+
+

‘गैंडाज्’ र ‘डाँफेज्’जस्ता शब्दलाई स्थापित गर्नुपर्छ : एमाले महासचिव पोखरेल

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १८ गते १०:०९

१८ असोज, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिका भ्रमणका क्रममा भनेका ‘गैंडाज्’ र ‘डाँफेज्’जस्ता शब्दलाई स्थापित गर्न निरन्तर प्रयास गर्नुपर्ने बताएका छन् ।

ज्ञान सिद्धान्त निर्माणमा पश्चिमाकरणको मान्यता मात्र ठिक भन्ने बौद्धिक मत उचित नहुने भन्दै महासचिव पोखरेलले विश्वज्ञान सिद्धान्तको विकासमा एशियाली दृष्टिकोण आवश्यक छ भन्ने सत्यलाई बुझ्नुपर्ने उल्लेख गरेका छन् ।

संयुक्त राष्ट्र संघको ७९ औं महासभामा भाग लिन अमेरिका गएका बेला प्रधानमन्त्री ओलीले कोलम्बिया विश्वविद्यालयले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा ‘गैंडाज्’ र ‘डाँफेज्’ शब्द प्रयोग गरेका थिए । त्यसपछि सामाजिक सन्जालमा उनलाई ट्रोल बनाइएको थियो ।

यसै सन्दर्भमा शुक्रबार एमाले महासचिव पोखरेलले प्रधानमन्त्रीलाई अंग्रेजी नआएको भनेर उडाउने प्रयास भइरहेको गुनासो सामाजिक सन्जाल फेसबुकमा गरेका छन् ।

तर प्रधानमन्त्री ओलीले केही समय पहिले नेपालमा पनि अंग्रेजी माध्यममा पढ्ने विद्यार्थीहरुलाई सम्बोधन गर्ने क्रममा डाँफे र गैंडालाई अंग्रेजीमा समेत नेपाली नामबाटै सम्बोधन गर्न उचित हुने विषय उठाएको स्मरण पोखरेलले गरेका छन् । त्यसैले ओलीको अमेरिका भ्रमणका सन्दर्भमा प्रयोग गरिएको ‘गैंडाज्’ र ‘डाँफेज्’जस्ता शब्दलाई सोही परिप्रेक्षमा बुझ्नुपर्ने उनले बताएका छन् ।

‘यद्यपि उहाँको त्यो विचारले अहिले नै मान्यता पाइहाल्छ भन्ने होइन । तर ज्ञान सिद्धान्त निर्माणमा पश्चिमाकरणको मान्यता मात्र ठिक भन्ने बौद्धिक मत उचित होइन,’ एमाले महासचिव पोखरेलले फेसबुकमा लेखेका छन्, ‘विश्वज्ञान सिद्धान्तको विकासमा एशियाली दृष्टिकोण आवश्यक छ भन्ने सत्यलाई बुझ्नु पर्दछ र त्यसलाई स्थापित गर्न निरन्तर प्रयास गर्नु पर्दछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?