+
+

सन्तान विदेशमा रहेका अभिभावकमा ‘भावनात्मक एक्लोपन’

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १७ गते १४:१३

१७ असोज, काठमाडौं । विदेशमा सन्तान रहेका जेष्ठ नागरिक अभिभावकमा भावनात्मक एक्लोपना देखिन थालेको काठमाडौं महानगरले जनाएको छ । महानगरले गरेको एक सर्वेक्षणले छोराछोरी भएका ज्येष्ठ नागरिकमा भावनात्मक रुपमा एक्लोपना पाइएको हो ।

महानगर अनुसन्धान शोधवृत्ति (मेट्रोपोलिटन रिसर्च फेलोसिप (एमआरएफ) को तेस्रो संस्करणमा ‘ज्येष्ठ नागरिकहरुको मानसिक स्वास्थ्यका लागि महानगरपालिकाको जिम्मेवारी’ विषयमा प्रल्हाद अधिकारीले गरेका  अध्ययनले यस्तो अवस्था देखाएको हो । विनिता अधिकारी अध्ययनको सुपरीवेक्षक थिए ।

अध्ययन अनुसार २१.७ प्रतिशत व्यक्तिमा गम्भीर र धेरै गम्भीर भावनात्मक एक्लोपना भएको पाइएको छ । महानगरपालिकाको सर्वेक्षणमा ६२.३ प्रतिशतमा मध्यम खालको एक्लोपना देखिएको हो । यस्तै  १५ प्रतिशतमा कुनै पनि खालको भावनात्मक एक्लोपना नदेखिएको सर्वेक्षणमा देखिएको छ ।

यस्तै सामाजिक एक्लोपनाका कोणबाट ४८ प्रतिशतमा उच्च एक्लोपना, २८.३ प्रतिशतमा मध्यम र २३.७ प्रतिशतमा शून्य देखिएको छ । हेरचाह, जीवन व्यवस्थापन, सुविधाको पहुँच, सामाजिकीकरण, शारीरिक गतिविधि, सही सूचनामा पहुँच जस्ता पक्षमा नेपालमा रहेको अभिभावकहरुले  हीनता बोध गरेका हुन् । यसैकारण उनीहरुमा एक्लोपना र निराशा देखिएको अध्ययनले देखाएको छ ।

छोराछोरी विदेशिएका ज्येष्ठ नागरिकको मानसिक स्वास्थ्य (एक्लोपना र डिप्रेसन) को स्तर थाहा पाउन र अवस्था सुधार गर्न महानगरपालिकालाई सुझाव दिन अध्ययन गरिएको थियो । सर्वेक्षणमा महानगरपालिकाभित्र बसोबास गर्ने ५८ वर्ष उमेर पूरा भएका, सवै वडा समेटिने गरी ५०९ जना ज्येष्ठ नागरिकलाई सहभागी गराइएको थियो ।

सहभागीमध्ये ६१ जनाले सोधिएका सबै प्रश्नहरुको जवाफ दिन चाहेनन् । यसकारण उनीहरुले दिएका जवाफहरुलाई तथ्यांक विश्लेषणमा राखिएन । उनीहरुमध्ये १३५ जनालाई उपनाम राखेर सहभागी गराइएको थियो । ५२ जनासँग कुराकानी गरिएको थियो ।

अध्ययनमा २०४ जना महिला र २४४ पुरुष गरी ४४८ जना ज्येष्ठ नागरिकको जवाफलाई तथ्यांक मानेर १८ जना विषयविज्ञबाट विश्लेषण गरिएको महानगरले जनाएको छ ।

सर्वेक्षणमा सहभागी मध्ये ४४.०९ प्रतिशतका एकजना बच्चा विदेश गएका थिए । ३५.३ प्रतिशतका २ जना, ९.६ जनाका ३ जना १.१ प्रतिशतका ४ वा त्यसभन्दा धेरै छोराछोरी विदेश थिए । अधिकांशका छोराछोरी अमेरिका, अष्ट्रेलिया, क्यानडा, दुबई र जापान जस्ता विकसित देशहरूमा थिए ।

उनीहरुसँग ३४.६ प्रतिशतका छोराछोरीले दैनिक कुराकानी गर्छन् । ३०.८ प्रतिशतले हप्तामा दुई वा तीन पटक, १९.६ प्रतिशतले हप्तामा एक पटक र  ३.८ प्रतिशतले महिनामा एक पटक कुराकानी गर्ने गरेका छन् । १.६ प्रतिशतले कुराकानी नै नगरेको पाइएको छ ।

सर्वेक्षणअनुसार आधा भन्दा बढी ५१.६ प्रतिशतले विदेशी राष्ट्रहरू भ्रमण गरेका छन् ।  ५२.७ प्रतिशतले आफ्ना छोराछोरी फर्केर स्वदेश आउँछन् भन्ने कुरामा विश्वास गरेका छैनन् । ९४ प्रतिशतले आफूलाई सहयोग गर्ने सहयोगी राखेका छैनन् । ३९.३ प्रतिशतलाई छिमेकीहरुले साप्ताहिक रुपमा भेट्ने गरेका छन् ।

सर्वेक्षणमा सहभागीमध्ये २५.५ प्रतिशतले आफू बलियो भएको र ७.९ प्रतिशतले कमजोर रहेको जवाफ दिए । ६ प्रतिशतले आफ्नो नजिक शंकास्पद व्यक्ति रहको महसुस गरे ।  ६.५ प्रतिशतले आफूलाई अपरिचित र शंकास्पद व्यक्तिले निगरानी गरिरहेको महसुस भएको सुनाए ।  २०.५ प्रतिशतले आफू विरामी भएकोले आफूलाई हेरचाह गर्न नजिकको मान्छे चाहिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?