काठमाडौं । एन्टिबायोटिक औषधिले कीटाणुजन्य स्वास्थ्य समस्या भएमा निको पार्न मद्दत गर्छ । यो सत्य हो । तर एन्टिबायोटिकको लगातार प्रयोगले भने घातक परिणाम दिन सक्छ ।
केही दशकयता एन्टिबायोटिक प्रतिरोधको स्तर द्रुत रूपमा बढ्दै गएको छ । व्यापक प्रयोगले एन्टिबायोटिक प्रतिरोधी क्षमता (एन्टिमाइक्रोब्याक्टेरियल रेजिस्टेन्स) विकास गरिरहेको छ । एन्टिबायोटिकको प्रतिरोधी क्षमता विकास हुनु विश्वव्यापी रुपमै चिन्ताको विषय बनिरहेको छ ।
के हो एन्टिबायोटिक प्रतिरोध ?
एन्टिबायोटिक प्रतिरोध तब उत्पन्न हुन्छ, जब रोग फैलाउने सूक्ष्म जीवहरू मुख्यगरी ब्याक्टेरिया र कतिपय परजीवी एवं फंगसविरुद्ध औषधि लगातार खाँदा शरीरमा बचेका ब्याक्टेरियाले विस्तारै औषधिलाई आफ्नो अनुकूल बनाइदिन्छ ।
सूक्ष्म जीवहरूले नै प्रोटिन उत्पादन गरी ती औषधिप्रति लचिलोपन विकसित गर्छ । डीएनए पनि यसप्रति विस्तारै सकारात्मक हुँदै जान्छ । यी विशिष्ट प्रोटिन डीएनएमा रहेका अन्य ब्याक्टेरियाहरूमा प्रसारित हुन्छन् ।
शरीरमा आएको परिवर्तनसँगै विस्तारै यी औषधि प्रतिरोध विकास गर्न थाल्छ । जसले सुपर बग्स बनाउँछ । फलस्वरुप सुपर बग्स भइसकेपछि जति खाए पनि औषधिले कुनै प्रभाव देखाउन सक्दैन । औषधिले असर नदेखाएपछि सामान्य संक्रमण भएमा पनि छिटो निको हुन सक्दैन ।
विना प्रयोगशाला परीक्षण बिरामीले आफैं वा औषधि पसलबाट किनेर एन्टिबायोटिक (एन्टिमाइक्रोबियल औषधि) प्रयोग गर्दा टाइफाइड, निमोनिया र औलोजस्ता रोग लाग्दा पनि बिरामीको उपचार गर्न कठिन हुने गरेको अनुभव चिकित्सकहरू सुनाउँछन् । ग्राण्डी अस्पतालका जनरल फिजिसियन डा. अमित गौलीका अनुसार जथाभावी एन्टिबायोटिकको प्रयोग गर्दा त्यसले रोग निको पार्न कठिन हुने मात्र होइन, ज्यान नै बचाउन कठिन भएका थुप्रै केस देखेका छौं ।
‘एन्टिबायोटिक रेजिस्टेन्स भएपछि सामान्य औषधि खाएर निको हुने ज्वरो तथा टाइफाइडका बिरामीलाई समेत सामान्य औषधिले काम नगरेर बढी डोज सहित सुई दिनुपर्ने र लामो समयसम्म अस्पतालमै भर्ना गर्नुपर्ने अवस्था आउँछ’ उनले भने ।
विभिन्न कारणले गर्दा एन्टिबायोटिक खाए पनि ९० प्रतिशत मात्रै ब्याक्टेरिया मर्छन् । लगातार खाँदा १० प्रतिशतको संख्या बढेर शरीरमै रहेर शक्ति विकास गर्ने हुँदा पुनः त्यही एन्टिबायोटिकले काम नगर्ने उनी बताउँछन् ।
यसै सन्दर्भमा निजामती कर्मचारी अस्पतालका कार्यकारी निर्देशक समेत रहेका पेट तथा कलेजोरोग विशेषज्ञ डा. विधाननिधि पौडेल भन्छन्, ‘एन्टिबायोटिक औषधि प्रयोग गर्नै नहुने होइन । तर लगातार प्रयोगले अप्रत्यक्ष रुपमा यति गम्भीर समस्या ल्याउँछ कि जसले गर्दा न औषधि काम लाग्छ, न उपचार ।’

एन्टिबायोटिक औषधिको दुरुपयोगले गर्दा विश्वमा नै १० देखि २० प्रतिशतमा कलेजो रोगका बिरामी वर्षनी बढ्ने विश्व स्वास्थ्य संगठनको तथ्यांकले देखाउँछ ।
डा. पौडेल पनि एन्टीबायोटिक औषधिको चरम दुरुपयोगले कलेजोको समस्या लिएर अस्पताल आउनेको संख्या बढाइरहेको बताउँछन् ।
उनका अनुसार हरेक औषधिको मेटाबोलिजम कलेजोमै हुन्छ । यस्तोमा राम्रो र खराब पार्ने दुवै खालको जीवाणु सानो र ठूलो आन्द्रामा रहने हुँदा लगातार एन्टिबायोटिक खाएमा राम्रो ब्याक्टेरियाको काममा अवरोध ल्याउने, कलेजोमा विषाक्त पदार्थ जम्मा गर्ने, राम्रो र खराब जीवाणुको सन्तुलन बिग्रिन गई पेट ढुस्स पार्ने, पखाला लाग्ने, खाना अपच हुने र कलेजोमा पुगेर फ्याटी लिभर बनाउने गर्छ ।
‘फ्याटी लिभरबाट सुरु भई बिस्तारै सिरोसिस र फाइब्रोसिस जस्तो कलेजोमा गम्भीर समस्या उत्पन्न गराउँछ’ उनी भन्छन् ।
औषधि खाने छोड्ने मनलाग्दी परिपाटीले पनि एन्टिबायोटिक रेजिसटेन्स बढाउने उनी बताउँछन् ।
कतिबेला एन्टिबायोटिकको प्रभाव कम हुने डर हुन्छ ? डा. पौडेल भन्छन्, ‘एन्टिबायोटिकले ब्याक्टेरियालाई पूर्णरुपमा मार्न नसक्ने अवस्था त्यतिबेला हुन्छ, जतिबेला बिरामीलाई डाक्टरले रोगको प्रकृति हेरेर पाँच दिनको औषधि दिन्छन् । तर बिरामीले लगातार तीन दिनसम्म खाएर निको भएको महसुस गर्छन् र औषधिको मात्रा पूरा नगरी बीचमै छोडिदिन्छन् ।’
विश्वमा एन्टिबायोटिक प्रतिरोधको खतरा
एन्टिबायोटिक रेजिसटेन्स विश्वका लागि ठूलो खतरा भएको वैज्ञानिकहरूले अनुमान गरेका छन् ।
यसतर्फ ध्यान नदिए सन् २०५० सम्ममा यसका कारण वर्षेनी करिब एक करोड मानिसले ज्यान गुमाउनुपर्ने अनुमान गरिएको छ । यसको मतलब यदि विश्वले अझै सिकेन भने प्रत्येक दिन २७ हजार भन्दा बढी मानिस सामान्य संक्रमणले मर्नेछन् । यो तथ्याङ्क भनेको कोभिड-१९ बाट हुने मृत्युको दर भन्दा बढी हो । औषधि प्रतिरोधी रोगका कारण वर्षेनी कम्तीमा सात लाख मानिसको मृत्यु हुने गरेको छ ।
जोखिम नेपालमा पनि
डा. गौलीका अनुसार नेपाल पनि यो जोखिमबाट मुक्त छैन । विश्वभर एन्टिबायोटिकको द्रुत दुरुपयोग भइरहेको र यसबाट हुने कुल मृत्युमध्ये ९० प्रतिशत एसिया र अफ्रिकामा हुने अनुमान गरिएको छ । यसले नेपाल लयायत विकासोन्मुख देशहरू गहिरो रूपमा प्रभावित हुने देखाउँछ ।
पहिल्यै एन्टिबायोटिक औषधि खाएर अवस्था निकै गम्भीर भएपछि मात्र अस्पताल आउनेको संख्या बढ्दो छ । ‘ओभर द काउन्टर’ पाउने यस्ता औषधिको चरम दुरुपयोग भइरहेको उनी बताउँछन् ।

स्वास्थ्यमा मात्र नभई अर्थतन्त्रमा पनि असर
विश्व बैंकका अनुसार एन्टिमाइक्रोबियल प्रतिरोधको उपचार गर्न अस्पतालमा चक्कर लगाउँदा लगाउँदा सन् २०३० सम्म दुई करोड ४० लाख मानिस गरिबीको रेखामुनि पुग्न सक्छन् ।
साथै विश्व अर्थतन्त्रलाई पनि यसबाट ठूलो नोक्सान हुनेछ । संयुक्त राष्ट्र स्वास्थ्य एजेन्सीले मानवतालाई चुनौती दिने १० सार्वजनिक स्वास्थ्य खतराको सूचीमा समावेश गरेको छ ।
यसले विश्वव्यापी स्वास्थ्य, विकास, दिगो विकास लक्ष्य र अर्थतन्त्रमा महत्वपूर्ण प्रभाव पार्ने सम्भावना देखिन्छ ।
विश्वमा प्रतिरोध किन बढ्दैछ ?
सन् २०१४ मा द ल्यान्सेट इन्फेक्सियस डिजिजमा प्रकाशित एक अध्ययन अनुसार सन् २००० देखि २०१० बीचमा एन्टिबायोटिक औषधिको सेवन गर्ने संख्यामा ७६ प्रतिशतले बढेको छ ।
बढ्दो आम्दानीसँगै एन्टिबायोटिक धेरैको पहुँचमा पुगेको छ । सानो भन्दा सानो समस्यामा पनि एन्टिबायोटिक खानेबानीले गर्दा अनावश्यक खपत पनि बढाउँदैछ ।
साथै कृषि तथा पशुपालनमा एन्टिबायोटिकको प्रयोग बढ्दै गएकाले पनि यसको जोखिम बढ्दै गएको छ । जनावरलाई दिइने एन्टिबायोटिक मानव शरीरमा फर्किन थालेका छन् ।
एन्टिबायोटिक प्रतिरोध रोक्न के गर्ने ?
– एन्टिबायोटिक औषधिको दुरुपयोगले विकराल रुप लिन नदिन एन्टिबायोटिक औषधि सही र सावधानीपूर्वक प्रयोग गर्नुपर्छ ।
– औषधि खानुपूर्व चिकित्सकको सिफारिस विना औषधि लिन नमिल्ने र ओभर द काउन्टर एन्टिबायोटिक औषधि बिक्री वितरण गर्न नदिने नियम ल्याए मात्र यसलाई रोक्न सम्भव छ ।
– एन्टिबायोटिक खान सुरु गरेपछि डोज पूरा गरेर मात्र चिकित्सकको सल्लाहमा छोड्नुपर्छ ।
प्रतिक्रिया 4