+
+
पुस्तक :

केबलकारका पायोनियर, एक क्रान्तिकारी र साहसी

चितवनको कुरिनटारबाट गोरखाको मनकामना मन्दिर पुग्ने केबलकार निर्माण नेपालको धार्मिक पर्यटन मात्र नभई, विकासकै एउटा नमूना थियो । यो क्रान्तिकारी निर्माणको अगुवा लक्ष्मणबाबु श्रेष्ठबारे उनको देहान्त भएको १० वर्षपछि आएको पुस्तकमा थुप्रै रोचक तथ्यहरू समेटिएको छ ।

विनोद ढकाल विनोद ढकाल
२०८१ असोज १९ गते ८:१७

पृथ्वी राजमार्गमा यात्रा गर्दा कुरिनटार नजिक पारिपट्टि पहाडमा साना साना बाकस तल-माथि गर्दा धेरैले अचम्म मान्थे । बिजुलीको तारमा झुण्डिएर तल-माथि गर्ने त्यो डिब्बामा मनकामना मन्दिर जाने-आउने भक्तजनहरू हुन्थे । धेरैले जीवनकालमा एक पटक केबलकार चढ्ने रहर साँचेका हुन्थे ।

हिजोआज त नेपालमा केबलकार सर्वसुलभ भइसक्यो । काठमाडौंको चन्द्रागिरि, नवलपरासीको मौलाकालिका, रूपन्देहीको बुटवल, दोलखाको कालिञ्चोक, तनहुँको बन्दीपुर, पोखराको सराङकोट लगायत ठाउँमा केबलकार बनिसके ।

अझै पनि कतिपय धार्मिक तथा पर्यटकीय स्थलमा केबलकार निर्माणको तयारी भएको छ । अहिले जति सजिलोसँग केबलकार बनिरहेको छ, २५ वर्षअघि भने यो नौलो कुरा थियो । नेपालमा पहिलो पटक केबलकार भित्र्याउने आँट गरेका थिए, गोरखाका व्यवसायी लक्ष्मणबाबु श्रेष्ठले । ८ मंसिर २०५५ मा पृथ्वी राजमार्गको कुरिनटार नजिकै चेरेस भन्ने ठाउँबाट मनकामना मन्दिरसम्म केबलकार सञ्चालन भयो । त्यसपछि दोस्रो केबलकार १५ वर्षपछि मात्र बन्यो, त्यसपछि त एकपछि अर्को बनिरहेकै छ ।

पहिलो केबलकार निर्माणको नालीबेली र केबलकार निर्माणकर्ताका बारेमा हालै एउटा पुस्तक प्रकाशित भएको छ- ‘नेपालमा केबलकारका स्रष्टा लक्ष्मणबाबु श्रेष्ठ ।’

लक्ष्मणबाबु स्मृति कोषले प्रकाशन गरेको यो पुस्तक जयराज आचार्य र विवेक गौतमले लेखेका हुन् । उनीहरूले यो पुस्तक लेख्न ३५ महिना अनुसन्धान गरेको र लक्ष्मणबाबुको समकालीन तथा परिवारका सदस्यसँग कुराकानी गरेको बताएका छन् ।

यो पुस्तकले नेपालमा केबलकार भित्र्याउँदाको अप्ठेराका विषयमा विस्तृतमा जानकारी दिन्छ । त्यस्तै आफ्नो आँट र साहसबाट सामान्य मान्छेले पनि कठिन कामहरूमा सफलता हासिल गर्न सकिन्छ भन्ने प्रेरणा दिनेछ ।

लक्ष्मणबाबु श्रेष्ठ पेशाले निर्माण व्यवसायी थिए । ठूला सार्वजनिक भवन, अस्पताल, होटल, सिंचाइ नहर, बसपार्क जस्ता ठूला संरचना निर्माण गरेका उनले केबलकार निर्माणको सपना देख्दा धेरैले पत्याएका थिएनन् ।

अहिले जस्तो पानी तान्ने मोटर नभएको र पानी बोक्न यातायातको साधन पनि नभएकाले महिला कामदारलाई गाग्रीमा पानी बोकाएर ल्याई सिमेन्ट घोलिएको थियो । अष्ट्रियन इन्जिनियरहरू टावरको सुपरीवेक्षण गर्न ५ घण्टा हिंडेर पुग्थे । टावर र स्टेशनका लागि चाहिने फलाम र स्टिलका सामानहरू खच्चड र भरियाले ४/५ घण्टा लगाएर बोकेका थिए

तर, गोरखाबाट काठमाडौं धेरै पटक हिंडेर आउजाउ गरेका उनले एउटा डाँडाबाट अर्को डाँडा जोड्ने कुनै साधन भए हुन्थ्यो भन्ने कल्पना सानैदेखि गरेका थिए । श्रेष्ठले हेटौंडामा निर्माण व्यवसाय गर्दा हेटौंडा–काठमाडौं रोप-वे देखेका थिए । त्यही बेला उनले रोप वेको सञ्चालन र व्यवस्थापनबारे जानकारी लिए, निर्माणस्थलको भ्रमण गरे । पुस्तकालय गएर रोपवे र केबलकारबारे अध्ययन गरे । अन्तर्राष्ट्रिय विज्ञहरूसँग चिठी मार्फत प्राविधिक पक्षबारे कुराकानी गरे । यही विषय बुझ्न विदेश भ्रमण पनि गरे ।

२०५२ सालतिर मनकामनामा केबलकार निर्माणबारे बुझ्ने उद्देश्यले लक्ष्मणबाबु श्रेष्ठ उद्योग मन्त्रालय पुगेका थिए । त्यहाँ पुग्दा थाहा भयो-

केबलकार बनाउने लाइसेन्स अरूले नै लिइसकेका थिए । ती व्यक्तिले काम गरेका थिएनन् तर लाइसेन्स रद्द नभएकाले लक्ष्मणबाबुले पाउने सम्भावना भएन ।

मन्त्रालयका तत्कालीन निर्देशक भानु आचार्यले लाइसेन्स लिने व्यक्तिसँग बुझेर केबलकार बनाउने वा नबनाउनेबारे जानकारी लिइदिने बताए । पछि उद्योग मन्त्रालयले पहिलेको लाइसेन्स रद्द गर्‍यो र लक्ष्मणबाबुलाई दियो ।

‘क’ वर्गको निर्माण कम्पनी चितवन कोई प्रालिका सञ्चालक श्रेष्ठसँग त्यतिबेला केबलकार बनाउने जनशक्ति हुने कुरा पनि भएन ।

हाल केबलकारको तल्लो स्टेशन रहेको चेरेस बाक्लो झाडी र भिरालो जमिन थियो । त्यहाँ बाँदर पनि प्रशस्त लाग्थ्यो । ‘यस्तो विकट ठाउँमा कसरी यस्तो ठूलो परियोजना खडा गर्ने र पछि परिणाम कस्तो निस्क्ने हो भनेर चिन्ता र डर लाग्थ्यो । तर बुबा हामीलाई बारम्बार भन्नुहुन्थ्यो पर्ख न म गरेरै छाड्छु, ढुक्क होऊ यसको राम्रो परिणाम आउनेछ’, पुस्तकमा छोरी रोशनाले भनेकी छन् ।

मनकामना केबलकारको गुरुयोजना निर्माणमा फूलबारी रिसोर्ट निर्माणका क्रममा लक्ष्मणबाबुले ल्याएका डच आर्किटेक्ट पिटर गार्माराडले महत्वपूर्ण काम गरे । उनले दुई वर्ष फिल्डमा खटिएर केबलकारको ल्याण्डस्केपिङ र आर्किटेक्चरल डिजाइन गरे । केबलकारको तल्लो र माथिल्लो स्टेशनको डिजाइन नेपाली इन्जिनियर रामहरि श्रेष्ठले गरे ।

लक्ष्मणबाबु विज्ञ र कन्सल्टेन्ट नियुक्त गर्न हिच्किचाउँदैनथे । यस्ता कुरामा खर्चको त्यति परवाह गर्दैनथे । ‘कन्सल्टेन्टहरू महँगा त हुन्छन् तर उनीहरू राम्रो डिजाइन गर्छन्, कार्यान्वयनमा कुशलता ल्याइदिन्छन् । समयमै काम सकिने, गुणस्तरमा वृद्धि हुने, कम्पनीको छवि राम्रो हुने एवं खर्च कम गर्ने उपायहरू अपनाउन सकियो भने उनीहरूमा गरेको लगानी उठाउन सकिन्छ भन्थे’, पुस्तकमा लक्ष्मणबाबुबारे भनिएको छ ।

एक दिन राजा वीरेन्द्र सहित राजपरिवारका सदस्यहरू पनि मनकामना आएका थिए । त्यस क्रममा राजा वीरेन्द्रले लक्ष्मणबाबुलाई सोध्छन्ति-मीलाई यसबाट नाफा नोक्सान के भएको छ ? लक्ष्मणबाबुले जवाफ दिन्छन्– ‘सरकार मलाई नाफा भएको छ र पूरै देशलाई पनि ।’

केबलकार बनाउनुअघि लक्ष्मणबाबुले २०५२ सालमा अष्ट्रियाको भ्रमण गरेका थिए । त्यहींको डोपल मायर कम्पनीको प्रविधि ल्याएर उनले केबलकार बनाए । स्टेशन राख्ने उपयुक्त स्थान छनोट गर्न र मेसिनहरू जडान गर्न अष्ट्रियाबाट प्राविधिकहरू पनि आएका थिए । अष्ट्रियाको टोलीले धेरै विकल्प हेरेपछि राजमार्गबाट नजिकै मनकामना मन्दिरसम्म जान छोटो दूरी भएकाले अहिलेको स्टेशनलाई रोजेको थियो ।

मनकामनामा केबलकार निर्माणको काम धमाधम चलिरहेका बेला विदेशबाट आयात गरिएका केबलकारका सामानहरू वीरगञ्ज भन्सारमा रोकिए । सरकारले त्यतिबेलादेखि नै विद्युतीय गाडीमा कर छुटको नीति लिएको थियो । तर, त्यसअघि नेपालमा नभएकाले कर छुट पाउने सूचीमा केबलकार थिएन । लक्ष्मणबाबुले केबलकार विद्युत्बाट चल्ने हुनाले यसले पनि कर छुट पाउनुपर्ने माग राखे । तर, सरकारले तीन महिनासम्म निर्णय गरेन । यता सामान नभएर अष्ट्रियाबाट आएका प्राविधिकहरू कामविहीन भइसकेका थिए । अन्ततः लक्ष्मणबाबुले कर तिरेरै ती सामान छुटाए । त्यसको पछिल्लो वर्षमा भने सरकारले केबलकारको सामानलाई कर छुटको सूचीमा राख्यो । ‘पायोनियर व्यक्ति र संस्थाले दुःख पाउँछ भन्ने भनाइ हामीमा पनि लागू भयो’, पुस्तकमा छोरा राजेशबाबुले भनेका छन् ।

केबलकारले नेपालको पर्यटन क्षेत्रमा एउटा क्रान्ति नै ल्याइदियो । केबलकार बन्नुअघिसम्म मनकामना मन्दिर जान पैदल बाटो मात्र थियो, सडक बनिसकेको थिएन ।

तनहुँको आँबुखैरेनीबाट ४ देखि ५ घण्टा उकालो हिंडेर मात्र मनकामना मन्दिर पुगिन्थ्यो । मुग्लिनबाट हिंडेर जाँदा पनि त्यति नै समय लाग्थ्यो । त्यहाँ सामानहरू खच्चड र भरियाले बोकेर लैजान्थे । बुढाबुढीहरू मनकामना मन्दिर जान भरियाको बुई चढेर जानुपथ्र्यो । केबलकार बनेपछि भने शनिबार र दशैं जस्ता चाडपर्वमा एकै दिन ८ हजार जनासम्म मनकामना पुगेका छन् । केबलकारको तल्लो स्टेशनबाट मनकामना मन्दिर १० देखि १२ मिनेटमा पुगिन्छ । केबलकार सञ्चालनमा आएपछि चितवनको कुरिनटार र मनकामना मन्दिर क्षेत्रमा धेरै होटल व्यवसाय सुरु भए, मनकामना मन्दिर वरपर दर्जनौं होटल, रेस्टुरेन्ट र क्युरियो पसलहरू सञ्चालन भए ।

पुस्तकमा राजा वीरेन्द्र र लक्ष्मणबाबुको रोचक संवाद समावेश छ । केबलकार सञ्चालनपछि एक दिन राजा वीरेन्द्र सहित राजपरिवारका सदस्यहरू पनि मनकामना आएका थिए । त्यस क्रममा राजा वीरेन्द्रले लक्ष्मणबाबुलाई सोध्छन्- तिमीलाई यसबाट नाफा नोक्सान के भएको छ ?

लक्ष्मणबाबुले जवाफ दिन्छन्-सरकार मलाई नाफा भएको छ र पूरै देशलाई पनि ।

राजाले खुशी हुँदै भने-‘वाह् ! अहिलेसम्म मैले सोधपुछ गरेका उद्योग धन्दामा तिमी मात्र एक व्यक्ति निस्कियौ उद्योग धन्दाबाट फाइदा भयो भन्ने । जसले पनि यो भएन सरकार त्यसैले घाटामा छु भन्थे, तिमी मात्र फाइदा गरेको छु भन्ने नेपाली देखें ।’

गाग्रीमा पानी बोकेर टावर ठड्याइयो

पुस्तकका अनुसार केबलकारको टावर र स्टेशनको जगमा सिमेन्ट र कंक्रिट जमाउन एक घण्टा टाढाबाट गाग्रीमा पानी ल्याइएको थियो । मनकामना अग्लो भूभागमा रहेका कारण त्यहाँ अहिले पनि पानीको समस्या छ ।

अहिले जस्तो पानी तान्ने मोटर नभएको र पानी बोक्न यातायातको साधन पनि नभएकाले महिला कामदारलाई गाग्रीमा पानी बोकाएर ल्याई सिमेन्ट घोलिएको थियो ।

अष्ट्रियन इन्जिनियरहरू टावरको सुपरीवेक्षण गर्न ५ घण्टा हिंडेर पुग्थे । टावर र स्टेशनका लागि चाहिने फलाम र स्टिलका सामानहरू खच्चड र भरियाले ४/५ घण्टा लगाएर बोकेका थिए ।

मिर्गौलाको समस्याबाट पीडित लक्ष्मणबाबु श्रेष्ठको १ फागुन २०७० मा मृत्यु भएको थियो । उनको मृत्यु भएको १० वर्षपछि पुस्तक प्रकाशन भएकाले यसमा लक्ष्मणबाबुको आफ्नै दृष्टिकोण र अनुभव पढ्न पाइँदैन । लक्ष्मणबाबुलाई नजिकबाट चिन्नेहरू, सँगै काम गरेकाहरू, परिवारका सदस्यहरूको कुराकानीबाट पुस्तक तयार पारेकाले नेपालमा केबलकारको सुरुवातका साथसाथै एक साहसी र जोखिम मोल्न मन पराउने व्यवसायीबाट युवा पुस्ताले धेरै कुरा सिक्न सक्छन् ।

एक क्रान्तिकारी र साहसी

लक्ष्मणबाबुका पुर्खाहरू पाटनबाट १६१३ तिर गोरखा गएका थिए । व्यापारी परिवारका सदस्य लक्ष्मणबाबु जन्मिएको समय १९९२ तिर गोरखामा विद्यालयहरू थिएनन् । एउटा सामान्य भाषा पाठशाला थियो, त्यहाँ नेपाली र संस्कृत भाषा पढाइ हुन्थ्यो । लक्ष्मणबाबु २००७ सालमा काठमाडौं आएर जुद्धोदय हाईस्कुलमा ६ कक्षामा भर्ना भए र २०११ सालमा म्याट्रिक पास गरे । त्यसपछि उनी कम्युनिस्ट पार्टीमा आवद्ध भए । उनी गोरखामा कम्युनिस्ट पार्टीको पहिलो पंक्तिकै नेतामा पर्थे, विद्यार्थी संगठनको जिल्ला सचिव थिए । उनले कम्युनिस्ट राजनीति गरेको परिवारमा भने कसैले मन पराएनन् । उनी काठमाडौं आएर आईएस्सी पढ्दै राजनीति पनि गर्दै गए । २०१३ सालमा टंकप्रसाद आचार्य मन्त्रिपरिषद्का स्वास्थ्य सहायक मन्त्री खगेन्द्रजंग गुरुङले उनलाई स्वकीय सचिव राखे । त्यसका लागि उनले पार्टीबाट अनुमति माग्दा नदिएपछि सक्रिय राजनीतिबाट विस्तारै टाढिए र व्यापार व्यवसायतिर लागेको पुस्तकमा उल्लेख छ ।

२०४६ सालको जनआन्दोलनपछि २०४८ सालका आम निर्वाचनमा वाम मोर्चाबाट उनलाई गोरखामा उम्मेदवार बन्न प्रस्ताव आएको थियो तर दाजुहरूले व्यापार र राजनीति सँगै अघि बढ्न नसक्ने भनेर असहमति जनाएपछि लक्ष्मणबाबु पछि हटे । पुस्तकका अनुसार संविधानसभाको पहिलो चुनावमा माओवादीले उनलाई संविधानसभा सदस्य हुन प्रस्ताव गरेको थियो । यसमा पनि परिवारका सदस्यहरूकै कारण उनले त्यागिदिए ।

 उनले नेपाल प्रहरीको इन्स्पेक्टर र नेपाली सेनाको सेकेन्ड लेफ्टिनेन्टमा पनि नाम निकालेका थिए । यसमा पनि उनका दाजुहरूले व्यापारी परिवारका व्यक्ति फौजीमा जानु उपयुक्त नहुने भनेकाले उनी रोकिएको पुस्तकमा उल्लेख छ ।

लक्ष्मणबाबुले परिवारका सदस्यको मन्जुरी विनै २०१६ सालमा ठकुरी परिवारमा विवाह सम्बन्ध जोडे । उनी त्यसपछि लामो समय परिवारबाट टाढा रहे । त्यहीबेला उनले निर्माण व्यवसाय सुरु गरे । पहिलो पटक उनले चितवनको यज्ञपुरीमा बागबानी फारमका कार्यालय र आवासीय भवनहरू बनाए । उनले चितवनमा निजी विद्यालय सञ्चालन गरे भने हेटौंडामा विद्युत् विभागका लागि डिजल प्लान्ट बनाए । २०३२ सालमा उनले आफ्नो निर्माण कम्पनी चितवन कोई प्रालि स्थापना गरे ।

उनले बनाएका ठूला परियोजनामा चितवनको नारायणी सिंचाइ परियोजना, नेपाल टेलिभिजन भवन, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गोंगबु बसपार्क, मणिपाल मेडिकल कलेज, कोहलपुर मेडिकल कलेज, फूलबारी रिसोर्ट, रातो बंगला स्कुल, बाँसबारीको न्यूरो अस्पताल, मनकामना केबलकार र अन्नपूर्ण केबलकार आदि रहेका छन् ।

झण्डै टाट पल्टिए

हेटौंडामा विद्युत् विभागका लागि डिजल पावर प्लान्ट बनाउँदा लक्ष्मणबाबु ठूलो आर्थिक संकटमा परेका थिए । पुस्तकमा लक्ष्मणबाबुलाई नजिकबाट चिन्ने गोरखाका एक व्यापारीले भनेका छन्, ‘लक्ष्मणबाबु टाट उल्टिनबाट मुश्किलले बचे ।’

उनको भनाइमा हेटौंडाको त्यो आयोजना भर्खरै निर्माण व्यवसाय सुरु गरेका लक्ष्मणबाबुका लागि ठूलो थियो । त्यसमाथि उनले आफैंले धेरै ध्यान पनि दिएका थिएनन् । प्राविधिक त्रुटिका कारण त्यहाँ भर्खरै बनाएको भवनको छत खस्यो, त्यसपछि त्यो घर पूरै भत्काएर नयाँ बनाउनुपर्‍यो । त्यसो नगरे इन्जिनियरले बिल स्वीकृत नगर्ने भयो । बनिसकेको भवन फेरि भत्काएर बनाउँदा लक्ष्मणबाबु ठूलो संकटमा परेका थिए । उनलाई त्यतिबेला दाजुभाइले जग्गा बेचेर पैसा दिएका थिए । उनीहरूले चितवनको माडीमा रहेको ३६ बिघा जग्गा बेचेर ७२ हजार रुपैयाँ र गोरखाका अरू केही जग्गा बेचेर पनि रकम सहयोग गरेका थिए । केही रकम भने लक्ष्मणबाबु आफैंले ऋण खोजेका थिए ।

उनले त्यसपछि पाएको चितवन सिंचाइ परियोजनाबाट भने पहिलेको नोक्सानीको क्षतिपूर्ति गरेका थिए ।

लेखकको बारेमा
विनोद ढकाल

ढकाल अनलाइनखबर डटकमका डेस्क सम्पादक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?