+
+

दोहोरिंदै डेंगु संक्रमण, हुनसक्छ ज्यानकै जोखिम

चिकित्सकहरूका अनुसार, एकपटक संक्रमित भएकालाई पछि फेरि अर्को प्रकारको सेरोटाइप संक्रमण भएमा स्वास्थ्यमा जटिलता हुन्छ । दोहोरिएर संक्रमण भएका कतिपयलाई त अस्पताल नपुर्‍याए ज्यानकै जोखिम हुनसक्छ ।

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०८१ असोज १८ गते १५:४६

१७ असोज, काठमाडौं । टेकु अस्पतालको १२९ नम्बर बेडमा डिबी तितोङ दायाँ–बायाँ छट्पटिंदै पल्टिरहेका छन् । उठेर टुसुक्क बस्ने तागत पनि छैन । टाउको फुट्ला झै गरी दुखिरहेको छ । ‘यसपटक त बाँच्दिन जस्तो लागेको थियो,’ खुइय सुस्केरा हाल्दै उनले भने, ‘अलिकति तलमाथि भए डेंगुले त ज्यानै लिने रहेछ ।’

४० वर्षीय तितोङले गत आइतबार बिहान अलि बढी थाकेको महसुस गरे । ज्वरो आयो, टाउको दुख्न सुरू भयो । शरीर पनि कटकट दुख्न थाल्यो । आँखागेडी फुट्ला झै भयो ।

उनले ठाने, ‘मौसमी ज्वरो हुनसक्छ ।’ आइतबार दिउँसो घरेलु उपचार गरे । रातभरको पीडा असह्य थियो । सोमबार बिहान ४ बजे टेकुको आकस्मिक कक्षमा पुगे। परीक्षणको क्रममा डेंगु भएको पुष्टि भयो । चिकित्सकले उपचारका लागि कुनै एन्टिबायोटिक औषधि नहुने भन्दै घरमै आराम नै गर्न सुझाव दिए ।

उनी चिकित्सकको सल्लाह बमोजिम घरमै गएर आराम गर्ने सोचले सोमबार दिउँसो २ बजे आकस्मिक कक्षबाट डिस्चार्ज भए । साँझ झन हन्हनी ज्वरो बढ्यो । बारम्बार बान्ता हुनथाल्यो । उनको मन आत्तियो । बेलुका ८ बजे पुनः टेकु अस्पताल पुगे र भर्ना भए ।

‘खप्न नसकिने गरी शरीर दुखेको थियो । अब त मरिन्छ झै लाग्यो’ तितोङले पीडा सुनाए, ‘तीन दिनको उपचारपछि यत्तिको बोल्न सक्ने भएको छु।’

उनी बल्खुमा तरकारी व्यवसाय गर्छन् । गत शनिबारको बाढीले तरकारी बजार डुबानमा पर्‍यो । त्यसदिन सामान खोज्न उनी दिनभर घाममा खटिए । त्यतिबेला लामखुट्टेले टाकेको हुनसक्ने उनको शंका छ ।

उनको स्वास्थ्यमा जटिलता देखिनुको अर्को कारण हो, ‘दोहोरिएर डेंगु संक्रमण ।’

करिब चार वर्ष अगाडि पनि उनलाई डेंगु संक्रमण भएको थियो । त्यसबेला लक्षण सामान्य थियो । घरमै आराम गरेका थिए । ‘त्यतिबेला सामान्य थियो । अस्पताल आउनुपरेको थिएन’ उनी भन्छन्, ‘यसले त जस्तोसुकै बलियो मान्छेलाई पनि गलाउने रहेछ । यसपटक मृत्यु नजिक पुगे ।’

०००

टेकु अस्पतालमा रितेश कुमार झा पनि १३३ नम्मर बेडमा झुल टाँगेर सुतिरहेका छन् । उनलाई अघिल्लो शुक्रबार १०४ डिग्री ज्वरो आयो । भाइरल ज्वरो होला भन्ने सोचेर त्यो दिन घरमै बसे तर, थकान बढ्दै गयो । सहनै नसक्ने गरी हातखुट्टा दुख्न थाल्यो । भोलिपल्टै टेकु अस्पतालको आकस्मिक कक्षमा गएर परीक्षण गर्दा डेंगु पोजेटिभ देखियो ।

डाक्टरहरूले ज्वरो घटाउनका लागि सिटामोल सिफारिस गरे । शरीरलाई तागत बढाउन नरीवल पानी खान थाले, त्यसबाट केही कम भएको महसुस भयो । चिकित्सकको सल्लाहमा उनी गत शनिवार डिस्चार्ज भए ।

भोलिपल्ट आइतबार झनै गाह्रो हुँदै गयो । बान्ता हुनथाल्यो, श्वासप्रश्वासमा कठिनाइ हुँदै गयो । पेट बेसरी फुल्यो, नाकबाट रगत बग्यो । पिसाबमा पनि रगत देखियो ।

बेहोसै हुने अवस्थामा पुगेपछि उनलाई आफन्तले आइतबार दिउँसो टेकु अस्पताल लगे । ‘उभिन पनि सकेको थिइनँ । रगतमा प्लेटलेट्स घटेको रहेछ’ झाले भने, ‘समयमै उपचार नभए त डेंगुले ज्यानै लिने रहेछ ।’

उपचारमा संलग्न चिकित्सकहरूका अनुसार, झालाई अहिले दोस्रो पटक डेंगु संक्रमण भएको हो । तर उनलाई पहिलो पटक डेंगु संक्रमण कहिले भयो, थाहा छैन । चिकित्सकहरूका अनुसार डेंगु संक्रमण भएका ७५ प्रतिशत बिरामी लक्षणविहीन हुन्छन् ।

चोभारस्थित एक कपडा उद्योगको मार्केटिङ गर्ने उनी कालीमाटी, टेकु, बल्खु वरपर हिंडिरहन्छन् । उनको अनुमान छ, ‘ म दिनभर नै कामकाजमा व्यस्त हुन्थें । यतै कतैबाट डेंगुको संक्रमण भएको हुनसक्छ ।’

डाक्टरहरुका अनुसार, पछिल्ला दिनहरूमा डेंगुबाट संक्रमण भएका बिरामी अस्पताल भर्ना हुने क्रम बढिरहेको छ । टेकु अस्पतालको तथ्यांक अनुसार विहीबार दिउँसो डेंगुका कारण १७ जना भर्ना भएकामा दोहोरिएर संक्रमण भएका ३ जना थिए । उनीहरुमा कडा लक्षण देखिएको थियो ।

‘गम्भीर समस्या’

डेंगुका १, २, ३ र ४ गरी चार प्रकारका सेरोटाइप हुन्छ । चिकित्सकका अनुसार फरक सेरोटाइपको संक्रमणले बिरामीमा जटिलता उत्पन्न गराउँछ । टेकु अस्पतालका चिफ कन्सल्टेन्ट फिजिसियन डा. विमल शर्मा चालिसे यसपाली दोहोरिएर उही मानिसमा संक्रमण हुने दर बढिरहेको बताउँछन् ।

उनका अनुसार, डेंगुको एक प्रकारको सेरोटाइपले मानिसमा संक्रमण गरेमा जीवनभर त्यही सेरोटाइपको अर्को संक्रमण हुँदैन । मानिसको शरीरले त्यो सेरोटाइप विरुद्ध लड्ने प्रतिरोधात्मक क्षमता बलियो बनाइसकेको हुन्छ । तर फरक प्रकारको सेरोटाइपको संक्रमण भएमा जटिलता बढेर बिरामीको मृत्यु समेत हुनसक्छ ।

‘पहिलो पटक संक्रमण भएको दुई वर्षसम्म दोहोरिएर संक्रमण हुँदैन । तर त्यसपछि फरक प्रकारको सेरोटाइपको भाइरस शरीरमा प्रवेश गरेमा जटिलता उत्पन्न गर्छ’ डा. चालिसे भन्छन्, ‘अस्पतालमै भर्ना गर्नुपर्ने हुनसक्छ भने कतिपयलाई आइसीयूमा राखेर उपचार गर्नुपर्छ ।’

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले २०७९ सालमा गरेको एक अध्ययनमा डेंगुका १, २, ३ सेरोटाइप समुदायस्तरमा फैलिइरहेको देखिएको थियो । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन फरक सेरोटाइपको संक्रमण कडा र जोखिमयुक्त हुने बताउँछन् ।

‘चार प्रकारका सेरोटाइपमध्ये पहिले जुन प्रकारले संक्रमण गर्‍यो फेरि त्यही सेरोटाइपले संक्रमण हुने सम्भावना न्यून हुन्छ । तर, फरक सेरोटाइपले संक्रमण गर्‍यो भने त्यो धेरै कडा हुनसक्छ’ डा. पुनले अनलाइनखबरसँग भने, ‘अघिल्ला वर्षभन्दा यसपाली धेरैमा जटिलता देखिएको छ ।’

दोहोर्‍याएर संक्रमण हुने अधिकांश बिरामीमा तारन्तार रगत बान्ता हुने, कमजोर भएर बेहोस जस्तो हुने, असाध्य पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने लक्षण देखिएको छ । त्यसैगरी रगतमा प्लेटलेट्स तीब्र रूपमा घट्नुको साथै हेमाटोक्रिट्स बढ्छ । छाती वा पेटमा पानी वा तरल पदार्थ जम्ने, कलेजो सुन्निने लक्षण पनि देखिन्छ ।

‘दोस्रो पटकमा आउने जटिलता पहिलोपटकको भन्दा बढी हुन्छ । बिरामीलाई हुने जटिलताका कारण शरीरका विभिन्न अंगले काम नै गर्न छोड्नछन्,’ डा. चालिसे भन्छन्, ‘कतिपय बिरामीलाई बचाउनै मुस्किल हुन्छ ।’

पहिलो पटकको संक्रमणले शरीरमा रोग प्रतिरोधात्मक क्षमता विकास गरिसकेको हुन्छ । तर फरक खालको सेरोटाइपको संक्रमण हुँदा शरीरले प्रतिक्रिया देखाउने गर्छ । अनियन्त्रित रुपमा भाइरसको वृद्धि हुँदा मानिसमा भएको रोग प्रतिरोधात्मक क्षमता नै घटेर जान्छ जसका कारण बिरामीमा जटिलता देखापर्छन् ।

सरुवा रोग विशेषज्ञ डा. पुनले भने ‘दोहोरिएर संक्रमण भएका अधिकांशलाई अस्पताल नै भर्ना गरेर राख्नुपरेको छ । गिजाबाट वा शरीरको कुनै पनि अंगबाट अत्याधिक रक्तस्राव भएकालाई आइसीयूमा भर्ना गरेका छौं ।’

‘आँउदा दिन झनै जोखिमयुक्त’

सन् २०२४ को जनवरी यता देशभर डेंगु संक्रमितको संख्या १५ हजार हाराहारीमा पुगिसकेको छ । स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार यो अवधिमा डेंगुबाट ७ जनाको मृत्यु भएको छ ।

काठमाडौं पनि डेंगीको ‘हटस्पट’ बनेको छ । सेप्टेम्बरमा मात्र एक हजार ४३७ जना संक्रमित छन् । सबैभन्दा धेरै कास्कीमा दुई हजार ३२१ जना संक्रमित भएका छन् । काठमाडौंमा मात्रै एक हजार ९८६ जना संक्रमित छन् ।

भक्तपुरमा २२३ र ललितपुरमा ४८९ जना संक्रमित छन् । संक्रमित धेरै हुनेमा तनहुँ (१७२६), पर्वत (१२८३), चितवन (८२९) छन् । यीबाहेक अरू जिल्लामा ५०० भन्दा कम संक्रमित भएका छन् ।

यो वर्ष हुम्ला बाहेक ७६ जिल्लामा डेंगु फैलिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतको किटजन्य शाखा प्रमुख डा. गोकर्ण दाहाल पुन संक्रमण भएका बिरामीको यकिन तथ्यांक उपलब्ध नभएको बताउँछन् । तर समुदायस्तरमा चारै वटा सेरोटाइप घुमिरहेको हुनाले पुनः संक्रमण हुने दर पनि बढिरहेको हुनसक्ने उनको आकलन छ ।

‘पछिल्ला वर्षमा डेंगुको १,२,३ सेरोटाइपको समान रूपमा संक्रमण छ । त्यसकारण अस्पताल भर्ना हुने दर र जटिलता जति पछि गयो, त्यति नै बढ्दै जाने देखिन्छ,’ डा. दाहालले भने ।

उनका अनुसार बंगालेदश, भारत लगायतका देशको पछिल्ला वर्षको तथ्यांक हेर्दा फरक सरोटाइपको संक्रमणका जटिलताको कारण मृत्युदर पनि बढिरहेको छ । त्यसकारण पनि नेपालमा पछिल्ला वर्षहरू अझै भयावह हुनसक्ने डाक्टरहरुको चेतावनी छ ।

विज्ञका अनुसार, संक्रमण भएका ७५ प्रतिशतभन्दा बढी मानिसमा डेंगु लक्षण विहीन वा सामान्य लक्षण देखा पर्छन् । जसले गर्दा पहिलो पटक संक्रमण भएको बिरामीले थाहै पाउँदैनन् । फेरि संक्रमण हुँदा लक्षण देखिएको एक-दुई दिनपछि अवस्था जटिलतामा पुगिसकेको हुन्छ ।

‘अंधिकाश बिरामी घरमै आराम गर्नुहुन्छ । केही गाह्रो हुँदा पनि अस्पताल जान तप्पर देखिनुहुन्न, त्यतिबेलासम्म शरीरमा जटिलता देखा परिसकेका हुन्छन्’ डा. चालिसे भन्छन्, ‘अस्पताल आउन ढिलाइ गर्दा कतिपयको अवस्था नाजुक बनिसकेको हुन्छ ।’

दोहोर्‍याएर संक्रमित हुने व्यक्तिले बढी संवेदनशील भई लामखुट्टेको टोकाइबाट बच्न सावधानी अपनाउनुपर्ने डाक्टरहरु बताउँछन् । दोहोरिएर संक्रमित भएका व्यक्तिलाई चिकित्सकको निरन्तर निगरानी र परामर्श अनिवार्य गर्नुपर्ने डा. पुन बताउँछन् । सिटामोल बाहेक दुखाई कम गर्ने अरु औषधिहरु र जथाभावी एन्टीबायोटिक प्रयोग गर्न नहुने उनको सुझाव छ ।

प्रायः दिउँसोको समय सक्रिय रहने एडिज जातको लामखुट्टेबाट डेंगु संक्रमण हुन्छ । संक्रमणको जोखिम कम गर्न कार्यस्थल र घर वरिपरि निरन्तर सफा राख्नुपर्ने विज्ञहरूको सुझाव छ । घर वरपर लामखुट्टेको वृद्धि रोक्न पानी जम्ने अवस्था आउन दिनु हुँदैन ।

गमला, फुलदान, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गाडीका काम नलाग्ने टायरहरूमा पानी जम्न नदिने उपाय गर्नुपर्ने विज्ञहरुको सुझाव छ ।

पानीको ट्यांकीलाई लामखुट्टे प्रवेश गर्न नसक्ने गरी छोपेर राख्नुपर्छ । पूरा बाहुला भएको वा शरीर ढाकिने कपडाहरु लगाउनुपर्छ । दिउँसो सुत्नुपरेमा सम्भव भएसम्म झुलको प्रयोग गर्नुपर्छ ।

तस्वीर/भिडियो : चन्द्रबहादुर आले/अनलाइनखबर

लेखकको बारेमा
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?