+
+

जनप्रतिनिधि नै विदेश पलायन

आभास बुढाथोकी आभास बुढाथोकी
२०८१ असोज १६ गते ११:३४

१६ असोज, काठमाडौं । ०७९ सालको निर्वाचनमा कार्यालय सहयोगीदेखि सिधै वडाध्यक्षमा निर्वाचित भएपछि, दाङ राप्ती गाउँपालिका–५ का चन्द्रबहादुर गुरुङको चर्चा चुलियो ।

जनताको रुचाएपछि उनलाई अत्यधिक मत दिएर कार्यालय सहयोगदेखि वडाध्यक्षको भूमिकामा पुर्‍याइदिए । तर, जनप्रतिनिधि बनेपछि चन्द्रले कार्यकाल भने पूरा गरेनन् ।

आर्थिक समस्या देखाउँदै कार्यकाल सम्हालेको तीन वर्ष पनि नपुग्दै वडाध्यक्ष गुरुङ रोजगारीका लागि विदेशिए । ०७९ सालको चुनावमा ऋण तिर्न भन्दै उनी गत साउनमा वैदेशिक रोजगारीमा गएका छन् । उनी निकट अनुसार चुनावको बेला लागेको चुनावमा ऋण लागेको र त्यही ऋण तिर्न भनेर उनी मौसमी भिसामा युके पुगेका हुन् ।

वडाध्यक्ष गुरुङले १७ साउन २०८० मा  पालिकालाई पत्र लेख्दै आफू विशेष कामले ‘बाहिर’ गएकाले वडासदस्य चम्पा पुनलाई कार्यवाहक अध्यक्ष जिम्मेवारी दिन भन्दै पत्र लेखेका थिए । तर उनले गाउँपालिलाई भने आफू वैदेशिक रोजगारीमा गएको औपचारिक जानकारी भने दिएका छैनन् ।

वडाध्यक्ष गुरुङको परिवार स्रोतका अनुसार घरायसी ऋण बढेपछि उनी बेलायत गएका हुन् ।  उनीहरुका अनुसार स्थानीय तहको चुनावी खर्च, बिरामी आमालाई उपचार गर्दा ऋण लागेको थियो । त्यो ऋण बढेर ५० लाखको हाराहारी पुग्न थालेपछि उनी ऋण तिर्न भनेर गएको उनको परिवारका सदस्यले बताए ।

वडाध्यक्ष नै विदेश हिँडेपछि अहिले वडासदस्य चम्फा पुनले कार्यवाहक वडाध्यक्षको जिम्मेवारी सम्हालिरहेकी छन् ।

ताप्लेजुङको सिरिजंघा गाउँपालिका–३ सिकैंचाका वडाध्यक्ष दिलप्रसाद बोखिम पनि १० महिनादेखि विदेशमै छन् ।

०७९ सालको चुनावमा कांग्रेसबाट निर्वाचित वडाध्यक्ष बोखिम कार्यकाल सम्हालेको अढाई वर्षमै हङकङ हान्निए । गाउँपालिका उपाध्यक्ष डा. चित्रकुमार माबोका अनुसार वडाध्यक्ष बोखिमले हङकङ जानु अघि गाउँपालिकालाई औपारिक रुपमा जानकारी समेत गराएका थिएनन् ।

‘वैदेशिक रोजगारीमा गएको तीन महिनापछि मात्रै हामीलाई उहाँ गएको थाहा भयो’, उपाध्यक्ष माबोले भने, ‘जनताबाट चुनिएको व्यक्ति जनताको काम गर्नुको साटो वैदेशिक रोजगारी गएको थाहा पाउँदा हामी स्वयं अचिम्मत भयौं ।’

बोखिमले हालैमात्र साउन १८ गतेबाट लागू हुने गरी जिल्ला निर्वाचन कार्यालयमा राजीनामा बुझाएका छन् । उनको ठाउँमा वडासदस्य अम्बि साउदेनले कार्यवाहक वडाध्यक्षको जिम्मेवारी सम्हालेका छन् ।

***

रोजगारीको खोजीमा प्रत्येक वर्ष वैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्या ठूलो छ । सरकारी तथ्यांक अनुसार वार्षिक सात लाखको हाराहारीमा नेपालीहरु रोजगारको खोजीमा विदेश गइरहेका छन् ।

तर वैदेशिक रोजगारीमा जाने लाइनमा युवाहरुमात्रै छैनन्, जनताबाट चुनिएका जनप्रतिनिधिहरु समेत कोही वैदेशिक रोजगारीमा गएका छन् भने कोही उतै पलायन भएका छन् ।

०७४ सालमा चुनावमा उपमेयरमा निर्वाचित कालीकोट तिलागुफा नगरपालिकाकी दन्ता नेपाली (दर्शना) पनि आफ्नो कार्यकाल बाँकी छँदै अमेरिका पलायन भइन् ।  ०७६ कात्तिकमा एउटा कार्यक्रममा भाग लिन अमेरिका पुगेकी उनी नेपाल नफर्की उतै लुकेर बसिन् ।

पूरा कार्यकालभर नेपाल नफर्किएकी उनी अहिले अमेरिकाको न्युयोर्कमा छिन् ।

नेपाल नगरपालिका संघ अध्यक्ष भीम ढुंगाना कार्यकाल एकाध जनप्रतिनिधिहरु पनि विदेश पलाएन भएको बताउँछन् । खास गरी वडासदस्यदेखि वडाध्यक्षहरुको वैदेशिक रोजगारीमा गएको उनले बताए । ‘धेरै होइन, कही कतै वडा वडाध्यक्षसम्म वैदेशिक रोजगारीमा गएका घटनाहरु छन् । तर यो संख्या कम छ’, उनले भने ।

उनका अनुसार कतिपय व्यक्तिगत कारणले विदेश पलायनका भएका छन् भने कतिपयपय जनताको अपेक्षा अनुसार काम गर्न नसक्दा पनि विदेश पलायनको बाटो रोजेको बताउँछन् ।

‘चुनाव अघि जनतालाई धेरै सपनाहरु देखाइएको हुन्छ । निर्वाचित भइसकेपछि सोचे अनुसार काम हुन सक्दैनन् । काम गर्न खोज्दा कहिले संघ सरकार बाधक बन्छ, कहिले प्रदेश सरकार’, उनी भन्छन्, ‘जनता समक्ष गरेको वाचा पूरा गर्न नपाउँदा जनप्रतिनिधिमा नैराश्यता बढाउँछ ।’

कतिचाहिँ चुनावका बेला लागेका ऋण, लगायतका आर्थिक समस्यासँग जुध्नुपर्दा पनि वैदेशिक रोजगारीको बाटो रोज्नुपर्ने बाध्यता भएको ढुंगाना सुनाउँछन् । ‘चुनाव असाध्यै खर्चिलो हुन्छ । ऋण काढेर भए पनि चुनाव लड्नुपर्ने बाध्यता हुन्छ’, उनले भने, ‘तर चुनाव जितेपछि जनप्रतिनिधिले पाउने सेवा सुविधाले ऋण तिर्न पुग्दैन,  चारैतिरबाट आर्थिक समस्याले घेरिएपछि विदेशीनु पर्ने बाध्यता आइलाग्छ ।’

लेखकको बारेमा
आभास बुढाथोकी

बुढाथोकी अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?