+
+

‘१२ गाउँ’बारे विराज : नेपाली एक्सन फिल्मलाई केजीएफ, सलार, पठानसँग तुलना नगरौं

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १८ गते १२:०४

काठमाडौं । विराज भट्ट दोस्रो निर्देशकीय फिल्म ‘१२ गाउँ’ लिएर फर्किदैछन् । डेब्यु निर्देशकीय फिल्म ‘साङ्लो’ रिलिजको ४ वर्षपछि उनको पछिल्लो फिल्म दशैंको फूलपातिमा रिलिज हुँदैछ ।

फिल्मले विहिबार आयोजना गरेको पत्रकार सम्मेलन केही कुराले खास थियो । सो प्रेसमिटमार्फत विराजले पहिलोपटक छोरालाई मिडियासामु एक्टरको रुपमा इन्डोर्स गरे । डेब्यु एक्ट्रेस तथा पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्काको लागि पनि फिल्म करिअरको पहिलो प्रेसमिट थियो ।

यो पत्रकार सम्मेलनमा निर्देशक तथा अभिनेता विराजले मुख्यतः घरेलु फिल्मबाट पछिल्लो समय ‘एक्सन’ जनरा हराउँदै गएकोमा चिन्ता प्रकट गरे । ‘बीचमा एक्सन विधा कता कता हराएजस्तो भयो । ओझेलमा परेजस्तो भयो । त्यो फिल्म इन्डष्ट्रिको लागि पनि दुर्भाग्य थियो’ उनले भने, ‘हाम्रा दर्शकले साउथका एक्सन फिल्म हेरेर रमाइलो गरिरहेको देखेँ मैले ।’

नेपाली फिल्मलाई माथि उठाउन आफूले ‘१२ गाउँ’ बनाएको दावी उनको थियो । ‘दशैंमा अन्य दुईभन्दा सुपरहिट होस् भन्ने मात्र मेरो चाहना होइन, मेरो चाहना नेपाली चलचित्रलाई कसरी माथि उठाउने भन्ने हो’ उनले भने, ‘विगत १० वर्षदेखि बच्चालाई पनि ट्रेनिङ गराउनुको कारण पनि त्यही हो ।’

एक्सन फिल्मलाई विदेशी फिल्मसँग तुलना गर्ने प्रवृत्तिप्रति उनले गुनासो गरे । ‘कमेडी सिनेमालाई मिडिया र दर्शकले बाहिरको सिनेमासँग तुलना गर्दैन । अर्गानिक मूभी भन्नेहरुको पनि कहिँ कसैसँग तुलना गर्दैन । फेमिली ड्रामामा पनि कहिँकतै तुलना गर्दैन’ उनी भन्छन्, ‘जब हामी एक्सन फिल्म बनाउन थाल्छौं, ‘केजीएफ’जस्तो छ । ‘पठान’जस्तो छ । ‘सलार’जस्तो छ । कति ठूलो चुनौति छ ल हेर्नूस । त्यस्तो फिल्म हामी बनाउन सक्छौं त ? पैसामा हामी सक्दैनौं, यथार्थ कुरा यही हो ।’

डेब्यु एक्टर समीरले नेपाली फिल्ममा आफूले आफ्नो फ्युचर नदेखेको बताए । ‘मैले भविष्यलाई अहिलेसम्म सोच्या छैन । यही चरणलाई रमाइलो गरिराख्या छु’ उनी भन्छन्, ‘मार्गदर्शन उहाँले गर्नुभएको हो । मान्छेको जीवनमा एउटा राम्रो गुरुको आवश्यकता पर्छ । नत्र, मान्छे अर्को दिशामा फर्किन्छ ।’

उनले ‘१२ गाउँ’मा आफ्नो एक्सन र शारीरिक बनावटको श्रेय बुवा विराजलाई जाने बताए । ‘तपाईंलाई एक्सन र बडी मनपरेको होला, त्यसको २० प्रतिशत मलाई जान्छ होला, ८० प्रतिशत बुवालाई जान्छ’ उनले भने ।

विराजले आफूमा जोश र ऊर्जा ल्याएको समीरले बताए । ‘म अहिले पनि बिराज भट्टको छोरा हो । म सँधै विराज भट्टकै छोरा रहनेछु । घाटा त म केही पनि देख्दिन । म फाइदै फाइदा देख्छु किनभने, उहाँ मेरो बुवा पनि हो’ उनले भने, ‘उहाँ मेरो गुरु पनि हो । उहाँले मलाई मोटिभेट पनि गर्नुहुन्छ । ममा जोश र ऊर्जा ल्याउने पनि उहाँ नै हो ।’

न्यान्सीले भने समीरको प्रशंसा गर्दै आगामी सुपरस्टार भएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?