+
+

गार्गी गुरुकुल पुग्दा

यहींनेर प्रश्न उठ्छ, वेद पढ्न पाप नलाग्ने तर, परम्परागत तरिकाले स्वस्तिवाचन गर्न कसरी पाप लाग्ने ? यस्तै यस्तै कुराहरूले फेरि ती छात्राहरूलाई पछाडि नफर्काओस् भन्ने कामना छ।

अमृता लम्साल अमृता लम्साल
२०८१ असोज १५ गते ९:४७

वैदिककालमा महिलाहरू पनि गुरुकुलमा पढ्थे/पढाइन्थे। उनीहरू गुरुको भूमिकामा कार्य पनि गर्दथे भनिन्छ। यसको उदाहरण ऋग्वेदकालीन महिला/ऋषिका ‘रोमाषा’ले ऋग्वेदको १२६सौं ऋचा प्रस्तुत गरेकी थिइन् भन्ने पढ्न पाइन्छ।

त्यसैगरी वेदका केही ऋचाहरू ब्रह्मवादिनी ‘लोपामुद्रा’ले लेखेको र ऋग्वेदका धेरै ऋचाहरू महिलाहरूले सृजना गरेको भनिन्छ। त्यसरी सृजना गर्ने महिलाहरूलाई ‘ब्रह्मवादिनी’ भनिने रहेछ। त्यस्ता महिलाहरूमध्ये, ‘विश्वावरा’, ‘सिक्ता’, ‘निवावरी’, ‘घोषा’ आदिको नाम पनि पढ्न पाइन्छ।

फिलोलजिस्ट म्याक्स मुलरका अनुसार ऋग्वेदकालीन समय भनेको १५ सय इसापूर्वदेखि १ हजार इसापूर्वको समय हो।

यसैका आधारमा भन्न सकिन्छ कि, त्यति पुरानो समयमा पनि महिलाहरूले वेद पढ्ने र त्यसमा आफ्नो विद्वत्ता राख्ने रहेछन्। तर, जब–जब समय अगाडि बढ्दै गयो तब–तब महिलालाई वेद पढ्ने र पढाउने कुरामा अंकुश लाग्दै गयो।

भारतीय उपमहाद्वीपकै इतिहास उधिन्ने हो भने, वेद पढ्ने हक पुरुषलाई मात्रै दिइयो। कालान्तरमा, पढेका पुरुषहरूले आफ्नो अनुकूलतामा आफूले पढेका कुराहरूको व्याख्या गर्दै गए। महिलाहरूले जब पढ्ने, संस्कृतमा लेखिएको कुरा बुझ्ने मौका नै पाएनन् अनि, उनीहरू पुरुषले ‘यसमा यो लेखिएको छ, तिमीहरूले यसो…यसो गर्नुपर्छ’ भन्ने निर्देशनमा बाँधिंदै गए।

यदि, महिलाहरूले सुरुदेखि नै पढ्न र बुझ्न पाएका भए वा उनीहरूको विचारको कदर हुने भएको भए धर्मको नाममा महिलाहरूमाथि अन्धविश्वास र कुरीतिको बोझ अहिलेको जस्तो लादिंदैनथ्यो कि ?

हुनत, डाँडापारि सधैं हरियो देखिन्छ भन्ने भनाइ सुन्दै आएका छौं; तर पनि, तर्क लगाउँदा कतिपय कुराहरू फरक दृष्टिकोणबाट सोच्न मन लागिहाल्छ।

यो लेखको उद्देश्य, वेदमा के छ भनेर बहस गर्ने होइन; किनकि, त्यसको लागि यो पंक्तिकार त्यति शिक्षित छैन। उद्देश्य हो, जसरी गुरुकुलमा पुरुषहरूलाई संस्कृतका प्रकाण्ड विद्वान् हुने मौका दिइन्छ, त्यसैगरी महिलालाई पनि सो विषयमा दक्ष बनाएर (पढाउनुको अर्थ घोकन्ती विद्या होइन) उपरोक्त शिक्षाबाट आयआर्जन गर्ने बाटो खोलियोस्; उनीहरूले पनि सनातन कर्मकाण्ड कार्यमा संलग्न हुन पाउन् भन्ने हो।

महायज्ञमा महिला वाचकहरूले व्यास बनेर महिलाले लोग्नेबाट भएको जुनसुकै हिंसात्मक व्यवहार सहनुपर्छ भन्ने आशयको वाचनले अहिलेको समय तथा समाज दुवैलाई हानि पुर्‍याउँछ भन्ने कुराको हेक्का राखेर मात्रै वैदिक शिक्षा अगाडि बढाउनुपर्छ।

भारतीय लेखक निखिल चन्द्वानीका अनुसार, भारतीय उप-महाद्वीपमा गुरुकुल शिक्षाको सुरुआत ५ हजार इसापूर्व भएको मानिन्छ। यसको उद्देश्य, आफ्नो संस्कृति तथा अनुशासित ढंगले, गुरु र शिष्य/शिष्याहरू एकै ठाउँमा बसेर शिक्षा हासिल गर्नु थियो। त्यो परम्परा सुरुआती अवस्था भन्दा कम हुँदै गए पनि, पुरुषहरूको लागि निरन्तर नै देखिन्छ।

नेपालको पहिलो गुरुकुल शिक्षा वि.सं. १७५१ मा मटिहानीस्थित बालागुरु षडानन्दले अध्ययन गरेको गुरुकुललाई मानिंदो रहेछ। सो गुरुकुल पहिलो केही वर्ष अनौपचारिक रूपमा सञ्चालन गरिएको रहेछ र वि. सं. १७७५ मा मात्रै औपचारिक रूपमा स्थापना गरिएको रहेछ।

यसलाई आधिकारिक मान्दा, नेपालमा गुरुकुल शिक्षाको स्थापना भएको ३३० वर्ष भइसकेको रहेछ। विकीपिडियाको २०८१ वैशाख २७ को अपडेट अनुसार नेपालमा ६७ वटा गुरुकुल देखिन्छ। त्यहाँ केही महिलालाई पढाइने जस्ता गुरुकुलको नाम पनि देखिन्छ; तर, स्पष्ट लेखिएको पाइएन।

देशमा पुरुषहरूलाई शिक्षा दिने गुरुकुल स्थापना भएको तीन सय वर्ष नाघिसक्दा पनि, महिलालाई पढाउने गुरुकुलको स्थापना भने २०६७ सालमा मात्रै, श्रीमती अङ्गुरबाबा जोशीको पहलमा भएको रहेछ।

उक्त गुरुकुल स्थापना गर्ने सोच कसरी आयो भन्ने प्रश्नको जवाफमा तत्कालीन संस्थापक सदस्य तथा हाल ‘श्री गार्गी कन्या गुरुकुल प्रतिष्ठान’की उपाध्यक्ष डा. मन काफ्ले भन्नुहुन्छ- समाजमा महिला हिंसा बढिरहेको र यसको कारण नैतिक शिक्षाको अभावले हो भन्ने ठहर गरी उक्त गुरुकुलको स्थापना गरिएको थियो। गुरुकुल स्थापना गर्नु अगाडि, विभिन्न व्यक्तिहरूका बीच छलफल तथा एक खालको सर्वेक्षण नै गरेर गरिएको हो।

गार्गी कन्या गुरुकुल स्थापनाको केही वर्ष काठमाडौंमा अध्ययन/अध्यापन गराइए तापनि, वि.सं. २०७५ देखि भरतपुर-१, देवघाटधाम, चितवनमा सञ्चालन गर्न थालिएछ।

यहाँबाट गुरुकुल सारेर त्यहाँ लैजानुको पनि कारण रहेछ; हाल कन्या गुरुकुल रहेको उक्त स्थानमा समाजसेवी भगवती उपाध्यायले वि.सं. २०५२ देखि श्रीराम–जानकी वेदविद्याश्रम स्थापना गरेर पुरुष विद्यार्थीलाई पढाइराख्नुभएको रहेछ।

केही समयपछि सायद, त्यो बन्द भयो (त्यसै भनियो; भगवती उपाध्याय हाल अमेरिकामा हुनुभएकोले सम्पर्क गर्न पाइएन)। त्यसैले, उक्त वेदविद्याश्रमले चर्चेको सम्पत्ति र काठमाडौंका गुरुकुलका १६ जना छात्राहरू लगेर संयुक्त रूपमा श्रीगार्गी कन्या गुरुकुल प्रतिष्ठान गठन गरेर ‘गार्गी कन्या गुरुकुल’ सञ्चालन गर्न थालिएछ। उक्त गुरुकुलमा २०८१ असोज ९ गतेसम्म ५३ जिल्लाका ८५ जना छात्राहरू रहेको जानकारी प्रतिष्ठानका महासचिव रामप्रसाद वस्तीले दिनुभएको थियो।

प्रतिष्ठानका उपाध्यक्ष डा. काफ्लेका अनुसार, उक्त गुरुकुलमा, ब्राह्मणका छोरीहरू मात्रै पढाउने नभई, दलित, जनजाति लगायतका छोरीहरूलाई भर्ना लिइन्छ। गुरुकुलमा डोल्पा जस्तो विकट जिल्लाका छात्राहरू पनि पुगेका रहेछन्।

प्रतिष्ठानले गुरुकुल स्थापनाको उद्देश्यमा, आजको भौतिक जीवनपद्धति र प्राचीन आध्यात्मिक जीवनपद्धतिको समेत आत्मसात् गर्ने जनशक्ति तयार पार्ने; नारीहरूलाई आध्यात्मिक चेतनाले अनुप्राणित जीवनप्रति उत्प्रेरित गर्ने भनेको छ। वेद, उपनिषद्, धर्मशास्त्र, षड्वेदाङ्गको आधिकारिक व्याख्या गर्न सक्ने जनशक्ति तयार गर्ने पनि भनेको रहेछ; तर, त्यहाँ पुग्दा, ‘प्रथम ग्रासे मक्षिका पात’ भने जस्तै महसुस भयो।

महिलाहरूले पनि कर्मकाण्डको लागि मात्रै होइन कि, वैदिक सभ्यताले महिलालाई दिएको सम्मान, शक्ति, घर र घर बाहिरको सामाजिक तथा धार्मिक कार्यमा समान सहभागितालाई ध्यानमा राखेर आफ्नो शिक्षालाई अगाडि बढाउनुपर्छ

कारण, छात्राहरूले मुक्तकण्ठले ‘स्वस्तिवाचन’ गरिरहँदा, दुई हात जोडेर वाचन गरिरहे; पुरुष विद्यार्थीले जस्तो हात हल्लाउँदै गरेनन्। अघिल्लो दिन मात्रै, ‘वेदवेदाङ्ग माध्यमिक विद्यालय गलेश्वर आश्रम’ देवघाट-२, तनहुँमा पढ्ने विद्यार्थीले गरेको स्वस्तिवाचनमा हात हल्लाउँदै पाठ गरेको देखेको, त्यहाँ नदेखेपछि, दुई/तीन छात्राहरूलाई किन त्यसरी वाचन नगरेको भनेर सोध्दा, उनीहरूको जवाफ थियो- ‘पाप लाग्छ।’

सोही प्रश्न त्यहाँकी आवासीय इन्चार्ज कल्पना न्यौपानेलाई पनि सोधें, उहाँको जवाफ पनि ‘पहिला त नानीहरूले गर्नुहुन्थ्यो रे, पछि पाप लाग्छ भनेर छाडेको रे ! म, यहाँ काम गर्न थालेको ८/९ महिना मात्रै भयो, म आएदेखि यसरी नै वाचन गरिन्छ।’

यही प्रश्न, प्रतिष्ठानका अध्यक्ष शान्तप्रसाद पोख्रेलसँग राख्दा, उहाँबाट पनि स्पष्ट जवाफ आएन; बरु उहाँले पटक-पटक महिलाहरूमाथि विभेद नगरिने; अर्कोपटक आउँदा योभन्दा राम्रो स्थिति देख्न सक्नुहुन्छ जस्ता घुमाउरो जवाफ दिएर टार्नुभयो।

यहींनेर प्रश्न उठ्छ, वेद पढ्न पाप नलाग्ने तर, परम्परागत तरिकाले स्वस्तिवाचन गर्न कसरी पाप लाग्ने ? यस्तै यस्तै कुराहरूले फेरि ती छात्राहरूलाई पछाडि नफर्काओस् भन्ने कामना छ।

गुरुकुलको अर्को उद्देश्य, पुराण वाचन गर्न सक्ने महिला जनशक्ति तयार पार्ने पनि रहेछ। यसबाट महिलाहरूले रोजगारीको एउटा नयाँ क्षेत्रमा प्रवेश पाउनेछन्; जुन खुशीको कुरा हो। तर, ‘श्री मानव सेवा फाउण्डेसन नेपाल’ले साउन १ गतेदेखि ३२ गतेसम्म पशुपतिमा लगाएको कोटिहोम एवं १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञमा महिला वाचकहरूले व्यास बनेर महिलाले लोग्नेबाट भएको जुनसुकै हिंसात्मक व्यवहार सहनुपर्छ भन्ने आशयको वाचनले अहिलेको समय तथा समाज दुवैलाई हानि पुर्‍याउँछ भन्ने कुराको हेक्का राखेर मात्रै वैदिक शिक्षा अगाडि बढाउनुपर्छ।

गुम्बा र मदरसाको शिक्षा प्रणाली पनि सरकारले गुरुकुल प्रणाली जस्तै मानेकोले होला, प्राथमिक तहसम्मको गुरुकुल, मदरसा र गुम्बालाई वार्षिक तीन लाख, निम्न माध्यमिक तहलाई पाँच लाख र माध्यमिक तहलाई वार्षिक आठ लाख दिनेरहेछ। तर, त्यसको लागि तत्-तत् संस्थाहरूले उक्त अनुदान पाउन शिक्षा मन्त्रालयमा दर्ता हुनुपर्ने रहेछ।

यहाँनिर स्पष्ट हुनुपर्ने कुरा के हो भने, ‘गुरुकुल’ भन्ने बित्तिकै यो आवासीय हुने र, निःशुल्क हुनुपर्ने व्यवस्था हो। मतलब, गुरुकुलमा अध्ययन गर्ने विद्यार्थीले पढ्न, खान र बस्न कुनै शुल्क तिर्नुपर्दैन।

सरकारले अनुदान दिएको गुरुकुलहरूले पाठ्यक्रम विकास केन्द्रले निर्धारण गरेको पाठ्यक्रमलाई नै मान्नुपर्दछ।

गार्गी गुरुकुलमा अहिले ६ कक्षादेखि १२ कक्षासम्म पढाइ हुँदोरहेछ। प्रतिष्ठानले यसलाई शास्त्रीसम्मको शिक्षा दिन पाउने/सक्ने कार्यको लागि सरकारसँग माग गरिरहेको रहेछ। त्यसको लागि आवश्यक कार्यमा सरकारी सहयोग वाञ्छनीय छ।

महिलाहरूले पनि कर्मकाण्डको लागि मात्रै होइन कि, वैदिक सभ्यताले महिलालाई दिएको सम्मान, शक्ति, घर र घर बाहिरको सामाजिक तथा धार्मिक कार्यमा समान सहभागितालाई ध्यानमा राखेर आफ्नो शिक्षालाई अगाडि बढाउनुपर्छ; न कि संस्कृतका श्लोकहरू घोकेर, ‘यसो गर्‍यो भने पाप लाग्छ’ भन्ने तर कारण सोध्न र तर्क गर्न डराउने प्रवृत्तिमा डुब्ने।

उपरोक्त कुराहरू गार्गी गुरुकुलको लागि मात्रै होइन, तनहुँस्थित ‘मा कल्याणी वैदिक कन्या गुरुकुलम्’, ‘श्रीराम जानकी बालिका आश्रम’ आदि गुरुकुलहरूले पनि ध्यान दिंदा राम्रो हुन्छ।

लेखकको बारेमा
अमृता लम्साल

लेखक सामाजिक अभियन्ता, लेखक एवं पत्रकार हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?