+
+

रमेश क्षितिजको कथा सङ्ग्रह ‘एउटा मायी नगरमा’ लोकार्पण

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १९ गते १२:४६

काठमाडौं । रमेश क्षितिजको कथा सङ्ग्रह ‘एउटा मायी नगरमा’ लोकार्पण भएको छ । काठमाडौंमा आयोजित एक समारोहमा उनका पिता पवित्रराज न्यौपानेले सङ्ग्रहको लोकार्पण गरेका हुन् ।

कथा सङ्ग्रहबारे टिप्पणी गर्दै लेखक कुमार नगरकोटीले नेपाली कथा लेखनमा क्षितिजको प्रवेश कथाको नयाँ क्षितिज भएको बताए । उनले भने, ‘सामाजिक यथार्थदेखि अतियथार्थ, म्याजिकल रियालिज्मदेखि एआईको दुनियाँसम्मका १७ वटा फरक कथाले पाठकलाई छुट्टै मात दिन्छन् । कथा भन्ने शैली, लेखनको भाषा र पात्र, परिवेश र चरित्र चित्रण सर्वथा नौलो छ । यी कथा पढेर म चकित ओ चकित र प्रसन्न ओ प्रसन्न भएको छु,’ उनले भने ।

कथा पढ्नुअघि आफूले अति प्रेमले पढेको कविले कतै कथा पठनपछि निराश पो बनाउने हो कि भनेर डराएको तर पढिसक्दा कथा संसारमा यसरी पनि प्रवेश गर्न सकिने रैछ र कथा यसरी पनि भन्न सकिने रैछ भन्ने बोध भएको उनले बताए । ‘एउटा मायी नगरमा’का कथा साँच्चै जादुयी छन् । नेपाली आख्यान लेखनमा क्षितिजको प्रवेशले अर्को एउटा मानक खडा गर्नेछ,’ उनले थपे ।

समारोहमा आफ्नो कथा लेखनको यात्रा निकै लामो भए पनि बीच-बीचमा कथाकार रमेश क्षितिज हराएको टिप्पणी लेखक क्षितिजले गरे ।

४० वर्ष कविता लेखिरहँदा कथा लेखनमा आफूले जोखिम उठाएको उनले बताए । ‘म सधैँ भीडबाट अलग रहन मन पराउने मान्छे, कथा पनि अलग लेख्ने कोसिस गरेको छु । प्रकाशक भूपेन्द्र खड्काले एक दशकदेखि नघचघचाएको भए यति चाँडै मैले यी कथा लेख्न सक्दिनथें,’ उनले भने ।

समारोहमा गायक विश्व नेपाली र उनको सङ्गीतिक समूहले रमेश क्षितिजका नमाग मसँग, आफूलाई भुलिरहें, आँखाभरि हिउँचुली, अचानोलाई थाहा होला, बटुवा, दशैं सम्झें र किताबको शीर्ष गीत एउटा मायी नगरमा गीतहरू प्रस्तुत गरेको थियो ।

बुकहिलले प्रकाशन गरेको १७ वटा फरक कथाहरूको यस सङ्ग्रहको मुद्रण पनि कलर थिमअनुसार आकर्षक गरिएको छ ।

२७२ पृष्ठको हार्ड कभर पुस्तकको मूल्य ७५० रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?