+

एभरेष्ट वुमन्स भलिबल लिगको फाइनल पुग्ने होडमा चार टोली

२०८१ असोज  १८ गते १३:०४ २०८१ असोज १८ गते १३:०४
एभरेष्ट वुमन्स भलिबल लिगको फाइनल पुग्ने होडमा चार टोली

१८ असोज, काठमाडौं । नेपाली भलिबलको पहिलो फ्रेन्चाइज लिग एभरेष्ट वुमन्स भलिबल लिग (इडब्लुभिएल) २०२४ मा आज लिग चरणको अन्तिम खेलहरु हुँदैछ ।

आज हुने अन्तिम ३ खेलपछि फाइनल पुग्ने दुई टोलीको टुङ्गो लाग्नेछ । फ्रेन्चाइज लिगको विशेषता अनुसार नै पहिलो पटक आयोजना भएको यस लिगका खेलहरु निकै प्रतिस्पर्धात्मक बन्दा फाइनल पुग्ने टोलीको टुङ्गो पनि अन्तिम दिन नै लाग्ने भएको हो ।

इन्फिनिटी ड्रिम्सको आयोजनमा भइरहेको वात्सल्य एभरेष्ट वुमन्स भलिबल लिगमा ६ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । जसमा कर्णाली यस्विस एक्लो अपराजित टोलीको रुपमा छ र फाइनलको निकै नजिक छ । तर अंकगणितीय रुपमा कर्णाली अझै पनि फाइनल भने पुगेको छैन । कर्णालीलाई कम्तीमा पनि १ अंकको आवश्यकता छ ।

कर्णालीसँगै फाइनल पुग्ने होडमा काठमाडौं स्पाइकर्स, चितवन शक्ति र ललितपुर क्विन्स छन् । बाँकी दुई टोली गण्डकी थण्डर्स र मधेश युनाइटेड फाइनल होडबाट बाहिरिसकेका छन् ।

सिंगल राउण्ड रोविनमा सञ्चालन भइरहेको लिगमा लिग चरणको खेल सकिएपछि अंक तालिकामा शीर्ष दुई स्थानमा रहने टोलीले फाइनल खेल्ने छन् । त्यही शीर्ष दुईमा पुग्नका लागि अहिले निकै प्रतिस्पर्धा चलिरहेको छ र यसले उत्तिकै रोमाञ्चकता पनि थपिरहेको छ ।

अंक तालिकाको अवस्था

लगातार चार खेल जितेर अपराजित रहेको कर्णालीको १० अंक छ । कर्णालीले दुई खेल पाँच सेटसम्म खेलेर जित्नु परेपछि दुवै खेलमा २-२ अंक जोडेको थियो । कर्णाली चार खेलमा १२ सेट जित्दा ५ सेट गुमाएको छ ।

कर्णालीले पहिलो खेलमा मधेश युनाइटेडलाई २५-१५, २५-२०, २६-२८, २५-११ ले पराजित गरेको थियो । गण्डकी थण्डर्स विरुद्धको दोस्रो खेल निकै प्रतिस्पर्धात्मक बन्दा पाँच सेटमा पुग्यो र त्यसमा कर्णाली ३-२ ले विजयी भयो ।

कर्णालीले उक्त खेल १५-२५, २५-२३, २५-१७, १९-२५, १५-१२ ले आफ्नो पक्षमा पारेको थियो । यस्तै तेस्रो खेलमा ललितपुर क्विन्सलाई सोझो सेटमा २५-२२, २५-२२, २९-२७ ले हरायो ।

चौथो खेल चितवन शक्तिविरुद्ध फेरि कर्णालीले पाँच सेट खेल्यो । यस खेलमा पनि पहिलो सेट गुमाए पनि कर्णालीले पुनरागमन गरेको थियो । कर्णालीले चितवनलाई २१-२५, २५-१८, २१-२५, २५-१५, १५-१३ले आफ्नो पक्षमा पार्‍यो ।

यस्तै चार मध्ये ३ खेल जितेको काठमाडौं ९ अंकसहित दोस्रो स्थानमा छ । काठमाडौंले चार खेलमा ९ सेट जित्दा ६ सेट गुमाएको छ ।

काठमाडौ पहिलो खेलमा ललितपुर क्विन्ससँग २०-२५, २५-२१, २१-२५, १९-२५ ले पराजित भयो । तर त्यसपछि भने काठमाडौंले लगातार तीन खेल जित्यो ।

काठमाडौंले चितवनलाई २१-२५, २५-१०, २५-२२, २५-१७ ले हरायो । यस्तै गण्डकीलाई २५-२३, १९-२५, २५-२१, २५-१६ ले तथा मधेशलाई १५-२५, २५-२३, २५-१५, २५-१८ ले हरायो ।

चितवन शक्ति र ललितपुर क्विन्सको समान ७ अंक छ । चितवनले ९ सेट जितेको छ भने ८ सेट गुमाएको छ । यस्तै ललितपुरले ८ सेट जित्दा उति नै सेट गुमाएको छ ।

शुक्रबार हुने चितवन शक्ति र ललितपुर क्विन्सबीचको पहिलो खेल तथा कर्णाली र काठमाडौंबीच हुने दिनको अन्तिम खेलपछि फाइनल पुग्ने दुई टोलीको टुङ्गो लाग्नेछ ।

गण्डकी थण्डर्सको एक जितबाट ३ अंक छ । चार हार व्यहोरेको मधेश अंकविहिन छ । मधेशले आज गण्डकीसँग खेल्दा कम्तीमा जित निकाल्दै लिग सकाउने योजना हुनेछ ।

फाइनल पुग्ने समीकरण

फाइनल पुग्नका लागि सबैभन्दा सहज कर्णालीका लागि छ । कर्णालीका लागि चितवन र ललितपुरबीच हुने पहिलो खेलको नतिजापछि नै फाइनल पुग्ने समीकरण तय हुन पनि सक्छ ।

कर्णाली अन्तिम खेलमा काठमाडौंसँग पाँच सेटमा पराजित भएमा पहिलो खेलको नतिजा जस्तो आएपनि फाइनल पुग्नेछ ।

यस्तै दोस्रो स्थानको काठमाडौंका लागि भने शुक्रबारको पहिलो खेलको नतिजाले धेरै अर्थ राख्छ । चितवन र ललितपुरबीचको खेलको नतिजापछि काठमाडौंलाई फाइनल पुग्न के चाहिन्छ थाहा हुनेछ । अहिलेको अवस्थामा काठमाडौंलाई फाइनल पुग्न कर्णाली विरुद्ध जित निकाल्नु आवश्यक छ । पहिलो खेलको नतिजा जस्तो आए पनि अन्तिम खेलमा कर्णालीलाई हराएमा काठमाडौं फाइनल पुग्नेछ ।

काठमाडौंर कर्णालीको खेल अन्तिम लिग खेल भएकोले उनीहरुले फाइनल पुग्नका लागि कस्तो समीकरण बन्ने त्यही अनुसार रणनीति बनाएर खेल्न सक्छन् ।

अर्कोतर्फ फाइनल पुग्नका लागि चितवन र ललितपुरलाई शुक्रबार हुने पहिलो खेल निकै महत्वपूर्ण छ । दुवै टोली यस खेल जित्दै ३ अंक जोड्ने लक्ष्यमा छन् । दुवै टिमले यदि ३ वा ४ सेटमा खेल जितेमा स्पष्ट ३ अंक जोड्ने छन् । यो खेल पाँच सेटमा गएमा भने दुवै टिमलाई घाटा लाग्नेछ ।

यदि पहिलो खेल चितवनले जित्ने र अन्तिम खेलमा कर्णाली विजयी भए कर्णाली र चितवन फाइनल पुग्नेछ । यदि पहिलो खेल ललितपुरले जित्ने र अन्तिम खेल कर्णालीले जितेमा कर्णाली र ललितपुर फाइनल पुग्नेछन् ।

चितवन र ललितपुरका लागि फाइनल पुग्न जितका अर्को विकल्प छैन । अहिलेको अवस्थामा काठमाडौंका लागि पनि फाइनल पुग्न जितको विकल्प छैन । तर पहिलो खेल पाँच सेटसम्म पुगेमा र काठमाडौं अन्तिम खेलमा कर्णालीसँग ५ सेटमा हारेमा भने काठमाडौं फाइनल पुग्न सक्छ ।

हाल शीर्ष दुईमा रहेका दुई टोली कर्णाली र काठमाडौं नै फाइनल पुग्न सक्ने सम्भावना पनि कायम नै छ । त्यसका लागि चितवन र ललितपुरबीच हुने पहिलो खेल पाँच सेट पुग्नुपर्ने छ । यदि यस्तो भएमा अन्तिम खेलमा कर्णाली जुन नतिजामा पराजित भए पनि काठमाडौं र कर्णाली दुवै फाइनल पुग्नेछन् ।

यहाँनेर कर्णाली फाइनल होडबाट बाहिरिन सक्ने झिनो सम्भावना छ ।

यदि पहिलो खेलमा चितवनले ललितपुरलाई सोझो सेटमा पराजित गरेमा र अन्तिम खेलमा काठमाडौंले कर्णालीलाई पनि सोझो सेटमा पराजित गरेमा दुई टोलीको समान १० अंक हुनेछ ।

यस्तोमा दुवै टिमले जितेको सेट पनि समान १२ हुनेछ र हारेको सेट पनि समान ८ हुनेछ । यस्तो अवस्थामा भने दुवै टोलीको जोडेको अंक र गुमाएको अंकको अनुपात हेरिनेछ ।

एभरेष्ट वुमन्स भलिबल लिग

धेरै कमेन्ट गरिएका

लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय