+
+
इमेज सहकारी ठगी प्रकरण :

देवकुमार नेपाली थुनामा, ओमबहादुर डेढ लाख धरौटीमा रिहा

अमृत सुवेदी अमृत सुवेदी
२०८१ असोज १५ गते १८:५०

१५ असोज, पोखरा । इमेज सहकारी ठगी प्रकरणमा प्रक्राउ परेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली पुर्पक्षका लागि थुनामा पठाइएका छन् ।

जिल्ला न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले मंगलबार नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

भारतको दिल्लीमा पक्राउ गरी आइतबार बागलुङ ल्याइएका नेपालीको सोमबार बयान सकेर मंगल भएको थुनछेक बहसपछि नेपालीलाई पुर्पक्षका लागि कारागार चलान गर्ने र इमेज सहकारी ठगी प्रकरणमै पक्राउ परेका देवकुमारका दाइ ओमबहादुर दर्जीलाई डेढ लाख रुपैयाँ धरौटीमा छाडिएको छ ।

सरकारी वकिल कार्यालय बागलुङका जिल्ला न्यायाधिवक्ता पूर्णप्रसाद शर्माका अनुसार बागलुङमा थुनछेक बहसपछि पुर्पक्षका लागि कारागार चलान भएका नेपालीलाई कास्की अदालतमा पनि उपस्थित गराइनेछ । तर, केही दिनपछि अदालत बन्द हुने भएकाले दसैं पछाडिमात्र उनलाई पोखरा पठाउने सम्भावना रहेको उनले बताए ।

बागलुङ बजारमा मुख्य कार्यालय र बुर्तिबाङ तथा गलकोटमा सेवा केन्द्रका नाममा सहकारी ऐनविपरीत बचत रकम अपचलन गरेका नेपालीले पोखराको सिर्जनाचोकमा रहेको इमेज सहकारीबाट पनि बचत रकम अपचलन गरेको आरोपमा कास्कीमा पनि उनीविरुद्ध मुद्धा छ ।

नेपालीले बागलुङमा मात्र १ अर्ब ३८ करोड रुपैयाँ अपचलन गरेको भन्दै बिगो दाबी गरेर अदालतमा अभियोग दायर भएको छ भने पोखरामा ६० करोड रुपैयाँ अपचलन गरेको अभियोग छ ।

कास्की र बागलुङमा गरी झण्डै २ अर्ब रुपैयाँ अपचलन गरेको सार्वजनिक भएसँगै मेयर नेपाली २०८० जेछ ५ गते फरार भएका थिए । उनी फरार भएलगत्तै जेठ १६ गते उनीहरुविरुद्ध उजुरी लिन प्रहरीले आह्वान गरेको थियो । नेपालीविरुद्ध १२ माघ ०८० मा रेडकर्नर नोटिस जारी भएको थियो ।

फरार भएको १६ महिनापछि दिल्लीमा पक्राउ गरी ल्याइएका नेपालीले सहकारीको रकम घर, जग्गा र व्यवसायमा लगाएको यसअघि सार्वजनिक गरेको भनाइजस्तै अदालतमा पनि बयान दिएका छन् । उनले घर, जग्गा र आफ्नो तथा परिवारको नाममा रहेको सम्पत्ति बेचेर बचत रकम फिर्ता गर्ने बताउँदै आएका छन् ।

बागलुङको ढोरपाटन नगरपालिकामा दोस्रो कार्यकालका लागिसमेत मेयर निर्वाचित भएका नेपालीले सहकारीको रकमबाट घरजग्गामा र व्यक्तिगत स्वार्थमा लगाउनेदेखि हेलिकप्टर चढेर हिँडडुल गर्ने, विभिन्न ठाउँमा आर्थिक सहयोग गर्ने गरेका थिए ।

नेपालीले बागलुङका मुख्य र शाखासहित ३ सहकारीबाट १ अर्ब ३८ करोड रुपैयाँ हिनामिना गरेको बागलुङ जिल्ला अदालतमा अभियोग छ ।

एक हजार ५४३ जनाको जाहेरीपछि २०८० असार २५ गते १ अर्ब ३० करोड, ७६ हजार ९८ हजार रुपैयाँ र थप ३० जनाको जाहेरी परेपछि २०८० भदौ १७ गते ७ करोड ३४ लाख ६४ हजार रुपैयाँ विगो मागदावीसहित बागलुङ जिल्ला अदालतमा अभियोग दायर भएको थियो ।

कृत्रिम शेयर धनी कायम गराई रकम हिनामिना गरेको, संस्थाको नाममा बैंकबाट लिएको कर्जा बापतको किस्ता रकम बैंकलाई भुक्तानी नै नगरी हिसाब मिलान गरेको, पीडितहरुलाई अधिक व्याजको प्रलोभन देखाई सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण ऐनविपरीत काम गरेको अभियोग नेपालीमाथि छ ।

नेपालीले बचत रकम उनीहरुको व्यक्तिगत खातामा जम्मा नगरी संस्थामा खोलिएका विभिन्न कृत्रिम खातामा रकम जम्मा गरी/गर्न लगाई एउटा खातादेखि अर्को खातामा रकम रकमान्तर गरेको अभियोग पत्रमा छ ।

पोखराको सूर्यदर्शन सहकारीको उपाध्यक्ष भइसकेर अध्यक्ष हुन नपाएपछि २०६८ सालमा पोखरा सिर्जनाचोक र २०६९ सालमा बागलुङमा सहकारी खोलेर रकम हिनामिना पारेका थिए ।

उनीविरुछ सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनी सहकारी ठगीमा पक्राउ गरी पुर्पक्षका लागि कारागार चलान भएको र सम्पत्ति शुद्धीकरण मुद्धामा पनि अनुसन्धान भइरहेको छ ।

कृत्रिम शेयर धनी कायम गराई रकम हिनामिना गरेको, संस्थाको नाममा बैंकबाट लिएको कर्जा बापतको किस्ता रकम बैंकलाई भुक्तानी नै नगरी हिसाब मिलान गरेको, पीडितहरुलाई अधिक व्याजको प्रलोभन देखाई सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण ऐनविपरीत काम गरेको अभियोग नेपालीमाथि छ ।

इमेज सहकारी ठगी मुद्दामा पदाधिकारी चित्रबहादुर, शक्ति किसान, लालरमती, डोरबहादुर, लक्ष्मी सेन, र अनिता बुढामगर पुर्पक्षका लागि बागलुङ कारागारमा छन् ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?