+
+
घटस्थापना विधि :

कसरी गर्ने घटस्थापना ? कस्तो हुन्छ पूजा विधि ?

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १६ गते १९:०६

या देवी सर्वभूतेषु शक्तिरूपेण संस्थिता ।

नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः॥

घटस्थापना दशैँको पहिलो दिन हो, जसलाई नवरात्रको सुरुवातको रूपमा चिनिन्छ। यसै दिनबाट श्रीदुर्गा भवानीको पूजा आरम्भ हुन्छ, जुन विजया दशमीसम्म गरिन्छ। नेपाली संस्कृतिमा घटस्थापना धार्मिक र सामाजिक महत्त्व राख्दछ। यस दिन विशेष रूपमा नवदुर्गा भवानीको पूजा आरम्भ र घटस्थापना गरिन्छ । यो पर्वले आसुरी शक्तिको दमनलाई सत्य शक्तिले विजय हुन्छ भन्ने सन्देश दिन्छ।

घटस्थापना कसरी गर्ने ?

नवरात्रिको पहिलो दिन घटस्थापना विशेष पूजासँग जोडिएको महत्वपूर्ण दिन हो ।

यो दिनमा घटस्थापना गरेर नवदुर्गाको पूजा आरम्भ गरिन्छ ।  बिहान नित्यकर्म गरेर शुद्ध चित्त भई पूजन सामग्री तयार गर्नु पर्दछ ।  यसका लागि  धान, चामल, जऊ, तिल, कुश, दुना, टपरी, पञ्चामृत, अबिर, केशरी, सिन्दुर, रातो अक्षता तयार गर्नुपर्छ । यसैगरी  सौभाग्य, शृङ्गार, नरिवल, फलफूल, पक्वान्न, धूप, बत्ती, कपुर, रातोफूल, माला, सप्तधान्य (धान, जौ, तिल, कागुन, मुग, मास, गहुँ ) आदि सरजाम तयार गर्नुपर्छ । त्यसपछि पूर्व या उत्तर फर्किएर शुद्ध आसनमा बसी दाहिनेतर्फ या अग्निकोणमा दीप प्रज्वलन गरी दियोकोआवाहन गरेर पूजा गर्ने ।

शङ्ख घण्टको पनि पूजा गर्ने । त्यसपछि दाहिने हातमा जौ, तिल, पानी, फूल, कुश या दुबो र द्रब्य सहित लिएर सङ्कल्प अर्थात् स्थान र समय उच्चारण गर्दै आफ्नो गोत्र नामसहित परिवारको नाम उच्चारण गर्दै सकाम वा निष्काम भावले संकल्प लिनु पर्दछ ।

त्यसपछि अर्घस्थापना गरी विघ्नहर्ता गणेश भगवानको ध्यान तथा आवाहनसहित ॐ गंगणपतयेनम: भन्दै सबै उपचारले पूजा गरिसके पछि धुप, दीप, फल, प्रसाद, दक्षिणा गर्दै गणेशजीको पूजा गर्ने र इशान कोणमा रहेको वरुण कलशमा सम्पूर्ण ब्रह्माण्डका देवी देवताहरूकोआवाहन गरी कलशभित्र आपँ पिपलको पत्ता, पञ्चरत्न । पञ्चपल्लव, दुबो, सुपारी, सर्वोषधि आदि राखेर कलशमाथी पूर्णपात्र राख्ने र पूर्णपात्र माथी नरिवल, सुपारी वा सिङ्गो फल राखेर सबै उपचार (सामग्री)ले पूजा गर्दै धुप, दीप, नैवेद्य, दक्षिणा गर्दै पुष्पाञ्जली अर्पण गर्नु पर्दछ ।

पुन :  बिचमा चोखो माटो वा बालुवा भुइँमा या कुण्डमा राखेर जमरा राख्ने स्थान बनाई तामाको या माटाको घडामा गाईको गोवर लगाई तयार पर्ने, त्यसमा सप्ता धान्य लगाउने परम्परा पनि छ । यहि घडामा नौ दिनसम्म दुर्गा भवानीको मूर्ति वा प्रतिमा स्थापित गरि प्रत्येक दिन भिन्न स्वरूपको पूजा गरिन्छ । पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजा गरिन्छ ।

प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी । तृतीयं चन्द्रघण्टेति कूष्माण्डेति। चतुर्थकम् ।।

पंचमं स्कन्दमातेति षष्ठं कात्यायनीति च । सप्तमं कालरात्रीति।महागौरीति चाष्टमम्।।

नवमं सिद्धिदात्री च नवदुर्गास् प्रकीर्तितास् ।

दुर्गाजीको प्रतिमा वा मुर्ति बिचको घडामा राख्ने र दुर्गाजीको विशेष पूजनको लागि हातमा रातो फूल रातो अक्षता लिएर ध्यान गर्दै

खड्‌गं चक्र -गदेषु- चाप-परिघाञ्छूलं भुशुण्डीं शिरस् ।

शंखं संदधतीं करौस्त्रिनयनां सर्वाड्गभूषावृताम्  ॥

नीलाश्म-द्युतिमास्य-पाददशकां सेवे महाकालिकां ।

यामस्तौत्स्वपिते हरौ कमलजो हन्तुंडमधुं कैटभम् ॥

यो मात्र सहित दुर्गाजीलाई रातो फूल अक्षता सहितले आवाहन गर्ने र कुशको आसन राखिदिने ।आफ्नो गच्छे अनुसार श्रद्धा एवं भक्तिले ॐ दुर्गादेव्यै नम:  भन्दै पाद्यजल, अर्घजल, आचमनीजल, दुध, दही, घ्यू, मह, चिनी तथा पञ्चामृतले स्नान गराउनु पर्दछ तत्पश्चात् शुद्ध जलले स्नान गराई दुर्गाजीलाई चन्दन, टिका, रोली, सिन्दुर, अक्षता, वस्त्र आदि चढाउनु पर्दछ । तत्पश्चात जौ, तिल, फूल, माला, दुबो, बेलपत्र सहित सम्पूर्ण उपलब्ध उपचारले पूजा गर्दै दुर्गाजीलाई ॐ दुं दुर्गादेव्यै नम :  भन्दै अङ्ग पूजनगरि धूप, दिप, नैवेद्य, फलफूल, पान, सुपारी, नरिवल, द्रव्य दक्षिणा अर्पण गर्नु पर्दछ । दुर्गाजीलाई शोडषोपचारको क्रम (आवाहनम्, आसनम्, पाद्यम्, अर्ध्यम्, आचमनीयम्, स्नानम्, यज्ञोपवीतम्, वस्त्रम्, अक्षता, पुष्पाणि, धूपम्, दीपम्, नैवेध्यम्, दक्षिणा, पुष्पांजलि र प्रदक्षिणा) ले पनि पूजा गर्न सकिन्छ । त्यसपछि आफ्नो कूल तथा परम्परा अनुसार जमरा राख्ने भिन्न-भिन्न तरिका भएपनि बालुवा मिश्रित चोखो माटोमा जमरा राखेर जमराको पूजा गर्नु पर्दछ ।

यन्ती मंगला काली भद्रकाली कपालिनी ।

दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोस्तु ते ।।

यही मन्त्रद्वारा जयन्ती अर्थात् जमराको पूजा गर्नु, तत्पश्चात् कन्या पूजागरी सम्पूर्ण उपस्थित भक्तहरुले नवदुर्गा भवानीको निराजन आरति सङ्ख, घण्ट सहित श्रद्धा एवं भक्तिले गर्नुपर्दछ । तत्पश्चात् सम्पूर्ण उपस्थित भक्तहरूले दुर्गाजीको निराजन आरति शङ्ख घण्ट सहित श्रद्धा एवं भक्तिले गर्नुपर्दछ पुन: पुष्पाञ्जली गरेर आरतीलाई सितल गरि सबैजनाले आरती लिनु पर्दछ र आफ्नो मनोकामना पूर्ण होस भनि दुर्गाभवानीलाई साष्टाङ्ग प्रणाम गरि आशिर्वाद लिई प्रसाद ग्रहण गर्नु पर्दछ ।

यसै क्रमले प्रत्येक दिनयहीक्रमले पुजन गर्दै विजया दशमीको दिन दुर्गा पूजा विसर्जन गरि प्रसाद स्वरूप टिका र जमरा ग्रहण गर्नु पर्दछ । अस्तु ।।

(पण्डित नारायणप्रसाद दुलाल ज्योतिषाचार्य र वास्तुविद् हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?