+
+

वैदिककाल वैचारिक द्वन्द्वमा आधारित उपन्यास ‘युगसन्धि’

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १६ गते १६:२५

काठमाडौं । ऋषि वशिष्ठ र विश्वमित्रबीचको वैदिककालको वैचारिक द्वन्द्वमा आधारित उपन्यास युगसन्धि लोकार्पण गरिएको छ ।

विजय चालिसेद्वारा लिखित उपन्यासमा आर्य र अनार्य जाति तथा संस्कृति, महिला तथा पुरुष एवं रक्त शुद्धता र रक्त सम्मिलन पक्षधरहरूबीचको द्वन्द्व समेटिएको छ । यी प्रसङ्गहरूमा विश्वमित्र ऋषि र बशिष्ठ ऋषिबीचको द्वन्द्वमा कथा अगाडि बढेको छ । उपन्यासमा ब्रह्मशक्ति र राज शक्तिको समन्वय, महिला र पुरुषबीच समानता साथै आर्य र अनार्यबीचको समन्वयबाट मात्रै हिमाली क्षेत्रमा शान्ति कायम हुनसक्छ भनी वैदिककालदेखि विमर्श हुँदै आएको तर्क अघि सारिएको छ ।

पुस्तक लोकार्पण समारोहमा बोल्दै समीक्षक गोपी मैनालीले युगसन्धिले पौराणिक आख्यान लेखनको शास्त्रीय विधान तोडेको उल्लेख गर्दै यो उपन्यास विजयको मात्र नभई पराजयको पनि कथा भएको बताए । युगसन्धिले प्राचीन समयको जातीय र वर्गीय विभेदलाई देखाएको उनले बताए ।

यसैगरी समीक्षक डा. ज्ञानु पाण्डेले युगसन्धि उपन्यास यसले उठान गरेको विषयवस्तु भन्दा पनि पर पुगेर पाठकका मनमा अनेकौं गम्भीर प्रश्न र कल्पना जगाउन सक्ने सशक्त कृति भएको दाबी गरे । वैदिक कालको कथालाई लैङ्गिक अवधारणाबाट समेत उपन्यासले हेर्न सकेको उनको भनाइ थियो ।

वेदमाथि नेपालबाट पहिलो विद्यावारिधि गरेका डा. ऋषिराम पोखरेलले वैदिक विषयवस्तुमाथि साह्रै कम पुस्तक लेखिएको समयमा विजय चालिसेले युगसन्धि लेखेर नेपाली साहित्यलाई गुन लगाएको बताए । लेखक चालिसेले वैदिककालका द्वन्द्वलाई अध्ययन गरेर निकालेको निष्कर्षका आधारमा उपन्यास तयार पारेको बताए ।

परिचय पब्लिकेसनले प्रकाशन गरेको पुस्तकको मूल्य ५५० रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?