+
+

काठमाडौं उपत्यकासहित पूर्वी र मध्य क्षेत्रमा वर्षा

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १७ गते ६:४९

१७ असोज, काठमाडौं । सुदूरपश्चिमका जिल्लाबाट मनसुन बाहिरिने तरखरमा रहेका बेला पूर्वी र मध्य क्षेत्रमा भने वर्षा भइरहेको छ ।

आज बिहानैदेखि कोशी प्रदेशका पूर्वी भाग, काठमाडौं उपत्यका र आसपासका जिल्लामा वर्षा भइरहेको छ ।

वर्षा मध्यमदेखि भारी खालको छ । आज दिउँसोतिर वर्षा केही बढ्न सक्ने सम्भावना छ ।

काठमाडौंको उत्तरी भेगमा भारी वर्षा भइरहेको छ । सुन्दरीजलमा तीन घण्टाको अवधिमा ४२ मिलिमिटरसम्म वर्षा मापन भएको छ । त्यहाँ एक घण्टायता भने वर्षा कम भएको छ ।

यसैगरी सिन्धुपाल्चोकको तार्केघ्याङमा पनि भारी वर्षा भएको छ । त्यहाँ एक घण्टाकै अवधिमा २८.४ मिलिमिटर वर्षा भएको छ ।

सुनसरीको तहरा, धनकुटाको त्रिवेणी, झापाको अर्जुनधारा, इलामको सोक्तिम टिस्टेटमा पनि भारी वर्षा मापन भएको छ ।

भारतको उत्तर-पूर्व आसाम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभावले नेपालमा वर्षा गराइरहेको हो । यसको असर आज र भोलिसम्म रहने सम्भावना छ । यद्यपि पानी पार्ने यो प्रणाली पूर्वबाट पश्चिमतिर सर्ने क्रममा क्रमशः कमजोर हुँदै गएको छ ।

असोज १० गतेदेखि १२ गतेसम्म भएको भारी वर्षाले जमिन कमजोर भएको ठाउँमा पनि यो वर्षाले पहिरो जान सक्ने सम्भावना हुने भएकाले सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् । मौसमविदको सुझाव अनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले १५ गते नै सूचना निकालेर १८ गतेसम्म सतर्कता अपनाउन भनेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसा कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा, मधेश प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै कोशी र बाग्मती प्रदेशका एक-दुई स्थानमा भारी बर्षाको पनि सम्भावना छ ।

कोशी प्रदेशका तराई भू-भागका थोरै स्थानहरुमा आज हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तो सम्भावना शुक्रबारसम्मै रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

यद्यपि नेपालको सुदूरपश्चिम क्षेत्रसँग जोडिएको उत्तराखण्ड क्षेत्रबाट मनसुन बाहिरिएको छ । भारतीय मौसम विज्ञान विभागले जारी गरेको नक्सा अनुसार सुदूरपश्चिमका केही जिल्लाबाट पनि मनसुनी वायु हटेर पश्चिमी वायु प्रवेश गरिसकेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?