+

क्यान्सरको उपचारमा कुन-कुन औषधि र थेरापी ?

२०८१ असोज  १५ गते १२:२८ २०८१ असोज १५ गते १२:२८
क्यान्सरको उपचारमा कुन-कुन औषधि र थेरापी ?

क्यान्सर रोगीको संख्या विश्वभर नै बढ्दो छ । थरीथरीका क्यान्सरले धेरैलाई सताइरहेको छ । क्यान्सर लाग्ने कतिपय कारण अझै पनि स्पष्ट छैन । तर धेरै क्यान्सरको कारण भने हामीले वर्तमानमा अँगालेको खराब जीवनशैली र खानपान नै हो ।

क्यान्सरको उपचारबारे निरन्तर खोजी भइरहेको छ । नयाँ नयाँ उपचार प्रविधिको विकास पनि भइरहेको छ । क्यान्सरको उपचारमा प्रयोग हुने केमोथेरापीको बारेमा त धेरैलाई थाहा छ । तर पछिल्लो समय क्यान्सरको उपचारका लागि विभिन्न औषधि र प्रविधिको विकास भइरहेको छ ।

केमोथेरापी, हर्मोनल थेरापी, टार्गेटेड थेरापी, इम्युनोथेरापी, कार टी सेल थेरापी र बोनम्यारो (हड्डीभित्र हुने मासी) प्रत्यारोपण सबै क्यान्सरको उपचारमा प्रयोग हुने प्रणालीगत थेरापी अन्तर्गत पर्छ ।

केमोथेरापी : केमोथेरापी क्यान्सरको उपचारमा प्रयोग हुने सबैभन्दा सामान्य उपचार पद्धति हो । केमोथेरापी क्यान्सर कोषिकाहरु नष्ट गर्न प्रयोग गरिन्छ । केमोथेरापीले क्यान्सर कोषिकाहरु फैलिनबाट रोक्छ । अरू कोषहरूलाई बनाउन, बढ्न र विभाजित गर्नबाट रोकेर काम गर्छ । किनभने क्यान्सरका कोषहरु आम रुपमा सामान्य कोषको तुलनामा तीव्र रुपमा बढ्छन् र विभाजित हुन्छन् ।

टार्गेटेड थेरापी : उपचारको प्रभावकारिता बढाउने यस तरिकामा क्यान्सर कोषिकाहरुका विशेष परिवर्तनहरूलाई लक्षित गर्ने औषधि प्रयोग गरिन्छ । टार्गेटेड थेरापीको औषधिले क्यान्सर कोषिकाहरुलाई उनीहरूको विकास प्रक्रियालाई लक्षित गरेर नियन्त्रण गर्छन् । यी औषधि क्रोनिक माइलो ल्यूकेमिया (रक्त क्यान्सर), पाचननलीका केही क्यान्सर र फोक्सोको क्यान्सर लगायत क्यान्सरमा प्रभावकारी हुन्छन् । साथै  ल्युकेमिया, स्तन क्यान्सर र मिर्गौलाको क्यान्सर सहित अन्य धेरै क्यान्सरको उपचारमा टार्गेटेड थेरापी उपयोगी हुन सक्छ ।

इम्युनोथेरापी : क्यान्सरका कोषिकाहरुलाई शरीरका रोगप्रतिरोधक कोषिकाहरुबाट सखाप पार्न आक्रामक र बलियो पार्ने विशेष औषधिको प्रयोग हुन्छ । जसलाई इम्युनोथेरापी भनिन्छ । यस उपचारले शरीरलाई प्राकृतिक सुरक्षा क्यान्सरबाट लड्न मद्दत गर्छ । यो उपचारको उपयोग आजभोलि केही प्रकारको क्यान्सरका लागि गरिन्छ ।

हर्मोन थेरापी : केही क्यान्सर शरीरमा उत्पादन हुने हर्मोनमा भर पर्ने हुन्छन् । त्यस्ता प्रकारका क्यान्सरdf हर्मोनको प्रयोग गरिन्छ, जसले गर्दा ती क्यान्सरको वृद्धि रोकिन्छ । यो उपचारले शरीरमा हर्मोनको मात्रा बदल्छ ।

हर्मोन शरीरमा स्वभाविक रूपले उत्पादन हुन्छ । यसले केही कोषहरू वा अंगको गतिविधिलाई नियन्त्रण गर्नमा मद्दत गर्छ । हर्मोनको स्तरले कैयौं प्रकारको क्यान्सरलाई नियन्त्रित गर्ने भएकाले चिकित्सकहरूले हर्मोन थेरापीको उपयोग गर्छन् । यसमा केही स्तन र प्रोस्टेट क्यान्सर समावेश छन् ।

कार–टी सेल थेरापी : कार–टी सेल एक विशेष उपचार पद्धति हो, जुन रक्त क्यान्सरका बिरामीमा निकै प्रभावकारी देखिएको छ । बिरामीकै शरीरभित्र रहेको ‘टी’ नामक प्रतिरक्षा कोषको प्रयोग गरेर उपचार गरिने प्रविधि हो । शरीरभित्र, खासगरी रक्त प्रणालीमा हुने ‘टी’ कोषलाई निकालेर प्रयोगशालामा जेनेटिक इन्जिनियरिङ गरी क्यान्सर चिनेर त्यस विरुद्ध क्रियाशील हुनसक्ने बनाएर बिरामीको शरीरभित्र पठाइन्छ, जसले क्यान्सरलाई मार्न सक्छ ।

बोनम्यारो प्रत्यारोपण : रोगको प्रकृति हेरी कुनै रोगलाई औषधि चलाउनुपर्छ भने कुनै रोगलाई बोनम्यारो प्रत्यारोपण नै गर्नुपर्छ । केमोथेरापीबाट निको नहुने रक्त क्यान्सरको उपचार बोनम्यारो (हड्डीभित्र हुने मासी) प्रत्यारोपणबाट गरिन्छ । शरीरमा भएको क्यान्सर आक्रान्त बोनम्यारोलाई नष्ट गरेर अर्को स्वस्थ बोनम्यारो राख्ने प्रक्रिया नै बोनम्यारो प्रत्यारोपण हो ।

क्यान्सर डा. अरुण शाही थेरापी

धेरै कमेन्ट गरिएका

डा. अरुण शाही
लेखक
डा. अरुण शाही
क्यान्सररोग विशेषज्ञ

डा. शाही हाल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पतालमा कार्यरत छन् । उनले एमबीबीएस, एमडी मेडिकल अन्कोलोजी (बंगलादेश) र महामारी विज्ञानमा एमपीएच गरेका छन् । साथै भारतको दिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालबाट मेडिकल अन्कोलोकीको तालिम लिएका छन् । उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर  १०९५३ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय