+
+

दुई बालकको मृत्युको घटनामा क्रसर उद्योगले २६ लाख दिने सहमति

प्रहरी भन्छ : घटनामा कसैको दोष देखिएन

हरि अधिकारी हरि अधिकारी
२०८१ असोज १८ गते २०:१७

१८ असोज, विराटनगर । मोरङमा बिहीबार क्रसर उद्योगले बनाएको खाल्डोमा डुबेर दुई बालकको मृत्यु भएको घटनामा क्रसर सञ्चालकले पीडित परिवारलाई २६ लाख रुपैयाँ दिने सहमति भएको छ ।

जनप्रतिनिधि, नेपाल प्रहरी र सामाजिक अगुवाको उपस्थितिमा भएको छलफलमा क्रसर सञ्चालकले मृतकको आफन्तलाई क्षतिपूर्ति दिने र घर बनाइदिने सहमति भएको छलफलका एक सहभागीले बताए ।

बिहीबार केराबारी गाउँपालिका–८ मा रहेको कृष्ण क्रसर उद्योगले उद्योग परिसरमा क्रसरले बनाएको खाल्डोमा डुबेर केराबारी–८ का तोयानाथ चौलागाईंका छोरा ६ वर्षीय रामचरण र ८ वर्षीय भूपेनको मृत्यु भएको थियो ।

शुक्रबार दिउँसो केराबारी गाउँपालिका अध्यक्ष सुमन मिरिङचिङको कार्यकक्षमा भएको छलफलमा सञ्चालकले मृतकका आफन्तलाई क्षतिपूर्ति र राहत बापत २५ लाख रुपैयाँ नगद दिने र घर बनाइदिने सहमति भएको गाउँपालिका उपाध्यक्ष मनमाया मगरले बताइन् ।

केराबारी गाउँपालिका– ८ का वडा अध्यक्ष कमलकुमार बस्नेतका अनुसार तत्काल किरिया खर्च बापत क्रसर सञ्चालकले एक लाख रुपैयाँ उपलब्ध गराएका छन् ।

केही दिनभित्र मृतक बालकको परिवारलाई २५ लाख रुपैयाँ दिने, घर बनाइदिने र दुई बालकको नाममा २ लाख रुपैयाँको अक्षयकोष बनाउने सहमति भएको छ । छलफलमा उक्त घटनाको विषयमा कतै उजुर नगर्न भनिएको एक सहभागीले बताए ।

छलफलमा गाउँपालिका अध्यक्ष मिरिङचिङ, उपाध्यक्ष मनमाया मगरलगायतका जनप्रतिनिधि, पीडित पक्ष, क्रसर सञ्चालक तथा पूर्वपालिका अध्यक्ष रोहित कार्की, इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक कृष्णबहादुर खत्रीलगायत उपस्थित थिए ।

उपाध्यक्ष मगरका अनुसार क्रसर सञ्चालकले माफी मागेको र पीडित परिवारलाई क्षतिपूर्ति दिने सहमति भएको हो ।

बालकको परिवारको घर नभएकाले एक वर्षभित्र घर बनाइदिने सहमति पनि भएको छ । ‘क्षतिपूर्ति बापत २५ लाख दिने र पीडितले जग्गा उपलब्ध गराए एक वर्षभित्र घर बनाइदिने सहमति भएको छ’, उनले भनिन्,’तत्काल एक लाख किरिया खर्च दिने र बालक पढ्ने स्कुलमा २ लाखको अक्षयकोष खडा गर्ने सहमति छ ।’

बालकका बाबु तोयानाथ सोही क्रसर उद्योगमा कार्यरत मजदुर हुन् । पीडितको कमजोर आर्थिक अवस्थाका कारण आपराधिक घटनामा पनि जनप्रतिनिधि, प्रहरी र सामाजिक अगुवाले मिलापत्र गराएको एक स्थानीयले बताए ।

क्रसरमा गाउँपालिका अध्यक्ष मिरिङचिङका बुवा नवीन पनि लगानीकर्ता हुन् । यो क्रसरमा गाउँपालिकाका पूर्वअध्यक्ष रोहित कार्की, रोशन सुब्बा, विशाल खरेललगायतको लगानी छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीले बालकको मृत्युमा कसैको दोष नदेखिएको बताए । यो घटना भवितब्य भएकाले त्यसै अनुसार अनुसन्धान गरिने उनले बताए ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?