+

मोबाइलको निलो प्रकाशले गर्छ छालामा असर

२०८१ असोज  १७ गते १६:३२ २०८१ असोज १७ गते १६:३२
मोबाइलको निलो प्रकाशले गर्छ छालामा असर

छालासम्बन्धी समस्या लिएर आउनेहरुमा घाममा समय कति बिताउनुहुन्छ ? के-कस्ता प्रोडक्ट अनुहारमा लगाउनुहुन्छ ? भन्ने प्रश्न सोध्ने गरिन्छ । आजभोलि यो प्रश्नको सूचीमा अर्को प्रश्न पनि थपिएको छ । त्यो हो ‘स्क्रिनमा कति घण्टा समय बिताउनुहुन्छ ?

यो प्रश्न झट्ट सुन्दा धेरैले अचम्म मान्दै प्रश्नमाथि अर्को प्रश्न गर्दै छालाको समस्या र स्क्रिन टाइमबीच के सम्बन्ध छ भन्ने गर्छन् ?

के छ त सम्बन्ध ?

ल्यापटप, मोबाइल फोन र बत्तीहरुबाट निस्कने निलो प्रकाशले छालामा प्रत्यक्ष अप्रत्यक्ष रूपमा असर गरिरहेको हुन्छ । निलो प्रकाश भनेको आँखाले देख्न सक्ने विभिन्न रङको प्रकाशमध्ये एक हो, जुन सूर्यको विकिरण यूभीए र यूभीबीसँग मिल्दोजुल्दो हुन्छ । तर यी दुईभन्दा यो कम खतरनाक मानिन्छ ।

कम खतरनाक भन्नुको अर्थ विद्युतीय उपकरणबाट कमै मात्रामा निलो प्रकाश निस्कन्छ । तर विद्युतीय उपकरणमा बच्चादेखि वृद्धसम्म अभ्यस्त छन् । दिनप्रतिदिन यसका प्रयोगकर्ता र प्रयोग गर्ने समय बढिरहेको छ ।

यस्तोमा कम विकिरण निस्कने भए पनि लगातार सम्पर्कमा रही समय बिताउँदा असर पक्कै गर्छ । त्यसैले घाममा निस्कन छाड्ने वा सनस्क्रिन लगाएर पनि छालामा समस्या छ भने निलो प्रकाशलाई पनि एक कारकको रूपमा लिन सकिन्छ ।

छालालाई कसरी असर गर्छ ?

निलो प्रकाशले छालामा हुने मेलानिनको उत्पादनमा वृद्धि ल्याउँछ । मेलानिनले छालालाई प्राकृतिक रूपमा रङ दिन्छ । निलो प्रकाशमा बसेर मेलानिन बढेर छालामा कालो धब्बा वा चायापोतो बस्न सक्छ । विशेषगरी गाढा रङ भएकाहरुमा मेलानिनको बढी प्रभावले छाला थप कालो देखाउन सक्छ ।

यो प्रकाशले छालाको संरचना बढाउने कोलाइजनलाई पनि हानि पार्छ । एक सेन्टिमिटरको दूरीमा उपकरण राखेर हेर्ने बानीले समस्या थप बढाउँछ । पछिल्लो समय भएका अध्ययनहरूले पनि लामो समयसम्म निलो प्रकाशको नजिक रहँदा स्किन कोषलाई क्षति पार्ने, छालाको काममा दखल पार्ने, अनुहारलाई चमकदार र जवान बनाउने कोलाजन र इलास्टिनलाई टुक्राउने गर्छ ।

यी दुई तत्व टुक्रिन सुरु गरेमा छाला झोलिने, उमेरअगावै चाउरी पर्ने जस्ता समस्या ल्याउन सक्छ ।

निद्रामा दखल पारेर छालालाई प्रभावित

मध्यरातसम्म नसुतेर मोबाइल, ल्यापटप, टिभी जस्तो उपकरण चलाइरहने बानी छ भने यसले रातको निद्रासँगै छालामा पनि समस्या गराउँछ ।

यसको पछाडिको कारण भनेको निलो प्रकाशले निद्राको हर्मोन मेलाटोनिनलाई दबाइदिन्छ । जसकारण निद्राको चक्रलाई बाधा पुर्‍याउन सक्छ । अनिद्राले बिस्तारै बिस्तारै कोलाइजेनको कार्यमा प्रभावित पारी डार्क सर्कल ल्याउने, छाला पातलो बनाउने र बुढ्यौलीको सङ्केत देखाउन थाल्छ । छालाको समस्या मात्र नभई शरीरमा आल्यस्यता ल्याउने र मस्तिष्कको कार्य पनि यसले प्रभावित पार्छ ।

सबैभन्दा बढी आँखामा असर  

रेटिनाहरु निलो प्रकाशका लागि बढी संवेदनशील हुन्छन् । आँखाले निलो प्रकाशबाट आउने हानिकारक किरणलाई रोक्न नसक्दा आँखाको कोर्निया पार गरी भित्र पसेर रेटिनाको कोषिकाहरूलाई क्षति पुर्‍याएर रेटिनामा आक्रमण गर्दा रेटिना कोषहरूमा असर पार्छ ।

स्क्रिनबाट उत्सर्जित निलो प्रकाशको मात्रा बढी भएमा आँखाको केन्द्रित गर्ने सेन्सिटिभिटी कम गर्छ, जसले आँखामा तनाव उत्पन्न गर्छ ।

स्क्रिनमा आफ्नो काममा व्यस्त हुँदा मानिसले आँखा कम झिम्क्याउने र आँखा सुक्खा हुने र पोल्ने लक्षण देखिन्छ । लामो समयसम्म स्क्रिन अगाडि बसिरहने व्यक्तिमा टाउको दुख्ने, दृष्टि धमिलो हुने, घाँटी र काँधमा दुख्ने समस्या देखिएको छ ।

बेलायतको ‘दी न्यु इङ्ल्याण्ड जर्नल अफ मेडिसिन’को रिपोर्टअनुसार बत्ती निभाई स्मार्टफोन, टिभी, कम्प्युटरको स्क्रिन लामो समयसम्म हेरिरहँदा त्यसले आँखाको ज्योति विस्तारै कम गराउँदै अन्धोपनसम्मको समस्या निम्त्याउँछ ।

रिपोर्टले ती विद्युतीय सामग्रीबाट निस्कने निलो प्रकाशले आँखालाई सुक्खा गराई रेटिनामा असर पुर्‍याएको र यो कार्य वर्षौंसम्म रहँदा दुई जनाको ज्योति गुमेको उदाहरण दिएको छ ।

कसरी बच्ने ?

– स्क्रिन टाइम घटाउने

– स-साना बालबालिकालाई स्क्रिन टाइममा अभ्यस्त नगराउने

– अफिसमा काम गर्दा होस् वा घरभित्र काम गर्दा सनस्क्रिन लगाएर मात्र बस्ने

– आजभोलि निलो प्रकाशको विकिरणबाट छालालाई जोगाउने जिंकअक्साइड, टिटानियम डाइअक्साइड र आइरन अक्साइडयुक्त सनस्क्रिन बजारमा उपलब्ध छ । जुन चिकित्सकको सिफारिसमा लगाउन सकिन्छ ।

– आँखालाई ढाक्ने विकिरणबाट बच्ने चस्मा लगाउने, स्क्रिन हेर्दा २०-२० मिनेटमा आँखा झिम्काउने ।

छालारोग डा. उमा केयाल मोबाइल स्क्रिन टाइम

धेरै कमेन्ट गरिएका

डा. उमा केयल
लेखक
डा. उमा केयल
छाला तथा यौनरोग विशेषज्ञ

डा. केयल हाल ललितपुरस्थित डर्म डायनायमिक स्किन, हेयर एण्ड लेजर क्लिनिकमा कार्यरत छिन्। डर्माटोलोजीमा एमडी र पीएचडी समेत गरेकी उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ९८६७ रहेको छ। उनको बोटक्स र लेजर उपचारमा पनि विशेषज्ञता छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

मुख स्वास्थ्य र आयुबीच कस्तो सम्बन्ध छ ?

मुख स्वास्थ्य र आयुबीच कस्तो सम्बन्ध छ ?

गर्भवतीले यात्रा गर्दा के जोखिम हुनसक्छ ?

गर्भवतीले यात्रा गर्दा के जोखिम हुनसक्छ ?

स्तनमा आउने ‘फाइब्रोसिस्टिक सिस्ट’ क्यान्सर हुँदैन

स्तनमा आउने ‘फाइब्रोसिस्टिक सिस्ट’ क्यान्सर हुँदैन

क्यान्सरको उपचारमा कुन-कुन औषधि र थेरापी ?

क्यान्सरको उपचारमा कुन-कुन औषधि र थेरापी ?

अनुहारको चायापोतो पूरै हटाउन सकिन्छ ? (भिडियो)

अनुहारको चायापोतो पूरै हटाउन सकिन्छ ? (भिडियो)

सरकारी अस्पतालको अतिरिक्त सेवा के हो, कति लाग्छ शुल्क ?

सरकारी अस्पतालको अतिरिक्त सेवा के हो, कति लाग्छ शुल्क ?