+
+
स्थलगत :

‘बस्ने रहर लाग्दालाग्दै घर गयो’

खोलाघारी क्षेत्र रोशी खोलाबाट जोखिममा पर्ने कुनै सम्भावना देखिंदैनथ्यो । खोला गहिरो ठाउँ भएर बग्ने भएकाले घरसम्म आइपुग्ला भन्ने नवराज केसीले कल्पनासम्म गरेका थिएनन् ।

विकास रोकामगर विकास रोकामगर
२०८१ असोज १९ गते १७:१३

१९ असोज, काभ्रे (खोलाघारी) । गाउँको कुनामा ३० फिट फराकिलो भएर बगेको रोशी खोला, त्यससँगै २६ फिट फराकिलो सडक । सडकबाट पनि २० फिट ठाउँ छाडेर नवराज केसीले ३ वर्षअघि पक्की घर बनाएका थिए ।

६२ वर्षीय केसीले कहिल्यै कल्पना गरेका थिएनन्– घरबारीभन्दा टाढा शान्त बगेको रोशी खोलाले कुनै दिन उग्र रुप लेला, आफूलाई भताभुंग बनाउला र सडकमा ल्याइपुर्‍याउला !

केसीका लागि असोज १२ गते दुस्वप्न बनेर आइदियो । १० गते रातिदेखि १२ गते बिहानसम्म परेको भारी वर्षासँगै रोशी खोलामा आएको बाढीले केसीलाई अकल्पनीय क्षति पुर्‍याएको छ ।

करिब ५ रोपनी खेत बगर बनेको छ । त्यही बगरको बीचमा लडिरहेको छ उनको साढे २ तलाको पक्की घर ।

बाढी प्रभावित क्षेत्र पनौती नगरपालिका वडा नम्बर १२– खोलाघारी पुग्ने जो कोहीको नजर यही घरमा अडिन्छ । जगैसहित उखेलिएको घर बगरको बीचमा खोलातिर ढल्किएको  छ। तर घरको गारो सामान्य चर्किएको मात्र छ । कतिसम्म भने झ्यालका सीसाहरु समेत फुटेको छैन । छतमा हालेको सोलार प्यानल जस्ताको तस्तै छ ।

नवराज प्रत्येक दिन बिहानै उठेर आफ्नो ढलेको घर वरिपरि पुग्छन्, एकछिन नियाल्छन् र साँझ फर्किन्छन् ।

शुक्रबार दिउँसो उनको घरअगाडि रोशी खोलालाई पुरानै धारमा फर्काउने काम भइरहेको थियो । केसीका कान्छा छोरा आफैं डोजरचालकसँगै डोजरमा बसेका थिए ।

‘बाटो नजिक नपार्ने भनेर २० फिट छोडेर घर बनाएको थिएँ । भएभरको सम्पत्ति यहीं डल्लो पर्‍यो’ केसीले भने, ‘जमीन सबै बालुवा भयो । मेरो त लगभग ३ करोड क्षति गर्‍यो ।’

राति नै भागेर ज्यान जोगायौं

पनौती नगरपालिका–१२, खोलाघारीका केसीको पुर्ख्यौली बसोबास नै त्यही हो । बाउबाजेले जोडेको जग्गाजमीनले खान पुग्थ्यो । तर नवराज पनौती बजार झरे ।

१५/१६ वर्ष पनौती बजारमा किराना र तरकारी पसल चलाए । २ छोरा र एक छोरी हुर्काए, सिद्धार्थ वनस्थलीमा पढाए । केसीका अनुसार दुई छोरामध्ये जेठो नेपाली सेनाका मेजर, कान्छा छोरा क्याप्टेन छन् ।

छोरी पनि सैनिक स्कुलमै शिक्षण पेशामा छिन् । छोराछोरी जागिरमा लागेपछि उनी ढुक्क भए । त्यसपछि थातथलोमा फर्किएर ३ वर्षअघि मात्रै करिब ७० लाख खर्च गरेर घर बनाए ।

शुक्रबार उनको घरमा सोह्रश्राद्ध पर्ने भएकाले परिवारका सबै जम्मा भएका थिए । छोराछोरी पनि घर आएका थिए । ११ असोजको बिहानैदेखि ठूलो झरी परिरहेकाले सुत्नुअघि केसी बाहिर निस्किएर खोला हेर्न गए । त्यतिबेलासम्म खोला आफ्नै ठाउँमा शान्त बगिरहेको थयो । त्यसपछि सबै आरामले सुते । राति करिब ११ बजेतिर उनको मोबाइलमा मिसकल आयो । उठाउन खोज्दै थिए, फोनको टावर गइहाल्यो ।

‘मिसकल मात्रै देखायो, त्यसपछि ठूलो बत्ती लिएर बाहिर हेरेको त, खोलो भरिएर आँगनसम्मै आइसकेको रैछ । त्यसपछि यहाँ बस्नुहुँदैन भनेर सबैलाई उठाएँ’, केसीले भने, ‘बाहिर निस्किंदा घुँडाघुँडासम्म पानी आइसकेको रहेछ ।’

वरिपरि पानी नै पानीले घेरिएपछि रातभरि ठाउँ सार्दै बसेको र बिहानमात्रै सुरक्षित ठाउँमा जान सकेको केसीले सुनाए । ‘हामी त राति नै भागेर ज्यान जोगायौं,’ उनले भने, ‘कतिबेला घर ढल्यो भन्ने हेर्ने होसहवासै भएन ।’

केसीका अनुसार खोलाघारी क्षेत्र रोशी खोलाबाट जोखिममा पर्ने कुनै सम्भावना नै देखिंदैनथ्यो । खोला गहिरो ठाउँ भएर बग्ने भएकाले घरसम्म आइपुग्ला भन्ने कल्पनासम्म गरेका थिएनन् । ‘डेढ–दुईवर्ष अघि मात्रै भाइले २७ आना बेचेर गयो । मेरो चार रोपनी थियो, आनाको ६ लाख दिन्छौं भनेका थिए’ उनले भने .

तर बाढीले घरखेत सबै लग्यो । ‘बस्ने रहर लाग्दा लाग्दै घर गयो, जमीन सबै बालुवा भयो’, घर र जग्गा जमिन गरेर आफ्नो मात्र लगभग ३ करोड रुपैयाँको क्षति भएको हिसाब सुनाए । त्यसमाथि घर बनाउन गरिमा विकास बैंकबाट लिएको करिब २० लाख रुपैयाँ ऋण अझै तिर्न बाँकी छ ।

‘बाढीले सर्वस्व पार्‍यो, कहाँ जाने थाहा छैन’

केसीका अनुसार रोशी खोलामा ०३८ सालमा पनि बाढी आएको थियो । धानबालीमा क्षति गरे पनि जग्गा जमीन धेरै बिगारेको थिएन । ‘खोला भित्रभित्रै कतै अटाउने, कतै नअटाउने भएर धानबाली बिगार गरेको थिएन’, उनी भन्छन् ।

यो पटक बाढीले त्यति ठूलो क्षति पुर्‍याउनुमा खोलाको माथिल्लो भेगमा रहेका क्रसर उद्योगलाई दोषी मान्छन् उनी । माथिल्लो भेगमा क्रसर चल्न थालेपछि खोलामा गेग्रान थुप्रिंदै जाँदा खोला आफ्नो तहभन्दा निकै माथि आएको छ ।

‘यो खोलाघारी बिगारेको खानीले हो । पहिले खोला इनारजस्तो थियो, खानीको ग्राभेल ल्याएर यस्तो भयो’ केसी भन्छन्, ‘मलाई त सर्वस्व पार्‍यो नि !’

तैपनि उनले हार मानेका छैनन् । बालबच्चा सक्षम भइसकेकाले फेरि उभिनसक्ने आधार देखेका छन् । ‘क्षति त भयो, ज्यान जोगियो’, सबै पीडा भुलेर उनले हिम्मत जुटाए, ‘सवर्स्व पारे पनि बालबच्चा सक्षम छन्, विस्तारै उँभो लाग्लान् ।’

राहत वितरणमा पनि आफूलाई पहिलो प्राथमिकतामा नराख्न केसीको आग्रह छ । बस्तीमा आफूभन्दा निम्न वर्ग, जसको धनसम्पत्ति सबै बगाएको छ, उनीहरुलाई प्राथमिकतामा राख्न आग्रह गरे । ‘पहिले हामीभन्दा कमजोर भएकाहरुको सेवा होस्’, केसी भन्छन्, ‘त्यसपछि हुन्छ भने हामीलाई पनि हेरियोस् ।’

भएको घरजग्गा, सम्पत्ति बगर बनिसकेपछि अहिले केसी परिवार बगर नजिकैको पुरानौ घरमा बास बसिरहेका छन् । तर यहाँ पनि बस्न सक्ने अवस्था छैन । ‘बल्ल बल्ल बाँचिएको छ । अब त यहाँ नबस्ने’, भावुक देखिएका नवराजले नजिकै रहेका छोरातिर हेर्दै भने, ‘हेर्दैजाउँ छोराछोरीले के भन्छन्, कहाँ लान्छन् ?’

तस्वीर :  चन्द्रबहादुर आले/अनलाइनखबर

लेखकको बारेमा
विकास रोकामगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?