+
+

दशैंको संघारमा रेसुङ्गा विमानस्थलमा लगातार उडान अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १९ गते १६:१३
रेसुंगा विमानस्थलको फाइल तस्वीर ।

१९ असोज, गुल्मी । गुल्मीको रेसुंगा विमानस्थलबाट दशैंको मुखमै उडान अवरुद्ध भएको छ ।

मौसम खराबीका कारणले ४ असोजदेखि उडान अवरुद्ध भएको नेपाल एयरलाइन्सका रेसुङ्गा विमानस्थल स्टेशन प्रमुख सुमन थापाले बताए ।

काठमाडौंबाट गुल्मीसम्म नेपाल एयरलाइन्सको ट्वीन अटर जहाजले हप्ताको २ दिन बुधबार र शुक्रबार उडान गर्दै आएको थियो । एक समय यात्रुको चाप बढेको भन्दै सातामा तीन उडान गरिएको थियो । तर पछिल्लो समय शुक्रबार मात्र उडान हुने गरेको थियो । त्यही पनि अहिले अवरुद्ध भएको हो ।

रेसुङ्गा विमानस्थलका लागि काठमाडौंबाट बिहान ६ बजेर ३० मिनेट र काठमाडौंका लागि बिहान ७ बजेर ४५ मिनेटमा उडान हुने गरेको छ । बिहानी समयमा बादल लाग्ने गरेकाले लगातार उडान अवरुद्ध हुदै आएको स्टेशन प्रमुख थापाले बताए ।

दशैंका बेला धेरै मानिसहरु गाउँ फर्किरहेका छन् । तर जहाज चढेर गुल्मी आउन चाहनेहरुले पाएका छैनन् । गुल्मीका बासिन्दा जनक पन्थले मौसम खराबीको कारण देखाएर लगातार उडान अवरुद्ध गर्नु उचित नहुने बताए ।

गुल्मीबाट काठमाडौंका लागि ७ हजार ८० र काठमाडौंबाट गुल्मीका लागि ७ हजार २८० रुपैयाँ भाडा तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?