+
+

हनुमानढोकाको दशैंघरमा राखियो जमरा (तस्वीरहरू)

आर्यन धिमाल आर्यन धिमाल
२०८१ असोज १७ गते १०:०३

१७ असोज, काठमाडौं । काठमाडौंको हनुमानढोकास्थित दशैं घरमा आज घटस्थापना गरिएको छ । बिहान ९ बजेर १६ मिनेटको साइतमा जौको जमरा राखिएको हो ।

सो अवसरमा नेपाली सेनाको एक टोलीले मंगल धुन बजाउनुका साथै हर्ष बढाइँ पनि गरेको थियो ।

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा विधिपूर्वक राखेर घडा वा कलश स्थापना गरी जौ छरिन्छ ।

आज छरिएको जौको अंकुरण (जमरा)लाई दशमीको दिन देवीको प्रसादको रुपमा टीकासँगै ग्रहण गरिन्छ ।

विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो । सूर्योदयकालमा प्रतिपदा भएका दिनमा घटस्थापना गर्नुपर्छ भन्ने शास्त्रीय मान्यता अनुसार आजको दिनलाई घटस्थापना भनी निर्णय गरेको हो ।

नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।

बडादशैंको सातौं दिन धार्मिक विधिअनुसार फूलपाती भित्राइन्छ । महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरुले दशैं घर, कोत र शक्तिपीठमा बलिसहित विशेष पूजा गर्दछन् ।

नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवम् स्तुतिको पाठ गरिन्छ । यस अवसरमा नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवती, भद्रकाली, मैतीदेवी लगायत देशभरका देवी मन्दिर अर्थात् शक्तिपीठमा पूजा आराधना गर्ने दर्शनार्थीको भीड लाग्छ ।

दशैं पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ । दुर्गा पूजा र दशैं पर्व कुनै जात एवम् धर्म विशेषको भनी शास्त्रीय रुपमा प्रमाण नभएको यो मानव मात्रको कल्याणका पक्षमा काम गर्ने शक्तिको प्रतीकका रुपमा मनाउने गरिएको धर्मशास्त्रका जानकारहरु बताउँछन् ।

यस वर्षको दशैंको टीका असोज २६ गते शनिबार परेको छ । विजयादशमीका दिन बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गरेपछि ११ बजेर ३६ मिनेटको शुभ साइतमा मान्यजनबाट प्रसादका रुपमा टीका, जमरा र फूल प्रसाद ग्रहण गरिनेछ ।

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?