+
+

दशैंको पहिलो दिन आज शैलपुत्रीको पूजा

पण्डित नारायणप्रसाद दुलाल पण्डित नारायणप्रसाद दुलाल
२०८१ असोज १७ गते १४:०६

वन्दे वाञ्छितलाभाय चन्द्रार्धकृतशेखराम्।

वृषारुढां शलधरां शैलपुत्री यशस्विनीम्।।

म त्यस यशस्विनी माता शैलपुत्रीलाई वन्दना गर्दछु, जो भक्तहरूलाई मनोवाञ्छित फल प्रदान गर्नुहुन्छ, जसको शिरमा अर्ध चन्द्रमा शोभित छ, जो वृष (साँढे)मा सवार हुनुहुन्छ र हातमा त्रिशूल लिनुभएको यस्ती माता शैलपुत्रीको वन्दना गर्दछु।

घटस्थापनाको पहिलो दिन बडादशैं र नवरात्रको शुभारम्भ हुन्छ, जहाँ देवी दुर्गाको नौ दिनको पूजा विधिवत् रूपमा सुरु हुन्छ। यो दिन विशेष रूपमा कलश स्थापना गरिन्छ, जसलाई देवीको प्रतीक मानिन्छ। घटस्थापना नवरात्रि पर्वको सबैभन्दा महत्त्वपूर्ण भाग हो। नवरात्रको पहिलो दिन “शैलपुत्री”को पूजा गरिन्छ। देवी दुर्गा, आफ्नो प्रथम स्वरूपमा “शैलपुत्री” नामले विख्यात हुनुहुन्छ।

शैलपुत्री देवी पार्वतीको पहिलो रूप हो, र “शैल” को अर्थ पहाड, जसकारण उनलाई पहाडकी छोरी भनिएको छ। पर्वतराज हिमालयको घरमा पुत्रीको स्वरूपमा जन्म लिएको कारण शैलपुत्री नाम रहन गएको मानिन्छ। शैलपुत्री शब्द दुई वटा शब्दबाट बनेको छ, पहिलो शैल र दोस्रो पुत्री मिलेर शैलपुत्री शब्द निर्माण भएको हो। हिमालय राजा शैलकी पुत्री शैलपुत्री मस्तकमा अर्ध चन्द्र, नाना आभूषण, मुकुट इत्यादि धारण गरेकी एवं अत्यन्त मनोहर स्वरूपमा सजिएकी देवीको वाहन वृष अर्थात् साँढे हो। आफ्नो दायाँ हातमा त्रिशूल तथा बायाँ हातमा पद्म धारण गर्नुहुन्छ। नाना प्रकारका अलङ्कार तथा उत्तम वस्त्र धारण गरेकी देवी सुन्दर कन्या जस्तै देखिनुहुन्छ।

ब्रह्माजीको प्रार्थना स्वीकार गर्दै, देवीले पूर्वजन्ममा ब्रह्मा पुत्र दक्षको घर सती रूपले जन्म लिनुभएको थियो। जगत् जननी माताले देवताहरू तथा ब्रह्माजीको प्रार्थना अनुसार हिमालय राजाका कन्याको रूपमा जन्म लिनुभयो, शैल या हिमालयकी पुत्री भएको कारण आद्यशक्तिलाई शैलपुत्री नाम प्राप्त भयो र पछि पार्वतीको नामले प्रसिद्ध हुनुभयो।

घटस्थापना नवरात्रको मुख्य आधार हो, जसले भक्तजनलाई नौ दिनसम्म देवीको आराधना र शक्तिको पूजन गर्न प्रेरित गर्छ। नवरात्रको पहिलो दिन अर्थात् आश्विन शुक्ल प्रतिपदाको दिनको पूजा देवी दुर्गाको शक्ति, साहस, शान्ति र मातृत्वको प्रतीकको रूपमा गरिन्छ र उनको पूजा गर्दा व्यक्ति साहस, धैर्य र आत्मबलको विकास गर्ने विश्वास छ। शैलपुत्रीको आराधना गर्नाले धन, धान्य, सौभाग्य, आरोग्य, मोक्ष तथा सबै प्रकारको मनोकामना पूर्ण हुने जनविश्वास रहेको छ। शैलपुत्रीलाई श्रद्धाभक्तिले गरिएको सबै प्रकारको पूजा, फलफूल, पकवान्न एवं पुष्पहरू प्रिय छ। शैलपुत्रीलाई पहेंलो फूल चढाउँदा बढी राम्रो मानिन्छ।

शैलापुत्रीको पूजा वा जप गर्दा ‘ॐ ऐं ह्रीं क्लीं शैलपुत्र्यै नम:’ यो मन्त्र प्रयोग गरियो भने बढी प्रभावकारी हुन्छ। शैलपुत्रीलाई वैज्ञानिक दृष्टिले सम्पूर्ण शक्तिको सम्भावनाको रूपमा मानिन्छ। नवदुर्गाको पहिलो स्वरुप शैलपुत्रीको पूजाले सम्पूर्ण भक्तहरूको जीवनमा नयाँ सुरुआतको लागि शक्ति, साहस, सहजता र शान्तिको आशीर्वाद प्राप्त गर्न सकून्। अस्तु !

(दुलाल ज्योतिषाचार्य तथा वास्तुविद् हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?