिन्छ ।

‘पशु क्वारेन्टाइनले मापदण्ड विपरीत पशु ढुवानी गर्दा कुनै कारबाही गरेको देखिंदैन’ एक सरोकारवाला भन्छन्, ‘काठामाडौं भित्र्याइएका अधिकांश ट्रकमा अत्यन्तै क्रूरतापूर्वक राँगा–भैंसी राखिएको पाइन्छ ।’

अधिवक्ता पदमबहादुर श्रेष्ठका अनुसार अहिलेसम्म पशु कल्याण ऐन बनिनसकेकाले पशुको सुरक्षा हेर्ने र पशु ढुवानी मापदण्ड पालना गराउने पशु विभाग अन्तर्गत पशु क्वारेन्टाइनको हो । ‘पशु ढुवानी कहाँबाट, कस्तो अवस्थामा भएको छ ? जनवारहरूलाई यातना दिइएको छ वा छैन, बिरामी छ वा छैन भनेर हेर्ने जिम्मेवारी पशु क्वारेन्टाइनको हो’ अधिवक्ता पदमबहादुर श्रेष्ठ भन्छन्, ‘यदि मापदण्ड विपरीत पशु ढुवानी भएको छ भने त्यसलाई रोक्नुपर्छ ।’

काठमाडौंमा दिनहुँ मासुका लागि सयौंको संख्यामा राँगा–भैंसी, खसी बोका भित्र्याइने गरिन्छ । एउटै ट्रकमा दर्जनौं राँगा–भैंसी कोच्ने, हलचल नै हुन नदिने गरी पुच्छर र सिङमा बाँध्ने, बस्न खोजेमा यौनाङ्ग लगायतमा लट्ठीले हिर्काउने गरिएको पाइन्छ । यिनीहरूलाई दुई–तीन दिनसम्म एउटै ट्रक्रमा कोचेर खाना–पानी समेत खान नदिई काठमाडौंसम्म ल्याउने गरेका छन् । बारा, पर्सा, कपिलवस्तु, कैलाली आदि ठाउँका पशु हाटबजारमा उठाइएका राँगा–भैंसीलाई अत्यन्तै यातना दिएर ढुवानी गरिएको पाइन्छ ।

यसैगरी खसी–बाख्रालाई पनि क्रूरतापूर्वक ढुवानी गरेको पाइन्छ । यात्रुवाहक बसको छत, डिकी लगायतमा राखेर ढुवानी गरिन्छ ।

‘यसरी ढुवानी गर्नु कानुन विपरीत हो’ अधिवक्ता श्रेष्ठ भन्छन्, ‘यस किसिमको कृत्य गर्ने र गराउनेलाई कारबाही गर्नुपर्छ ।’ कुनै पनि पशु प्राणीलाई यातनापूर्वक ढुवानी गरेको देखिएमा त्यसलाई रोक्न, सम्बन्धित निकायमा खबर गर्नका लागि पशु अधिकारकर्मीहरूले अनुरोध गरेका छन् ।

‘हामीकहाँ जसरी पशु ढुवानी हुन्छ, पशुमाथि हुने हिंसाको यो चरम रूप हो’ पशु अधिकारकर्मी भन्छन्, ‘आँखा अगाडि यस्तो अपराध हुन नदिने तपाईं÷हामी सबैको दायित्व र अधिकार हो ।’

लेखकको बारेमा
सुमित्रा लुईटेल

अनलाइनखबरकी संवाददाता लुईटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?