+

बालबालिकाको आँखाको ख्याल कसरी गर्ने ?

२०८१ असोज  १८ गते ११:२५ २०८१ असोज १८ गते ११:२५
बालबालिकाको आँखाको ख्याल कसरी गर्ने ?

धेरै इच्छा र आकांक्षाका साथ आमाबाबुले सन्तान जन्माउँछन् । तिनको पालनपोषण, शिक्षादीक्षा र स्वास्थ्यमा आफ्नो जीवनभरि कमाएको स्रोत खर्च गर्छन् । सबैको एउटै सपना र आशा हुन्छ- यी सन्तानले पछि आफ्नो बुढेसकालमा आँखा भएर संसार घुमाऊन् ।

तर सोच्नुहोस्, यदि कुनै कारणले गर्दा बालबालिकाको आँखाको ज्योति विकास नियमित रूपमा नभएर दृष्टि क्षीण भयो वा उनीहरूले देख्न सकेनन् भने के हुन्छ ? यस्तो अवस्थामा त्यो बच्चालाई परिवार र समाजले जिम्मेवारीको रूपमा हेर्न थाल्छन् । यद्यपि, दृष्टि नभएका वा कम देख्ने व्यक्तिले पनि समाज र राष्ट्रको लागि केही गर्न सक्छन् । यद्यपि हाम्रो समाजमा भने तिनलाई सहानुभूतिका रूपमा मात्रै हेरिन्छ, साधारण व्यक्तिको रूपमा व्यवहार गरिएको पाइँदैन ।

हाल विश्वमा अनुमानित दुई अर्ब बालबालिका छन्, जसमा १४ लाख पूर्णरूपमा दृष्टिविहीन छन् र लगभग एक करोड ७५ लाख बालबालिका दृष्टिविहीन हुने जोखिममा छन् । यस्ता बालबालिकालाई समयमै आँखा स्वास्थ्य सेवा उपलब्ध गराएमा दृष्टिविहीन हुनबाट जोगाउन सकिन्छ । नेपालमा लगभग एक करोड २० लाख बालबालिका छन्, जसमा करिब ८ हजारदेखि १० हजार बालबालिका पूर्णरूपमा दृष्टिविहीन छन् र त्यस्तै लगभग दोब्बर संख्याका बालबालिका न्यून दृष्टि भएका कारण नियमित अध्ययनबाट विमुख भएका छन् ।

एक वयस्क व्यक्तिले दृष्टि गुमाउनु र एक बालकले दृष्टि गुमाउँदा समाज र राष्ट्रलाई धेरै क्षति बेहोर्नुपर्छ । उदाहरणका लागि यदि ६० वर्षको व्यक्तिले दृष्टि गुमाउँछ र त्यस राष्ट्रको औसत आयु ७० हो भने उक्त व्यक्तिको आर्थिक तथा सामाजिक क्रियाकलापलाई १० वर्षसम्म असर गर्छ । तर यदि कुनै बालक वा बालिकाले पाँच वर्षको उमेरमा आँखा गुमायो भने त्यसले ६५ वर्षसम्म उसको उत्पादनशीलतालाई प्रभावित गर्छ । धेरै आँखा रोग समयमै उपचार गरिएमा बालबालिकाको दृष्टि पूर्णरूपमा फर्काउन सकिन्छ । त्यसैले आँखा स्वास्थ्यलाई परिवार, समाज, र राष्ट्रले उच्च प्राथमिकतामा राख्न आवश्यक छ ।

बालबालिकाको आँखा स्वास्थ्य सेवा सरल छैन, बरु चुनौतीपूर्ण छ । बालबालिकाले आफैंले समस्याबारे अभिभावक वा चिकित्सकलाई भन्न सक्दैनन् र प्राय: रोगको पहिचान ढिलो हुन्छ । दृष्टि विकासको क्रम जन्मपछि सुरु हुन्छ र लगभग ७-८ वर्षसम्म जारी रहन्छ । यस अवधिमा आँखामा रहेका अवरोधहरूलाई उपचार गर्न आवश्यक हुन्छ, अन्यथापछि उपचार जटिल र कम प्रभावकारी हुनसक्छ । अभिभावकले आफ्ना बालबालिकाको बानी र विकासमा नियमित ध्यान दिनु जरुरी छ । साथै स्कुल जानुअघि अनिवार्य आँखाको परीक्षण गराउनुपर्छ ।

बाल आँखा समस्या विभिन्न प्रकारका हुन्छन्, दृष्टिदोष, आलस्य आँखा, मोतीबिन्दु, जलबिन्दु र रेटिनोपेथी अफ प्रिमेच्युरिटी ।

यी रोगका लक्षण

दृष्टिदोष

बालबालिकामा देखिने प्रमुख आँखा समस्या दृष्टिदोष हो । समयमै यस दोषको पहिचान भएन भने शारीरिक र मानसिक विकासमा अवरोध आउन सक्छ । बच्चाले आमाको अनुहार नचिन्ने, खेलौनामा रुचि नदेखाउने, टिभी वा मोबाइल नजिकै हेर्ने र विद्यालयमा पाटीमा लेखेको नदेख्ने लक्षण देखिएमा बालबालिकामा दृष्टि दोष हुनसक्छ । यस अवस्थामा चश्मा लगाएर सजिलै उपचार गर्न सकिन्छ । तर उपचार ढिलो भयो भने बच्चामा आलस्य आँखा बन्न सक्छ, जसको उपचारमा बढी समय र पैसा खर्च हुन्छ । त्यसैले बालबालिकामा दृष्टिदोष देखिएमा ढिलो नगरी अस्पताल जानुपर्छ ।

टेढो आँखा आलस्य आँखा

हाम्रो नेपाली समाजमा बालबालिकाको आँखा टेढो भए बच्चा भाग्यमानी हुन्छ भन्ने अन्धविश्वास छ । टेढो आँखा हुनुका विभिन्न कारण हुन सक्छन् । टेढो आँखा हुनुको गम्भीर कारण भनेको मस्तिष्कमा कुनै समस्या हुनु हो । त्यसैले टेढो आँखा भएको बच्चालाई हेलचेक्र्याइँ नगरीकन अस्पताल पुर्‍याउनु अभिभावकको कर्तव्य हो । तपाईंको एउटा गल्तीले बच्चाको आँखा र ज्यान दुवै जोखिममा पर्न सक्छ । जे जस्तो कारणले पनि टेढो आँखा भएको होस्, यसको समयमै उपचार गर्न आवश्यक छ । ढिलो गरिएमा टेढो आँखाको दृष्टि सही रूपमा विकास हुन सक्दैन र उक्त आँखाले नियमित दृष्टि प्राप्त गर्न सक्दैन ।

त्यस्तै, यदि दृष्टि विकास नियमित रूपमा भएन भने मस्तिष्कले उक्त आँखाबाट आएको आकृति बुझ्दैन र आँखाको दृष्टि कम हुन्छ । यस्तो अवस्थालाई आलस्य आँखा भनिन्छ । आलस्य आँखा हुने कारणहरू उपचार नगरिएको दृष्टि दोष, टेढो आँखा र मोतीबिन्दु हुन् । यी सबै अवस्थामा समयमै उपचार भए पूर्ण दृष्टि पुनर्स्थापना सम्भव छ ।

मोतीबिन्दु

प्रत्येक १० हजार बालबालिकामध्ये ३-४ जनामा मोतीबिन्दुको समस्या हुने सम्भावना हुन्छ । आमा गर्भावस्थामा संक्रमण, पौष्टिक आहारको कमी, धुम्रपान वा केही अनुवांशिक कारणले बच्चामा जन्मजात मोतीबिन्दु हुने सम्भावना बढ्छ । मोतीबिन्दुमा बच्चाको आँखामा वस्तु ठम्याउन समस्या हुनु, आँखा हल्लिनु, र आँखाको नानी सेतो देखिनु प्रमुख लक्षण हुन् । समयमै शल्यक्रिया गरेर मोतीबिन्दुको उपचार गरेमा दृष्टि पुनर्स्थापना सहजै गर्न सकिन्छ । ढिलो भएमा उपचार जटिल हुन सक्छ र यसको प्रभावकारिता कम हुन सक्छ ।

जलबिन्दु

बच्चामा देखिने जटिल रोगमध्ये जन्मजात जलबिन्दु पनि एक हो । आँखा एउटा बलुन जस्तै हो, जसमा तरल पदार्थ भरिएको हुन्छ । यस तरल पदार्थको निकासको प्रणालीमा अवरोध आएमा जलबिन्दु हुन्छ । जलबिन्दु भएका बच्चामा आँखाको नानी ठूलो देखिनु, आँखाबाट पानी आइरहनु र आँखाको हल्लिने लक्षणहरू देखिन्छन् । यस्तो अवस्थामा चाँडोभन्दा चाँडो उपचार गरियो भने बच्चालाई जीवनभरको अपाङ्गता हुनबाट जोगाउन सकिन्छ ।

रेटिनोपेथी अफ प्रिमेच्युरिटी

३६ हप्ताभन्दा अगाडि जन्मिएका बच्चालाई प्रि-टर्म भनिन्छ । यस्ता बच्चा जसको तौल १.५ किलोभन्दा कम हुन्छ र जसलाई कृत्रिम श्वासप्रश्वासको सहारा दिन उच्च प्रवाहमा अक्सिजनको प्रयोग गरिन्छ । तिनमा रेटिनोपेथीको समस्या हुनसक्छ । यस्तो जोखिममा रहेका बच्चालाई यथाशीघ्र बाल रेटिना रोग विशेषज्ञसँग देखाएर उपचार गराउनु आवश्यक छ ।

अन्य रोग वा अवस्था

यसबाहेक बाल आँखासम्बन्धी अन्य कम जटिल तर बढी देखिने रोगहरूमा नेत्रनली बन्द भएर एक आँखाबाट निरन्तर आँसु आउनु र आँखाको एलर्जी प्रमुख हुन् । नेत्रनली बन्द भएर पानी आइरहने अवस्थामा नियमित आँखा र नाकको बीचमा मालिस गर्दा नली खुल्न सक्छ । यदि स्थिति सुधार भएन भने अस्पतालमा उपचार गराउनु आवश्यक छ । बाल आँखाका रोगमध्ये आँखा एलर्जी प्रमुख हो । आँखा रातो हुनु, आँखा चिलाउनु, र सेतो भाग पहेंलो हुँदै जानु प्रमुख छन् । धुलो, धुवाँ र घामबाट आँखा बचाउन सकिएमा यो रोग कम गर्न सकिन्छ । औषधिको प्रयोग चिकित्सकको सल्लाह विना गर्नु हुँदैन, किनकि अत्यधिक औषधिले नकारात्मक असर गर्न सक्छ ।

हिजोआजको डिजिटल युगमा बालबालिकामा मोबाइलको अत्यधिक प्रयोगले आँखासम्बन्धी विभिन्न समस्या निम्त्याइरहेको छ । अत्यधिक मोबाइल प्रयोगले निकट दृष्टिको समस्या, आँखा र टाउको दुखाइ र आँखाको मांसपेशी थाक्ने समस्या देखा पर्छ ।

सारांशमा, अभिभावक र बालबालिकाले केही कुरामा ध्यान दिए बाल आँखाको स्वास्थ्य जोगाउन सकिन्छ ।

– गर्भावस्थामा पौष्टिक आहारको सेवन गर्ने, धुम्रपान र मद्यपानबाट टाढा बस्ने र चिकित्सकको  सल्लाहअनुसार औषधि सेवन गर्ने ।

– समय अगाडि जन्मिएका बच्चा वा तौल १.५ किलोभन्दा कम भएका बच्चालाई जन्मपछि आँखा जाँच गराउने ।

– बच्चा ६-७ वर्षसम्मको उमेरमा समग्र विकास र दृष्टि विकासमा ध्यान दिने ।

– माथि उल्लिखित कुनै पनि लक्षण देखा परेमा तुरुन्त आँखा अस्पतालमा उपचार गराउने ।

– बालबालिकालाई मोबाइलको प्रयोग कम गराउने ।

आँखा नेत्ररोग बालबालिका

धेरै कमेन्ट गरिएका

अजितकुमार ठाकुर
लेखक
अजितकुमार ठाकुर
दृष्टि विशेषज्ञ

ठाकुर झापा बिर्तामोडस्थित दृष्टि आँखा अस्पतालमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

तनावले पनि निम्त्याउँछ मुटुमा जोखिम ?

तनावले पनि निम्त्याउँछ मुटुमा जोखिम ?

कस्तो अवस्थामा खतरनाक हुनसक्छ एन्टिबायोटिक ?

कस्तो अवस्थामा खतरनाक हुनसक्छ एन्टिबायोटिक ?

मुख स्वास्थ्य र आयुबीच कस्तो सम्बन्ध छ ?

मुख स्वास्थ्य र आयुबीच कस्तो सम्बन्ध छ ?

गर्भवतीले यात्रा गर्दा के जोखिम हुनसक्छ ?

गर्भवतीले यात्रा गर्दा के जोखिम हुनसक्छ ?

स्तनमा आउने ‘फाइब्रोसिस्टिक सिस्ट’ क्यान्सर हुँदैन

स्तनमा आउने ‘फाइब्रोसिस्टिक सिस्ट’ क्यान्सर हुँदैन

क्यान्सरको उपचारमा कुन-कुन औषधि र थेरापी ?

क्यान्सरको उपचारमा कुन-कुन औषधि र थेरापी ?