+
+

विपद्‌का बेला के गर्दैछन् सांसदहरू ?

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०८१ असोज १८ गते १९:५९

१८ असोज, काठमाडौं। अविरल वर्षापछि असोज ११ र १२ गते आएको बाढी पहिरो प्रभावित जिल्लाका जनप्रतिनिधिको दिनचर्या बदलिएको छ । उनीहरू पीडित र प्रभावित नागरिकको उद्धार, व्यवस्थापन र राहतमा बिहानदेखि रातिसम्मै खटिएका छन् ।

नीति निर्माणको जिम्मेवारी बोकेर संघीय संसद् सदस्यमा निर्वाचित जनप्रतिनिधिहरू कुनै कार्यकारी भूमिकामा छैनन् । तैपनि उनीहरू विपद्ले बिथोलेका आफ्ना मतदातालाई सघाउन बाढी–पहिरो प्रभावित क्षेत्रमा खटिएका छन् ।

सांसदहरू आफ्नो निर्वाचन क्षेत्रमा विपद् प्रतिकार्य र प्रतिलाभ कार्यमा समन्वयकारी भूमिकामा देखिन्छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तथा ललितपुर–३ बाट निर्वाचित सांसद तोसिमा कार्की हरेक दिन बाढी प्रभावित क्षेत्रमा पुग्छिन् । पीडितको अवस्था बुझ्छिन् र व्यवस्थापनका लागि सम्बन्धित निकायमा खबर पुर्‍याउँछिन् ।

जनप्रतिनिधिहरूको उपस्थिति र समन्वयकारी भूमिकाले पनि पीडित नागरिकले राहत महसुस गर्ने र प्रतिकार्यमा सघाउने डा. कार्कीको अनुभव छ ।

‘सम्बन्धित निकायलाई भनिदिंदा, समन्वय गर्दा मात्रै पनि धेरै फरक पर्दोरहेछ’ उनी भन्छिन्, ‘खाद्यान्न, आवास, खानेपानी जस्ता तत्कालका आवश्यकता पूर्तिमा सहज हुनुका साथै नीति र दीर्घकालीन कार्ययोजना बनाउँदा ध्यान दिनुपर्ने कुराहरू पनि बोध हुँदोरहेछ ।’

कार्कीका अनुसार नख्खु खोलाको बाढीसँगै चोभारको डाँडाबाट फर्किएर आएको फोहोर आदिनाथ मार्गमा थुप्रिएर फोहोरको सानोतिनो पहाड नै बनेको छ ।

थुप्रिएको फोहोर हटाउन कार्कीले फिल्डबाटै गृहमन्त्री रमेश लेखक, प्रमुख जिल्ला अधिकारी, स्थानीय सरकार र नागरिक समाजका अगुवाहरूको ध्यानाकर्षण गराइन् । सबैको जोडबलमा नेपाली सेना सहितको जनशक्ति फोहोर व्यवस्थापनमा खटियो ।

‘उक्त फोहोर हटाउन स्थानीय सरकार र नागरिकलाई महिनौं लाग्ने अवस्था थियो तर, मैले सम्बन्धित निकायहरूसँग समन्वय गरें’ उनी भन्छिन्, ‘शुक्रबारबाट फोहोर हटाउन नेपाली सेना सहित चार सय जति जनशक्ति खटिएर काम गर्दा त्यो क्षेत्रमा सम्भावित स्वास्थ्य महामारी टार्न सक्यौं ।’

दक्षिण ललितपुरको विकट क्षेत्रका केही ठाउँमा त चार दिनसम्म सञ्चार सम्बन्ध नै टुट्न पुगेको थियो । सरोकारवालाहरूले पहल लिएर जेनेरेटरको सहायताले पाँचौं दिनमा महांकाल गाउँपालिका लगायतका स्थानमा संचार सेवा पुनः सुचारु भयो ।

सांसद कार्कीले सञ्चार सेवा सुरु गर्न गृहमन्त्री, सञ्चार मन्त्री, नेपाल विद्युत् प्राधिकरण र नेपाली सेनासँग कुरा गरेको बताइन् ।

बाढीले विद्युतका पोल बगाउँदा ललितपुरका कतिपय क्षेत्रमा चार दिनसम्म विद्युत सेवा अवरुद्ध भएको थियो । ‘म फिल्डमै छु, रातिसम्म यहीं बस्छु भनेपछि राज्यका जिम्मेवार निकायमाथि दबाब पर्नेरहेछ’ कार्की भन्छिन्, ‘नेपाल विद्युत् प्राधिकरणसँग समन्वयमा विद्युतका पोल बोकेरै लगेर र रातिमा समेत काम गरेर विद्युत सेवा पुनः सुचारु गराउन सकिएको छ ।’

सांसद कार्कीले गत साउन ७ गते विपद् व्यवस्थापनको गुरुयोजना (पूर्व तयारी) बनाउन माग गर्दै जरुरी महत्वको प्रस्ताव प्रतिनधिसभामा दर्ता गरेकी थिइन् । उक्त प्रस्तावउपर गत भदौ १२ गते छलफल भएको थियो । त्यस दिन २९ जना सांसदले भाग लिएका थिए ।

सरकारका तर्फबाट स्वास्थ्य तथा जनसंख्य मन्त्री प्रदीप पौडेलले बाढी, पहिरो, डुबान लगायतको पूर्व तयारी सरकारले गरेको र यस्तो विपद्‍बाट आउन सक्ने हैजा लगायतका महामारी नियन्त्रण र पूर्व तयारीका लागि ६ वर्षे योजना बनाएर काम भइरहेको बताएका थिए ।

‘तर, विपद् आएपछि सरकारको पूर्व तयारी नरहेको देखियो । बोलीमा सबै गर्ने व्यवहारमा केही नगर्ने हाम्रो प्रवृत्तिले पनि विपद्‍मा हामी अत्तालिने गरेका छौं’ कार्की भन्छिन् । अब संसद् खुलेपछि विपद्को पूर्व तयारीको प्रणाली विकासका लागि भूमिका खेल्ने उनको प्रतिबद्धता छ ।

‘नेपालमा पूर्व तयारीको प्रणाली विकास भइसकेको छैन । यो हुने र काम गर्ने भए कोही अत्तालिनुपर्ने थिएन’ कार्कीले भनिन् । जनप्रतिनिधि कार्यक्षेत्रमा गएर जिम्मेवार निकायलाई खबरदारी गर्न सक्दा जनताले राहत महसुस गर्ने उनको अनुभूति छ ।

‘जनप्रतिनिधि कार्यक्षेत्रमा हुँदा स्थानीय सरकारका प्रतिनिधिहरू पनि खुसी हुने र विपद्‍मा परेका नागरिकहरूले पनि अभिभावक पाएको महसुस गर्ने रहेछन्’, सांसद कार्कीले भनिन् ।

विपद्‍मा साथसाथ

यस वर्षको बाढी र पहिरोबाट सिन्धुपाल्चोक पनि अति प्रभावित छ । सिन्धुपाल्चोकका दुवै निर्वाचन क्षेत्रका संघीय जनप्रतिनिधि मतदातासँगै छन् । सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद माधव सापकोटा पहिरो पन्छाउने, प्रभावितको व्यवस्थापन गर्ने, राजमार्ग खुलाउने लगायत काममा व्यस्त रहेको बताउँछन् ।

सिन्धुपाल्चोक–२ बाट निर्वाचित मोहनबहादुर बस्नेत बिहानदेखि साँझसम्मै प्रभावित नागरिकहरूसँगै छन् । ‘अविरल वर्षापछिको बाढीपहिरोले धेरै नै जनधनको क्षति भयो, म फिल्डमै छु, घाइतेहरूको खोज र उद्धार कार्यमा आफ्नो ठाउँबाट काम गरिरहेको छु ।’

सांसद बस्नेतले तत्कालका लागि खाद्यान्नको जोहो गर्नेदेखि पहिरो हटाउन डोजर लगायतका कार्यको व्यक्तिगत रूपमा पहल लिएर समेत काम गरिरहेको जानकारी दिए । उनले बाढीपहिरोमा परी मृत्यु भएका सिन्धुपाल्चोकका मृतकका परिवारलाई प्रति मृतक परिवार राहत स्वरूप ५० हजार उपलब्ध गराउने घोषणा गरेका छन् । यो रकम स्थानीय तह मार्फत दिइने उनले जानकारी दिए ।

विपद्का बेला संघीय जनप्रनिधिको उपस्थितिले एकीकृत रूपमा उद्धार र व्यवस्थापनको कार्य गर्न सहज भएको अर्का सांसद सापकोटाको अनुभव छ ।

‘ब्युरोक्रेसीको आफ्नो च्यानल हुन्छ । सडक, पुल भत्किएपछि कसलाई भन्ने, के गर्ने भन्ने प्रक्रिया हुन्छ’ उनले भने, ‘तर, हामीले फिल्डबाटै कार्यालय प्रमुखसँग समन्वय गरेपछि काम छिटो हुँदोरहेछ ।’

सांसद सापकोटाको अनुभवमा ह्युम पाइपदेखि अन्य निर्माण सामग्री जुटाउन निजी क्षेत्रसँग समन्वय गर्न पनि विपद्को बेला सांसदले प्रभावकारी समन्वय गर्न सक्छन् । ‘फिल्डमा पुगेर ह्युम पाइप चाहियो, अन्य सामान चहियो भन्दा दबाब हुन्छ, सरकारसँग नभए निजी क्षेत्रले पनि उपलब्ध गराउँछन् र एकीकृत रूपमा काम हुन्छ’, उनले भने ।

सांसद सापकोटाले अहिले राजमार्ग खुलाउने, मृतकको पोस्टमार्टम गराउने र अरु प्रतिकार्यका काममा समन्वयका काममा केन्द्रित रहेको जानकारी दिए ।

पहिरोबाट निकालिएका १० शव नेपाली सेनासँग समन्वय गरेर हेलिकप्टर मार्फत काठमाडौं पठाइएको र चार वटा शव स्थानीय स्तरमा उपलब्ध डाक्टर मार्फत पोस्टमार्टम गराएर अन्त्येष्टिको व्यवस्था गरिएको उनले सुनाए ।

स्थानीय सरकारले संघीय जनप्रतिनिधिको साथ पाउँदा विपद् व्यवस्थापनमा सहज महसुस गर्ने गरेको सांसद सापकोटाको अनुभव छ । विपद्पछि समेत प्रभावितको लागि दीर्घकालीन काम गर्नुपर्नेमा उनको जोड छ ।

‘पाकेको धानबाली भित्र्याउन भकारी र धोक्रो ठिक पारेर राखेको नागरिकको धानबाली बगरमा बदलिएको छ, अब खेतीयोग्य जमिन पनि बाँकी रहेन’ उनले भने, उहाँहरूलाई कति पीडा होला, यो पीडामा काम गर्नुपर्नेछ ।’

संघ र प्रदेश सरकारले तत्कालका लागि घोषणा गरेका राहतको सदुपयोग होस् र बढी प्रभावित पहिलो प्राथमिकतामा परून् भनेर चनाखो रहेको सांसद सापकोटाले सुनाए । उनी विदेश भ्रमण रद्द गरेर विपद्का बेला नागरिककहाँ गएको दाबी गर्छन् ।

सांसद सापकोटा सहित विभिन्न राजनीतिक दलका नेताहरूलाई यही असोज १४ र १५ गते एउटा सम्मेलनमा सहभागिताका लागि बेलायत आमन्त्रण गरेको थियो । तर, बाढी र पहिरोले आफ्नो निर्वाचन क्षेत्र प्रभावित भएपछि भ्रमण रद्द गरेको सापकोटाले जानकारी दिए ।

राजमार्ग खुलाउँदै लेखनाथ

सिन्धुलीबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसद लेखनाथ दाहालले अविरल वर्षाले अवरुद्ध गरेका र भत्काएका सडक खुलाउने कार्यमा लगिरहेको जानकारी दिए ।

‘पहिलो प्राथमिकता आवतजावतका लागि सडकमार्ग खुलाउनु हो, यसैका लागि समन्वय गर्ने र पहल लिने काममा छु’ उनले भने, ‘तीनवटै तहको सरकारसँग समन्वय गरेर निजी क्षेत्रका साथीहरू र नेपाली सेनाको सहयोगमा काम भइराखेको छ ।’

दाहालका अनुसार बीपी राजमार्ग अन्तर्गत नेपालथोक धुलिखेल सडक खण्डको सिन्धुलीतर्फको नेपालथोक, आपघारी, देवीस्थान, सिमाना खण्डको वैकल्पिक बाटो निर्माण भइराखेको छ । बीपी राजमार्ग अन्तर्गत सिन्धुलीमाढी बजारबाट सोलाभन्जाङ, खनियाँखर्क, खुर्कोट, खाल्टे, रामटार हुँदै नेपालथोकसम्मको राजमार्ग सुचारु भएको छ ।

बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको गढी दरबारदेखि चपौली, नागी हुँदै मझुवा गैरीगाउँसम्मको अवरुद्ध सडक खुलेको छ ।

सांसद दाहालका अनुसार खुर्कोटमा तत्काल बेलिब्रिज जडान कार्य सुरु भएको छ । यसका लागि स्थानीय सरोकारवालाहरू, प्रदेश र संघीय सरकारको समन्वयमा काम सुरु भएको छ ।

‘खुर्कोटमा बेलिब्रिज १५/२० दिनमा बनेर संचालनमा आउने विश्वास छ’ दाहालले भने । सिन्धुलीको खुर्कोटको पुल सुनकोशी नदीले बगाउँदा आवतजावत बन्द भएको छ । पुल भत्किंदा स्थानीय लगायत पूर्वका लाखौं नागरिक चाडपर्वको मुखमा प्रभावित भएका छन् ।

‘राजमार्ग खुलेपछि धेरै सहज हुने भएकाले म राहत, उद्धारका साथसाथै राजमार्ग खुलाउन केन्द्रित छु’ उनले भने ।

सांसद दाहालले विपद् व्यवस्थापनका लागि तत्कालीन, मध्यमकालीन र दीर्घकालीन रूपमा काम गर्नुपर्ने र यसका लागि तीनवटै सरकारसँग समन्वय गरिरहेको सुनाए ।

उनका अनुसार वर्षाले यसपटक सबैभन्दा बढी प्रभावित गरेको सिन्धुलीको नेपालथोक, मूलकोट र खुर्कोट हो । पर्यटक हब नै रहेको मूलकोटमा करोडौं लगानीका रिसोर्टहरू पुरिएका छन् ।

सुनकोशी आसपासको १५०० बिघा खेतीयोग्य जमिन बगाएको दाहालले बताए । ‘यसका अलावा कोशी र रोशीले समेत खेतीयोग्य जमिन बगाएको छ’ उनले भने ।

पीडित र प्रभावितका लागि गाउँपालिकाले राहतका प्याकेजहरू ल्याएका छन् । यसअघि मेस चलाएर प्रभावितलाई खुवाइएको थियो ।

पछिल्लो समय पुरिएका घरहरूबाट सामानहरू निकाल्ने काम भइराखेको छ । ‘बगेका बाहेकका क्षेत्रमा पुरिएका क्षेत्र खोतल्ने काम गरिरहेका छौं’ उनले भने, ‘अत्यधिक क्षति भएकाहरूका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय संघसंस्थामा समेत सहयोग माग गरिरहेका छौं ।’

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?