+
+

पहिरोमा ८ जनाको परिवारै गुमाएका माइला

कपिल कोइराला कपिल कोइराला
२०८१ असोज १७ गते १९:५८
धुलिखेल अस्पतालमा उपचाररत माइला तामाङ ।

१६ असोज, काभ्रे । तेमाल गाउँपालिका–२ काभ्रेका माइला तामाङ धुलिखेल अस्पतालमा उपचाररत छन् । उनको शरीरमा लागेको चोट त निको हुँदैछ, तर मन भने भारी बन्दै गइरहेको छ ।

अविरल वर्षापछि आएको पहिरोमा बुबा, आमा, श्रीमतीसहित परिवारका ८ सदस्य गुमाएका उनी अस्पतालको शय्यामा घरि टोलाउँछन्, घरि भक्कानिन्छन् ।

भन्छन्, ‘परिवार त बचाउन सकिन सकिन, किरिया पनि गर्न नसक्ने अवस्थामा भएँ ।’

गत असोज १० गते रातिदेखि नै पानी परिरहेको थियो । घर नजिकैको खहरेखोला बढेपछि माइला र उनकी श्रीमती ११ गते आमाबुवा र भाइको परिवार बस्ने मूलघरमा गएका थिए । मूलघर अलिमाथि डाँडामा थियो । त्यहाँ त सुरक्षित भइएला भन्ने उनको आशा थियो ।

दिउँसो ११ बजेतिर सबैजना घरमै थिए । माइलाका बुबा (सानु तामाङ) घरभित्र झ्याल नजिकै पलङमा थिए, आमा झिरमाया, श्रीमती, बुहारी र भाइको छोरा पिँढीमा थिए । भाइ मनजित र छोरीहरु टहरामा थिए ।

‘हेर्दाहेर्दै पहिले टहरा बगायो, आँखै अगाडि भाइ र छोरीहरु पहिरोमा पुरिए’, उनले भने, ‘बुबा आमालाई पहिरो आयो भागौं भन्दा भन्दै घरमाथिको आँपको रुखसहित घर बगायो । त्यसपछि केही थाहा भएन ।’

माइला होसमा आउँदा दिउँसो साढे ३ भएको रहेछ । ‘हिलोले कम्मरसम्म पुरिएको र घोप्टो परेको अवस्थामा रहेछु’, उनले सम्झिए, ‘धेरै पटक बोलाउँदा पनि कोही नबोलेपछि सबै पहिरो परे भन्ने लाग्यो ।’

पहिरोले बगाएर तल पुगेका माइला घस्रिदै निस्किए । साँझ ५ बजेतिर माथिबाट छिमेकीले पहिरो गएको देखे । स्थानीय अनिल तामाङ र फुलमान तामाङ आएर उद्धार गरे । उनीहरुले आफ्नो घरमा लगे ।

अर्को दिन नेपाली सेनाको हेलिकप्टरले उद्धार गरेर धुलिखेल अस्पतालमा ल्यायो । उनको शरीरभरि चोट लागेको छ । तिघ्रामा निलडाम छ ।

पहिरोमा पुरिएका उनको बुवा सानु, आमा झिरमाया, श्रीमती कान्छीमाया र भाइ मनजित, भाइबुहारी कान्छी र भाइको छोराको शव भेटिएको छ । मनजितका छोरीहरु अझै फेला परेका छैनन् ।

मृतक ६ जनाको दाहसंस्कार भइसकेको छ माइलाका कान्छा भाइ कमलजित विदेशबाट आएर स्वयम्भुमा किरिया बसेको परिवारले जनाएको छ ।

लेखकको बारेमा
कपिल कोइराला

कोइराला काभ्रेमा रहेर पत्रकारिता गर्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?