+

उचाइले डोर्‍याएको सरस्वतीको भलिबल यात्रा

२०८१ असोज  १८ गते १६:०९ २०८१ असोज १८ गते १६:०९
उचाइले डोर्‍याएको सरस्वतीको भलिबल यात्रा

१८ असोज, काठमाडौं । सामान्यतः भलिबल खेल्न अग्लो उचाइ भएको खेलाडीलाई सहज हुन्छ । त्यसैले भलिबलमा अग्लो उचाइ हुनु नै एउटा अवसर बनिदिन्छ ।

त्यस्तै भयो राष्ट्रिय भलिबल टिमकी सदस्य सरस्वती चौधरीलाई । उनी अग्ली भएकैले भलिबलमा लागिन् र भलिबलमा गति बढाउन थालिन् ।

६ फिट १ इन्छ अग्ली सरस्वती नेपाली महिला भलिबलकै सबैभन्दा अग्ली खेलाडी हुन् । विपक्षीको कोर्टमा उनी आफ्नो उचाइ अनुसार दमदार स्पाइक हान्छिन् ।

अहिले नेपाली राष्ट्रिय टिममा सबैभन्दा अनुभवी खेलाडीमध्ये एक हुन् सरस्वती । यही अनुभव र उचाइको बलमा कप्तान अरुणा शाहीसँगै उनी मुख्य स्पाइकरको भूमिकामा छन् ।

पछिल्लो समय नेपाली महिला भलिबलले हालिस गरेको उपलब्धीमा सरस्वतीको योगदान उल्लेखनीय छ । सन् २०१९ को १३औं सागमा ऐतिहासिक रजत जित्दा होस् या एभिसी सिनियर वुमन्स सेन्ट्रल जोनमा दुई पटक च्याम्पियन हुँदा वा यसैवर्ष काभा वुमन्स नेसन्स लिगमा रजत पदक जित्दा सरस्वती लगातार छाइरहेकी छन् ।

सुरुमा क्विक स्पाइकबाट खेल्न सुरु गरेकी २९ वर्षीय सरस्वती अहिले आउटसाइड हिटरको पोजिसनमा खेल्ने गर्छिन् । काभा वुमन्स नेसन्स लिगमा भने उनले अपोजिट हिटर पोजिसनबाट खेलिन् र आफ्नो पोजिसनको उत्कृष्ट खेलाडी समेत बनिन् ।

सरस्वतीले व्यवहारबाटै प्रमाणित गरिसकेकी छन् कि अट्याकिङमा उनी आवश्यकता अनुसार जुनसुकै पोजिसनमा पनि उत्तिकै प्रदर्शन गर्न सकिन्छन् ।

हाल चलिरहेको नेपालकै पहिलो महिला भलिबल फ्रेन्चाइल एभरेष्ट वुमन्स भलिबल लिग (इडब्लुभीएल) २०२४ मा सरस्वती गण्डकी थण्डर्सको मार्की प्लेअर तथा कप्तानको भूमिकामा छिन् । सुरुवाती तीन खेलमा लगातार पराजित हुँदा गण्डकी फाइनल होडबाट बाहिरिसकेको छ । गण्डकीले चार खेलमा १ खेल मात्र जित्न सकेको छ ।

तर सरस्वतीले भने कोर्टमा लगातार उत्कृष्ट प्रदर्शन गरिरहेकी छन् । बिहीवार ललितपुर क्विन्सलाई ३-२ को सेटमा हराउन उत्कृष्ट प्रदर्शन गरेकी सरस्वती प्लेअर अफ दि म्याच समेत घोषित भइन् ।

उचाइले डोर्‍याएको भलिबल यात्रा

धनगढी कैलालीकी सरस्वतीले १२ वर्षको उमेदेखि भलिबल खेल्न थालेकी हुन् । तर त्यतिबेला उनलाई खेलकुद बारे न उनलाई त्यति रुचि थियो न चासो नै । अझ भलिबलमै करिअर बनाउने बारे त सोचेकै थिइनन् ।

२०६४ सालमा धनगढीकै मालिकाल इङ्ग्लिस बोर्डिङ स्कुलमा ६ कक्षाको परीक्षा दिएर बसेकी सरस्वतीको भेट भलिबलका प्रशिक्षक विष्णु चौधरीसँग भेट भयो । त्यो भेटको उनको जीवनको निर्णायक मोड बनिदियो ।

नातामा दाइ पर्ने प्रशिक्षक विष्णुले सरस्वतीलाई भलिबल बारे जानकारी दिए । उनले प्रश्नसहित प्रस्ताव राखे, ‘सरस्वती, तिम्रो उचाइ भलिबल खेलमा निकै उपयोगी हुनसक्छ, किन भलिबल खेल्दिनौं ?’

लजालु स्वाभावकी सरस्वतीले तत्काल त केही भनिनन् । तर विष्णुले उनको पिछा छाडेनन् । सम्भवतः सरस्वती भाग्न चाहन्थिन् तर उचाइले उनलाई भलिबल खेलसँग जोडिछाड्यो ।

यसरी उचाइलाई हेरेर आएको प्रस्तावले उनलाई राष्ट्रिय टिमको चर्चित खेलाडीको यात्रासम्म डोहोर्‍यायो ।

सुरुमा सरस्वती काठमाडौंमा गणतान्त्रिक राष्ट्रिय भलिबल प्रतियोगितामा सुदूरपश्चिमको महिला टिमबाट खेल्न आइन् । उनी सेटमा नभएपनि पश्चिमाञ्चल विरुद्ध पराजित हुने अवस्थामा कोर्टमा प्रवेश गर्ने अवसर पाइन् । तर उनलाई न तालिम थियो न अनुभव । कम्तिमा बल कसरी उठाउने पनि थाहा थिएन ।

खेल जस्तो भएपनि सरस्वतीको उचाइको चर्चा भयो र त्यही उचाइले उनलाई भलिबलसँग जोडिरह्यो । किनकि १२ वर्षमै उनको उचाइ ५ फिट ७ इन्च थियो ।

काठमाडौंमा पश्चिमाञ्चलका प्रशिक्षक बलराम क्षेत्रीले पोखरामा फिस्टेल एकेडेमीमा बसेर पढ्ने र भलिबल खेल्ने प्रस्ताव राखे पनि सरस्वतीले निर्णय गर्न सकिनन् । धनगडी फर्किएकी उनको घरमा अभिभावकलाई प्रशिक्षक बलरामले फोन गरे र सरस्वतीलाई पोखरा पठाउन भने ।

पढाइ राम्रो हुने र छात्रवृत्ति पनि पाउने भएपछि अन्ततः सरस्वतीको परिवार छोरीलाई पोखरा पढाउन राजी भयो । उनले त्यहाँको फिस्टेलबाट उनको भलिबल यात्रा अघि बढाइन् ।

क्विक स्पाइकर हुँदै आउटसाइड हिटर

फिस्टेल एकेडेमीमा कक्षा ७ बाट अध्ययन अगाडि बढाइरहँदा सरस्वतीले अध्ययनमा पनि उत्तिकै ध्यान दिइन् । सुरुमा उनी क्विक स्पाइकर थिइन् । क्विक स्पाइकरको भूमिकासँगै ब्लक गर्नु पनि उनको काम हुन्थ्यो । छिटो प्रहार गर्ने र विपक्षीको स्पाइकलाई उसैगरी ब्लक गर्ने उनको भूमिका थियो ।

खेलसँगै अध्ययनलाई अगाडि बढाएकी सरस्वतीले फिस्टेलमा कक्षा १२ सम्म पढिन् । थप अध्ययन गर्न काठमाडौं आएकी उनले २०७० सालदेखि सरस्वती विभागीय टोली एपीएफबाट खेल्न थालिन् र अहिलेसम्म पनि त्यही टिममा आबद्ध छन् ।

क्लबमा राम्रो खेलेपछि सरस्वतीले सन् २०१४ मा राष्ट्रिय टिममा इन्ट्री मारिन् । नेपालमा आयोजना भएको प्रथम दक्षिण एशियाली आमन्त्रित महिला भलिबल च्याम्पियनसिपमा उनी पहिलो पटक सिनियर टिममा परिन् र माल्दिभ्स विरुद्धको खेलबाट डेब्यु पनि गरिन् ।

उक्त प्रतियोगिता पनि सरस्वती क्विक स्पाइकरकै भूमिका थिइन् । उनको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले दोस्रो हुँदै रजत जितेको थियो ।

एपीएफमा आएपछि सरस्वती क्लबमा पहिलो रोजाईँको खेलाडी बन्न थालिन् भने राष्ट्रिय टिममा पनि निरन्तरता पाइरहिन् । योसँगै उनको भूमिका बदलिन थाल्यो । उनी क्विक स्पाइकरबाट ओपनर स्पाइकर बनिन् । योसँगै उनको भलिबल यात्राले थप रफ्तार पकड्यो ।

सन् २०१६ मा भारतमा आयोजित दक्षिण एशियाली खेलकुदमा भने सरस्वतीले ओपन स्पाइकरको भूमिका निर्वाह गर्नुपर्‍यो । त्यसपछि उनी लगातार राष्ट्रिय टिममा छिन् । सन् २०१७ मा माल्दिभ्समा भएको एफआईभीबी वर्ल्ड भलिबल च्याम्पियनसिप क्वालिफिकेसन पनि खेलिन् ।

सन् २०१९ यता नेपाली महिला भलिबलको स्वर्णिम यात्रामा सरस्वती पनि नेपाली टिमको महत्वपूर्ण हिस्सा बनेकी छन् ।

सन् २०१९ मा भएको पहिलो एभिसी वुमन्स सिनियर सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप र २०२२ मा भएको दोस्रो एभिसी वुमन्स सिनियर सेन्ट्रल जोनमा उपाधि जित्दा सरस्वती मुख्य सदस्य थिइन् ।

यस्तै सन् २०१९ मै नेपालमा भएको १३ औं दक्षिण एशियाली खेलुकदमा ऐतिहासिक रजत जित्दा सरस्वती टिमकै महत्वपूर्ण सदस्यको भूमिकामा रहिन् ।

सरस्वतीले काभा वुमन्स नेसन्स लिगमा रजत र गत वर्ष भएको काभा वुमन्स च्यालेन्ज कपमा कास्य पनि जितिन् ।

केही समयअघि घरेलु कोर्टमा भएको काभा वुमन्स नेसन्स लिगमा नेपाल दोस्रो हुँदा सरस्वतीले बेस्ट अपोजित हिटरको अवार्ड जितिन् । यस्तै केही समयअघि माल्दिभ्समा भएको काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा सरस्वती नेपाल पुलिस क्लबबाट खेल्दै उपाधि जितेकी थिइन् ।

सरस्वतीले नेपाली टिमबाट दुई उपाधिसँगै तीन रजत र दुई कास्य पदक जितेकी छन् । यस्तै नेपालले पहिलोपटक सहभागिता जनाएको एशियन गेम्स १९ औं एशियाड हान्झाउमा पनि सरस्वती नेपाली टिममा थिइन् ।

घरेलु भलिबलमा एपीएफले कुनै बेला एक छत्र राज गर्दा सरस्वती एक मुख्य सदस्य थिइन् । एपीएफ टिमले त्यो समयमा धेरै उपाधि जित्यो । सरस्वतीले जितेको घरेलु भलिबलको उपाधि र व्यक्तिगत अवार्डको कुनै लेखाजोखा नै छैन । उपाधि जित्न नसकेको प्रतियोगितामा पनि एपीएफ दोस्रो या तेस्रो भने भएकै छ ।

सरस्वतीले खेलेको अन्तर्राष्ट्रिय प्रतियोगिता र उपलब्धीहरू

– २०१४ प्रथम दक्षिण एशियाली महिला आमन्त्रण भलिबल : रजत पदक

– सन २०१६ को १२ औं साग : कास्य पदक

– सन् २०१७ को एफआईभीबी वर्ल्ड च्याम्पियनसिप क्वालिफिकेनस : सहभागी

– सन् २०१९ एभिसी वुमन्स सिनियर सेन्ट्रल जोन : च्याम्पियन

– सन् २०१९ को १३औं साग : रजत पदक

– सन् २०२२ को एभिसी वुमन्स सिनियर सेन्ट्रल जोन : च्याम्पियन

– सन् २०२३ को काभा वुमन्स च्यालेन्जस लिग : कास्य पदक

– सन् २०२४ को काभा वुमन्स नेसन्स लिग : रजत पदक

– सन् २०२४ को काभा महिला भलिबल क्लब च्याम्पियनसिप : च्याम्पियन (नेपाल पुलिस क्लब)

भलिबल सरस्वती चौधरी

धेरै कमेन्ट गरिएका

लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय