+
+

‘हनीट्र्याप’को धन्दा : ५ लाख फिरौती लिएर हत्या

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १६ गते १८:३०

१६ असोज, काभ्रे । कीर्तिपुरका विनोद खड्गीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ परेको छ ।

प्रहरीका अनुसार यो समूहले विनोदलाई ‘हनीट्र्याप’मा पारेका थिए । त्यस क्रममा अपहरण गरेर ५ लाख रुपैयाँ फिरौती लिएपछि हत्या गरेको अनुसन्धानका क्रममा खुलेको छ ।

कीर्तिपुरका ५० वर्षीय खड्गीको शव ६ असोजमा काभ्रेको पाँचखाल नगरपालिका– ८ स्थित ४९ किलो भन्ने ठाउँमा भेटिएको थियो । ५ गतेदेखि सम्पर्कविहीन भएका उनको परिवारले खोजी गरिदिन प्रहरीमा निवेदन दिएका थिए ।

७ गते परिवारले शनाखत गरेपछि पाँचखालमा भेटिएको शव खड्गीको भएको खुल्यो ।

अनुसन्धानका क्रममा मनिषा महतको समूहले ‘हनीट्र्याप’मा पारेको पाइएको प्रहरीले जनाएको छ । प्रहरीले मनिषासँगै काठमाडौं शंखरापुरका सरिन घिमिरे, महोत्तरीको गौशला घर भई भक्तपुर बस्ने आशिष पासवान र बाग्लुङको गलकोट घर भई कोटेश्वर बस्ने प्रतीक गौतमलाई पक्राउ गरेको छ ।

विनोदले भने अनुसार साँझ ५ बजेतिर प्रदीपले भक्तपुरको राधेराधेमा पैसा पुर्‍याइदिन्छन् । तर रकम पाइसकेपछि मनिषाको समूहले हत्या गर्ने योजना बनाएको प्रहरीको दाबी छ ।

पहिला असुली, त्यसपछि हत्या

प्रहरीका अनुसार सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–२ घर भई मध्यपुर थिमीमा बस्ने २१ वर्षीया मनिषाले भारतीय नागरिकसँग मिलेर भारतमा पनि लुटपाट गरेकी थिइन् ।

अंसु खान र शिवमसँग मिलेर तीन महिना अगाडि ग्रेटर नोयडामा तुसार भन्ने व्यक्तिलाई कुटपिट गरेर १ लाख ५० हजार असुलेका थिए ।

त्यहाँबाट फर्किने क्रममा उनीहरुले नेपालमा पनि मनिषामार्फत धनी व्यक्तिलाई ‘हनीट्याप’मा पार्ने र रकम लुट्ने योजना बनाएको प्रहरीको दाबी छ । त्यसमा कीर्तिपुरका विनोद परे ।

प्रहरीले दिएको जानकारीअनुसार अंशु, शिवम, सरिन र रिकेशले ४ असोजको साँझ मनिषाको राधेराधेस्थित कोठामा भेला भएका थिए । त्यसक्रममा उनीहरुले फिरौतीको योजना बनाए ।

त्यसअनुसार मनिषाले ५ गते विहान विनोदलाई नागरिकता बनाउन जान सहयोग गर्नुपर्‍यो भन्दै बोलाइन् । साढे ११ बजेतिर त्यहाँ पुगेका विनोदलाई मनिषा र शिवमले रक्सी खुवाउँछन् । त्यही क्रममा खुर्सानी किन्ने बहानामा बाहिर गएकी मनिषाले साथीहरुलाई बोलाएको र कोठामा पुग्नासाथ आक्रमण गर्छन् ।

उनीहरुले घाइते विनोदको हातखुट्टा बाँधेर फिरौतीका लागि बार्गेनिङ गर्छन् । प्रहरीका अनुसार सुरुमा ३० लाख रुपैयाँ मागेका थिए । तर मनिषाले त्यो रकम धेरै भएको भन्दै १० लाख भन्छिन् ।

विनोदले त्यति रकम नभएको, ५ लाख ल्याइदिनसक्ने बताउँछन् । त्यसपछि आफ्नो कार्यालय वधशालाका कर्मचारी प्रदीप थापा मगरलाई फोन गरेर ५ लाख रुपैयाँ ल्याउन अह्राएको प्रहरीले बताएको छ ।

विनोदले भने अनुसार साँझ ५ बजेतिर प्रदीपले भक्तपुरको राधेराधेमा पैसा पुर्‍याइदिन्छन् । तर रकम पाइसकेपछि मनिषाको समूहले हत्या गर्ने योजना बनाएको प्रहरीको दाबी छ ।

योजनाअनुसार उनीहरुले घाइते विनोदलाई उनकै गाडीमा राखेर सूर्यविनायक–७ स्थित गुण्डु जाने सडकमा पुर्‍याउँछन् । ‘गाडीभित्रै ढुंगाले छातीमा हानेर उनको हत्या गरेको देखिन्छ’ काभ्रे प्रहरी प्रमुख एसपी बसुन्धरा खड्काले भनिन् ।

हत्यापछि साँगा, धुलिखेल हुँदै पाँचखालको ४९ किलो भन्ने ठाउँमा पुर्‍याएर अरनिको राजमार्गबाट तल झाडीमा शव फालेर भक्तपुर फर्किन्छन् । पुरानो थिमीमा गाडी छाडेर घर गएका उनीहरुले भोलिपल्ट भेटेर पैसा बाँडछन् । अंशुले मनिषालाई एक लाख, प्रतीकलाई १० हजार, आशिषलाई २० हजार, रोशनी महतलाई ५० हजार रुपैयाँ दिएको देखिन्छ ।

घटनाबारे प्रहरी थाहा पाएपछि मनिषाको कोठामा तास खेल्ने क्रममा विनोदले पैसा हारेको र विवाद भएपछि आफूखुसी निस्किएको बयान दिने सहमति समेत भएको थियो ।

तर त्यही दिन प्रहरीले मनिषासहितका व्यक्तिलाई पक्राउ गर्‍यो । भारतीय नागरिक भनिएका अंशु र शिवमको इन्टरपोलमार्फत खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?