+
+

बीमाको १२ करोड रोकिंदा बिरामीको उपचार प्रभावित

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १६ गते ८:२४

१६ असोज, बुटवल । संघीय सरकारले स्वास्थ्य बीमा वापतको रकम समयमै उपलब्ध नगराउँदा बिरामीलाई दिनुपर्ने औषधि र उपचार सामग्री खरिद गर्न समस्या भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल दाङले गुनासो गरेको छ ।

सरकारले प्रतिष्ठानलाई बीमा उपचार सेवा तथा डायलासिस र सिकलसेल उपचारवापत १२ करोड १५ लाख ८४ हजार ४६७ रुपैयाँ भुक्तानी दिन बाँकी छ ।

सरकारले यो रकम नदिंदा औषधि र उपचार सामग्री सप्लायर्सलाई प्रतिष्ठानले भुक्तानी दिन नसकेपछि सप्लायर्सले आपूर्ति रोक्दा उपचार सेवा र बिरामी प्रभावित भएका प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले बताए।

‘प्रतिष्ठानले औषधि सप्लायर्सहरुलाई १३ करोड ४२ लाख रुपैयाँ तिर्न बाँकी छ, उनीहरु पैसा चाहियो भन्दै पटक-पटक नाराजुलुस र धर्ना गर्छन्’-लामिछानेले भने-‘सरकारले किस्ता-किस्तामा निकै कम रकम मात्र पठाउंछ, पूरा भुक्तानी नपाउँदा सप्लायर्सले सामान दिन सक्दैनौं भन्छन् ।’

सप्लायर्सहरुलाई भुक्तानी दिन नसकेका कारण औषधि र उपचार सामाग्री नै नपाउने अवस्थाले उपचार रोकिने अवस्था आएको प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम लम्सालले बताए । ‘हामीले सप्लायर्ससंग सामान किनेर बिरामीको उपचार गर्ने र औषधि दिने हो, केन्द्रबाट आउनुपर्ने भन्दा एक करोड बढी रकम प्रतिष्ठानले खर्च गरिसक्यो, अब उपचार सामग्री खरिद गर्न सक्ने अवस्था छैन’-लम्सालले भने-‘ केन्द्रबाट पूरा पैसा नआउने हो भने व्यवस्थापन गर्न कठिन भयो, अब बीमा सेवा बन्द गर्ने अवस्थामा पुगेका छौं ।’

स्वास्थ्य बीमाकै लागि प्रतिष्ठान एक करोड बढी ऋणमा गएको भन्दै लम्सालले कर्मचारीलाई तलब दिने अवस्था समेत नभएको बताए ।

रसायन तथा सर्जिकल एशोसिएसन दाङका अध्यक्ष बालकुमार घर्तीले आफूले प्रतिष्ठानबाट ६ करोड रकम भुक्तानी पाउन बाँकी रहेको बताए । ‘अस्पताल भनेर अहिलेसम्म बैंकको ऋण बोकेर पनि उपचार सामग्री दिइयो, अब भुक्तानी नपाएसम्म सामान दिनसक्ने अवस्था छैन,’-घर्तीले भने, ‘सरकारले पैसा दिन नसक्ने हो भने बीमाको नाममा बिरामी र व्यवसायीलाई किन दु:ख दिने ?’

दाङका राजनीतिक दलहरूले भने प्रतिष्ठानलाई सेवा नरोक्न आग्रह गरेका छन् ।

जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले संघीय सरकारबाट पाउनुपर्ने भुक्तानीका लागि आफूहरुले सक्दो समन्वय गर्ने भन्दै उपचार रोकिन नहुने बताए ।

प्रतिष्ठानमा वार्षिक एक लाख ६३ हजार २७३ बिरामीले सेवा लिइरहेका छन् । जसमध्ये ४७ हजार ७१९ बिमाको सेवा लिने बिरामी छन् । दैनिक ३०० बिरामीले ओपिडि सेवा लिन्छन् ।

स्वास्थ्य बीमा बोर्ड दाङका प्रमुख बसन्त लामिछानेका अनुसार जिल्लामा हालसम्म ५९ हजार १७१ जनाको स्वास्थ्य बीमा भएको छ । यो जिल्लाको कुल जनसंख्याको ८ प्रतिशतमात्रै हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?