+
+
स्थलगत :

कुलेखानीको बाढीले निलेको सिस्नेरी बजार

एक साताअघिसम्म शान्त सिस्नेरी बजारलाई एकै झमटमा तहसनहस बनाइदियो कुलेखानीको बाढीले । त्यहाँ अहिले कुनै बजार छैन, बगरमात्रै छ ।

रवीन्द्र घिमिरे शंकर गिरी रवीन्द्र घिमिरे, शंकर गिरी
२०८१ असोज १८ गते २०:४६

१८ असोज, काठमाडौं । सिस्नेरीमा अहिले बजार छैन, बगरमात्रै छ ।

मकवानपुर इन्द्रसरोबर–३ मा यसअघि रहँदै आएको यो सुन्दर बजार अहिले युद्ध सकिएपछिको भग्न ठाउँजस्तो देखिन्छ । अब सिस्नेरीमा सडकमाथिका ५–६ वटा घरबाहेक बजारको कुनै नामोनिशान छैन ।

साविकमा ठिक्कै आयतनमा बग्ने कुलेखानी खोला १२ असोजमा रौद्ररुपमा देखापर्‍यो । त्यहाँ आएको बाढीले बजार क्षेत्रको सडकको आधाभन्दा बढी भाग कब्जा गर्‍यो । अहिले पानीको सतह घटे पनि बस्तीको भाग बगर बनेको छ ।

सिस्नेरी क्षेत्रका पूर्ववडाध्यक्ष कृष्णबहादुर ठकुरी अझै पनि यो विध्वंश पत्याउन सकिरहेका छैनन् । हुन पनि सधैंजसो शान्त बग्ने कुलेखानी खोला त्यो दिन यसरी उर्लियो कि सिस्नेरी बजारलाई निल्न कत्ति बेर लागेन ।

‘मैले थाहा पाएपछि ५ पटक ठूला बाढी आए, यसपटक त अतिचार भयो’, ठकुरी भन्छन्, ‘कुलेखानी जलाशयको बाँध लगाएपछि हामीलाई आनन्द नै थियो, बाढी आउँदा पनि खोला झुसी भएर पानी सहजै जान्थ्यो, यसपटक त नसोचेको महामारी नै आइपर्‍यो ।’

ठकुरीजस्तै स्थानीयका लागि सिस्नेरी यो क्षेत्रको साझा बजार मात्रै थिएन, धेरै स्थानीयबासीको जनजीविकाको माध्यम थियो । आवश्यक सरसामान निकटमै किन्न पाइने सुविधास्थल थियो । कृषि कर्म गर्नेहरुको बिक्रीस्थल पनि यही बजार थियो । चिया पिउँदै गफिने ठाउँ थियो । कामबाट थाकेर आएका स्थानीयहरु जमघट हुने र छलफल गर्ने थलो थियो ।

दुई दशकअघि मकवानपुरबाट काठमाडौं जोड्ने छोटो दूरीको हेटौंडा–कुलेखानी–सिस्नेरी–बल्खु सडकमा सार्वजनिक जिप चल्न थालेदेखि नै सिस्नेरी बजारमा चहलपहल बाक्लिंदै थियो ।

यो सडक भएर यात्रा गर्नेहरु एक छिन भए पनि सिस्नेरी बजार झर्न खोज्थे । त्यहाँको मनोरम वातावरणसँग घुलमिल हुन चाहने धेरै हुन्थे । यो क्षेत्रमा कुलेखानीको माछाको स्वाद चाख्नेदेखि स्थानीय परिकारहरु खान पर्यटक लालायित हुन्थे ।

अझ सिस्नेरीको कोगटे खोलामा रहेको प्राकृतिक पौडी पोखरी (नेचुरल स्विमिङ पुल) ले दिनमा करिब २५० भन्दा बढी पर्यटक नियमित भित्र्याइरहेको थियो । काठमाडौं, हेटौंडा र वीरगञ्जदेखिका पर्यटक यो पोखरीमा पौडी खेल्न आउँथे ।

त्यसैले बजारमा खाना खाजाका होटलहरुको बाहुल्य थियो । बास बस्ने होटल पनि थिए । सिस्नेरी किराना, कपडा, भाँडा, औषधि जस्ता उपभोग्य वस्तुहरु किनबेच हुने केन्द्रका रुपमा विकास हुँदै थियो ।

४० वटा घर टहरामा थपिँदै गरेका पसल र होटलहरुले यो बजारलाई अरु गुल्जार बनाउँदै थिए ।

पानी त यसअघि पनि परेकै हो । झरी पनि सिस्नेरीका लागि नयाँ घटना होइन । अनि १२ असोजको बिहान ६ बजेसम्म कुलेखानी उर्लिरहँदा पनि उतिसाह्रो उग्र बनेको थिएन, बजारबासी डराएका थिएनन् ।

करिब साढे ६ बजे चट्याङ परेझैं खोला गडगडायो, ठूलो बेगमा खोला आयो । स्थानीयले गाइँगुइँ सुने, कुलेखानी जलाशयको बाँधबाट पानी छोडियो । उनीहरुलाई लागेको थियो, विगतमा जस्तो सुकै ओभरफ्लो भए पनि ठिक्क मात्रामा मिलाएर पानी छाडियो होला ।

तर, कुलेखानीको बाँधमुनिको पुल समेत धरापमा पार्नेगरी कुलेखानीको पानी छाडिएको सूचना पाउँदासम्म सिस्नेरी बजारमा रुवाबासी र भागाभाग चलिसकेको थियो । हेर्दाहेर्दै खोलाले छिनभरमै सिस्नेरीको बजार नै बढार्‍यो ।

केहीबेरमै धेरै स्थानीयलाई घरबारविहीन बनायो । बाहिर घर भएपनि बजारमा पसल चलाइरहेकाहरुको रोजीरोटी खोसियो । कुलेखानीले उनीहरुको सम्पत्ति र सपना बगाएर बागमतीमा सेलायो ।

डरलाग्दो दुःख भोगेकाहरु अझै राम्रोसँग निदाउन सकेका छैनन् । स्थानीय क्षेत्रका बालबालिकाहरु अझै पानी पर्नासाथ भयभीत हुन्छन् । अरु बेला स्थानीयको साथी बनेको खोलाले एकै दिनमा सत्रुले जस्तो पीडा दिएकोमा स्थानीहरुसँग गुनासोबाहेक केही छैन । तर कसलाई भन्ने, कसलाई गुहार्ने !

प्रकृतिले बगाएको खोला, अनि मान्छेले बनाएको बस्ती वर्षौंदेखि कुलेखानी खोला र सिस्नेरी नाममा साथसाथै बगिरहे, बसिरहे । तर १२ असोजपछिको सिस्नेरी कुलेखानी क्षेत्र हेर्दा यस्तो लाग्छ, मानौं मितेरी साइनो लगाएर बसेका दुई मितहरु ठूलो द्वन्द्वपछि आपसमा इबी साँधिरहेका छन् ।

कुलेखानीका बगरभरि सिस्नेरी बजारबाट बगाएर लगेका घरका काठपात र सरसामान यत्रतत्र छरिएका छन् । स्थानीयको लुगाफाटादेखि भाडाँकुडा कुलेखानीका बालुवाको गर्तमा बिलाएका छन् ।

स्थानीय लक्ष्मी नगरकोटी कुलेखानी खोला आफूहरुको सपनाको चिहानजस्तै बनेको बताउँछिन् । ‘२०५० सालमा पनि यो ठाउँमा यति ठूलो बाढी थिएन’, बगरमा आफ्नो पसल रहेको ठाउँ देखाउँदै उनी भन्छिन्, ‘बाढीअघि पसलबाट केही पनि सामान निकाल्न पाइएन, जे जति थियो सबै लग्यो ।’

दशैंका लागि उनले अरुले जस्तै ऋण गरेरै पसलमा सामान थपेकी थिइन् । चाडपर्व छेकामा ब्यापार पनि बढ्दै थियो । तर, पसलबाट उनको धनसम्पत्ति सबै खोलामा मिसियो ।

टाउकोमा थपिएको ऋणको भारी कसरी तिर्ने र अब कसरी खोला छेउमा जोखिम मोलेर बस्ने भन्ने तनावमा लक्ष्मीको परिवार छ ।

२०५९ सालतिरै बुवाको मृत्युपछि आमा र बहिनीहरुको रेखादेख गरेर बसेकी लक्ष्मीलाई यत्रो विपदमा पनि सरकारका तर्फबाट सहानुभूति समेत नपाएकोमा ठूलो गुनासो छ । कुलेखानीले एकैपटक बाँधबाट धेरै पानी खोलेर नदीमा छाड्दा यस्तो विपद आइपरेको भन्दै उनले सरकारले तुरुन्तै प्रभावितहरुका लागि विशेष व्यवस्था गर्नुपर्ने माग गरिन् ।

‘कुलेखानी जलविद्युत आयोजनाको लापरवाहीले यो घटना भयो, त्यसमाथि पहाडमा पनि जथाभावी सडक खनियो’, उनी भन्छिन्, ‘सडक विभागले जथाभावी ढुंगामाटो खनेर फालिंदिदा सानो खोला पनि पुरिएर यत्र विनाश गर्‍यो ।’ घर समेत बाढीले क्षतिग्रस्त बनाएको र पालेका ७ वटा बाख्रा समेत बगेको उनले बताइन् । कति बाख्रा त अझै खोरमै मरेको उनले बताइन् ।

सिस्नेरीमा लक्ष्मीजस्ता पीडित धेरै छन् । स्थानीय मात्रै हैन, भारतबाट आएर सिस्नेरीमा व्यवसाय गरिरहेकाहरुको पसल कुलेखानीमा बगेको छ । सबैको गुनासो एउटै छ, विपद त पर्‍यो पर्‍यो, सोध्न र सान्त्वना दिन समेत कोही आएनन् ।

यो घटनापछि सिस्नेरी बजारकी कोपिला नगरकोटीको अझै आँखा ओभाएका छैनन् । उनको गरिखाने एउटा घट्ट र केही खेत थियो । त्यही घट्ट र खेतको कमाइले उनको परिवारले गुजारा चलाइरहेको थियो ।

तर, १२ असोजमा उनको परिवारमाथि चट्याङ परेजस्तै भयो । घट्ट र खेत मात्रै हैन, लगाउने लुगाफाटा समेत नराखी सबै बगायो । गडगडाउँदो खोलाले जगसमेत हल्लाएको उनको घर पनि अहिले बस्न योग्य छैन ।

त्यसैले कोपिला मात्रै हैन, उनका पति पनि विक्षिप्त हालतमा छन् । टोलाएर आफ्नो घट्ट भएको ठाउँतिर हेरेर बसेका उनले बोल्न मानेनन् ।

बाढी आएको दिनदेखि बिरामी परेका श्रीमानका लागि कोपिलाले औषधि किन्न समेत पाएकी छैनन् । उनका जेठा छोराले सिस्नेरीमा बनाएको पसल घर समेत कुलेखानीमै बगेकाले दुःख थपिएको छ ।

‘हामीले केही झिक्न पाएनौं, अहिले हामीलाई के कसो भयो भनेर सोध्न कोही आएको छैनन्’, कोपिला भन्छिन्,‘हामी यहाँ ४ दाजुभाइका १५ भन्दा बढीको परिवार यही जोखिम मोलेर बसेका छौं, २ बोरा चामलबाहेक अरु केही राहत पाएका छैनौं ।’

सिस्नेरीको होटल पिस जोन– जसमा कुनै शान्ति छैन । यो होटलमा मात्रै लाखौंको क्षति भएको छ । यसका सञ्चालकले सरकारसँग गुनासो गर्नु र आफनो दुःख सञ्चारमाध्यममा सुनाउनुको कुनै अर्थ नै नरहेको बताए ।

नाम समेत भन्न नमानेका उनले भने, ‘हाम्रो दुःख हामीसँगै छ, कसलाई सुनाएर के हुन्छ ?’ उनले आफ्नो घरमा बसेको मेडिकल हलको मात्रै ४० लाख रुपैयाँको क्षति भएको भन्दै सरकारसँग केही अपेक्षा नभएको बताए ।

सिस्नेरीमा वर्कसप चलाइरहेका शिवराम थापा मगरको कथा पनि अरुको भन्दा फरक छैन । उनको पनि वर्कसपको उपकरणदेखि मेसिनसम्म सबै सामग्री खोलाले लग्यो ।

अहिले सिस्नेरीमा आइपुगेर अलपत्र परेका मोटरसाइकलहरु मर्मत गरिरहेका उनीसँग काम गर्ने औजार समेत छैन । बजार पारि रहेको उनको ५ रोपनी खेत समेत खोलामै मिसियो । पाक्न लागेको धान काट्न नपाउँदै भएको यो घटनापछि उनी यसको दोष नेपाल विद्युत प्राधिकरणले लिनुपर्ने बताइरहेका छन् ।

‘यहाँ धेरैले दशैंका बेला व्यापार हुन्छ कि भनेर १०–२० लाख ऋण गरेरै भए पनि सामान हालेका थिए, त्यही बेला नै यो घटना भयो’, उनले भने, ‘कुलेखानीको बाँध खुल्ने कुरा २ दिनअघि नै थाहा भएको भए कम्तीमा सबैले आफ्नो सामान निकाल्न पाउँथे ।’

११ असोजको साँझ सरकारले कुलेखानीको बाँध खोल्नुपर्ने हुनसक्ने ब्यहोराको पूर्वचेतावनी नदिएको हैन । तर, विगतमा यस्ता सूचना आउँदा प्राधिकरणले सामान्य मात्रामा मात्रै बाँध खोल्ने गरेकाले यसपटक पनि त्यस्तै हुने अनुमान स्थानीयको थियो ।

अहिलेसम्म कुलेखानीमा यत्रो बाढी नै आएको थाहा नपाएकाहरुले यस्तो जोखिमको आकलन गर्न सक्ने कुरै थिएन ।

सूचना आएपछि बत्ती पनि गएको र धेरैले पसल बन्द गरिसकेकाले बिहान जोखिम हेरेर पसलको समान सार्ने योजनामा धेरै थिए । तर, पसल बन्द गरेर घर गएकाहरु कोही विहान खोला बढेर र विभिन्न ठाउँमा पहिरो गएर बजारसम्म आउन नै पाएनन् । आएकाहरुले सामान निकाल्ने तयारी गर्दैगर्दा खोलाले भयंकर रुप लिइसकेकाले जाखिम मोल्ने आँट धेरैले गरेनन् ।

तरकारी पसल र होटल गुमाएकी सविता नगरकोटी पनि कुलेखानी जलविद्युत आयोजनाले लापरवाहीले आफ्नोसहित दर्जनौं व्यक्तिको पसल, खेत र बाली बगाएको बताउँछिन् ।

‘यहाँ खाने बस्ने व्यवस्था राम्रो भइसकेको थियो, बाटो पनि यति राम्रोसँग विस्तार भइसकेको थियो’, उनी भन्छिन्, ‘बाढीले नारायणगढ, र बुटवलका मान्छेसमेत हिँड्ने यो सडक मात्रै लगेन, हाम्रो गरिखाने सबै बाटो बन्द गरिदियो ।’

सविताले आफूले ऋण गरेर भाडाको जग्गामा लगाएको धान, फूल र तरकारी खेती समेत बाढीले नष्ट गरेको बताइन् । दशैंमा बेच्ने तयारीमा रहेको फूलसमेत बाढीमा बगेको भन्दै उनले यस्तो पीडा सरकार समेत आफूहरुको साथमा छ भन्ने अनूभूति नपाएको बताइन् ।

‘अहिले हामी बाढीबाट जोगिएको प्रतिक्षालयमा सामूहिक मेस चलाएर खाना खाँदैछौं, वडाले दिएको चामल र आलुसमेत सकिएर हामीले हिजो समस्या भोग्यौं’, सविताले भनिन्, ‘यहाँ स्थानीयलाई खानेकुरा मात्रै हैन, खानेपानी, शौचालयको समेत समस्या छ ।’

इन्द्रसरोबर गाउँपालिका–३ का पूर्ववडाध्यक्ष चिरञ्जीवी पौडेल स्थानीय वयोवृद्धले २०११ सालमा समेत यत्रो बाढी नदेखेको बताउँछन् । २०५० सालमा आएको बाढीले खोलाको किनारमा रहेको केही खेतहरु कटान गरेको थियो । तर अहिले बस्ती समेत बगाएको उनको भनाइ छ ।

‘खोलामा कल्पना गरेको भन्दा तीन गुणा ठूलो बाढी आयो, हामीलाई के लाग्छ भने यसमा नेपाल विद्युत प्राधिकरणको लापरवाही छ’, उनले भने, ‘यति ठूलो परिमाणमा कुलेखानीबाट पानी छोडिन्छ भन्ने कल्पना र पूर्वसूचना केही थिएन ।’

बाढीले प्रहरी चौकी समेत बगाएको भन्दै उनले अहिले सिस्नेरी बजारको सौन्दर्य उजाड बनेको बताउँछन् । यहाँसम्म आउने सडकखण्ड समेत क्षतिग्रस्त भएकाले सिस्नेरी अहिले समस्याग्रस्त बन्न पुगेको पूर्ववडाध्यक्ष पौडेल बताउँछन् ।

‘अब राज्यले यहाँको जोखिमयुक्त क्षेत्रका जनताका जग्गा प्राधिकरणले उचित मुआब्जा लिनुपर्छ’, उनी भन्छन्, ‘कुलेखानीको बिजुलीको लाभ समग्र रुपमा देशले लिइरहेको छ, तर यसको सबै जोखिम बोक्दै क्षतिको मूल्य पनि हामीले चुकाउनु परिरहेको छ ।’

हेर्नुहोस् थप तस्वीरहरु

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

शंकर गिरी

शंकर गिरी फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?