+
+

लिम्बु भाषाको फिल्म ‘चे’को प्रदर्शन, सांस्कृतिक धरोहर संरक्षणको सन्देश

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १५ गते १४:५४

काठमाडौं । विकासको नाममा सांस्कृतिक र रैथाने सम्पदा भत्काइँदा भविष्यमा यसले कस्तो परिस्थिती निम्त्याउला ? मृत्युपछि सद्गत गर्ने थलो नै नभेटिए यसले सांस्कृतिकरुपमा कस्तो समस्या सिर्जना गर्ला ? विकास गर्दैगर्दा संस्कृति र परम्परागत धरोहरको कसरी संरक्षण गर्ने ?

सागर केरुङ निर्देशित चौंथो कथानक लिम्बु भाषाको फिल्म ‘चे’ले पछिल्लो समय पूर्वी नेपालका लिम्बु समुदायले भोगिरहेको समस्याको कथा पेश गर्छ । याक्थुङ समुदायको कथावस्तुमा बनेको यो २ घण्टाभन्दा लामो फिल्मले एउटा लाशको कथा भन्छ ।

लिम्बु भाषामा ‘चे’को अर्थ लाश वा शव भन्ने हुन्छ ।

मंगलबार कमलपोखरीस्थित बिग मूभिजमा फिल्मको विशेष शो आयोजना गरियो । सांस्कृतिक मूल्य र आदिवासी चेत बोकेको यो फिल्म हेर्न लिम्बु समुदायका वृद्धवृद्धादेखि किशोर किशोरीसम्म उक्त मल्टिप्लेक्समा पुगेका थिए ।

‘आधुनिक विकासको नाममा प्राकृतिक धरोहरलाई भत्काउन खोज्ने र संरक्षण गर्न खोज्नेबीचको द्धन्द्धात्मक कथा हो यो । खासमा यो लाशको कथा हो’ निर्देशक केरुङले अनलाइनखबरसँग भने, ‘सबै तवरले लिम्बुहरु कसरी लाश भैरहेका छन् भन्ने हो । आधुनिक विकासको नाममा लिम्बुहरुले आफूले आफूलाई कसरी लाश बनाइराख्या छन् भन्ने विषयमा काम गरिएको हो ।’

पाँचथरका विभिन्न रमणीय स्थानमा खिचिएको फिल्मलाई याक्थुङ फिल्म प्रालिको ब्यानरमा निर्माण गरिएको हो । यसअघि के, पुङसाम, तुम्बेहाङ, के टु फिल्म निर्माण एवं निर्देशन गरेका केरुको यो चौंथो फिल्म हो ।

पछिल्लो समय याक्थुङ समुदायको ज्वलन्त समस्यालाई आफूले फिल्ममा प्रस्तुत गरेको केरुङले बताए । ‘हामी मृत्युलाई शाश्वतरुपमा लिन्छौं तर, मरेपछि त्यो शवलाई शदगत गर्न समाधिस्थल चाहिन्छ’ उनी भन्छन्, ‘तर, विकासको नाममा हाम्रा समाधिस्थल भत्काइरहेका छौं । यो संरक्षण गर्नुपर्छ, यसका लागि राज्यपक्ष मात्र होइन, समुदाय पनि जिम्मेवार छ । भोलि यो समस्या समाधान भएन भने लाश नै समस्या हुनसक्छ भन्ने कथावस्तु यसमा छ ।’

फिल्ममा सिक्किमबाट प्रनेश सुब्बा, कर्नाम सुब्बा, बिमला खजुम, सागर केरुङ, यसली योङहाङ, निशाम तुम्बापो, भवेन्द्र थाम्सुहाङ लगायतको अभिनय छ । फिल्मलाई इन्दु फोम्बो र सबु लिम्बु थाम्सुहाङले निर्माण गरेका हुन् ।

यो फिल्मलाई नेपालका विभिन्न ठाउँ र विदेशमा समेत स्क्रिनिङ गरिने भएको छ । आदिवासी जनजातिको भाषा, संस्कार र संस्कृति संरक्षणको लागि यस्ता फिल्मले भूमिका खेल्ने निर्मात्री इन्दु फोम्बोले बताइन् ।

उक्त विशेष प्रदर्शनमा चलचित्र विकास बोर्डअन्तर्गतको आदिवासी जनजाति मातृभाषी फिल्मका संयोजक तथा फिल्म निर्माता ज्योतिराज राई र चलचित्र निर्देशक समाजका महासचिव अरुण प्रधान पनि थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?