+

आफ्नो कमाइको ५० प्रतिशत रकम क्रिकेट विकासमा खर्च गर्छु : शक्ति गौचन

२०८१ असोज  १९ गते १९:४४ २०८१ असोज १९ गते १९:४४
आफ्नो कमाइको ५० प्रतिशत रकम क्रिकेट विकासमा खर्च गर्छु : शक्ति गौचन

१९ असोज, काठमाडौं । नेपाली क्रिकेट टोलीका पूर्वस्पिन अलराउन्डर शक्ति गौचनले नेपाल प्रिमियर लिग (एनपीएल) मा आफ्नो पारिश्रमिकको ५० प्रतिशत भन्दा बढी रकम क्रिकेट विकासमा खर्च गर्ने घोषणा गरेका छन् ।

शनिबार लुम्बिनी लायन्सको कन्सल्टेन्ट प्रशिक्षकमा नियुक्त भएपछि शक्तिले आफूले पाएको जिम्मेवारी बोनस भएको बताए । ‘मैले क्रिकेटको मार्फत अहिले जतिपनि पाएको छु । त्यसको ५० प्रतिशत भन्दा बढी क्रिकेट डेभलप्मेन्ट मै लगाउने गरेकोछु । त्यसैले मेरो लागि पनि एउटा बोनस छ’, उनले भने ।

उनले एनपीएलमा पाउने पारिश्रमिक भने खुलाउन चाहेनन् । शक्तिले भैरहवामा बुवा खड्क प्रसाद गौचनको नाममा यू-१६ र यू-१९ प्रतियोगिता आयोजना गर्दै आएका छन् । त्यस्तै एक दशक भन्दा बढी समयदेखि आफ्नो घरछेउमै स्टार क्रिकेट एकेडेमी सञ्चालन गर्दै आएका छन् । नेपाली टोलीका दुई स्टार कुशल मल्ल र सुशान भारी शक्तिले नै तयार पारेका खेलाडी हुन् ।

लुम्बिनीले मुख्य प्रशिक्षक विदेशी ल्याउनेछ । त्यसैले शक्तिलाई कन्सल्टेन्ट प्रशिक्षकमा राखेको हो । तर लुम्बिनीले आफ्नो टिम बनाउनुअघि कन्सल्टेन्ट प्रशिक्षकमा राख्ने जनाउँदै शक्तिलाई अन्य टोलीको प्रस्ताव अस्वीकार गर्न भनेको थियो ।

‘आफ्नै जिल्ला र प्रदेशको टोलीमा काम गर्न पाउँनु खुसीको कुरा हुन्छ । एउटा नयाँ यात्रा सुरुवात भएको छ’, उनले भने ।

शक्तिले एभरेष्ट प्रिमियर लिग २०१८ डिसेम्बर १५ मा पोखरा राइनोजबाट चितवन टाइगर्सविरुद्ध खेलेपछि घरेलु क्रिकेटबाट सन्न्यास लिएका थिए । २०२१ मा इपीएलमा उनले पोखरा राइनोजमा बलिङ प्रशिक्षकको रुपमा काम गरिसकेका छन् ।

इपीएल २०२१ र नेपाल टी-२० लिग २०२२/२३ मा भएपनि अक्सन भने भएको थिएन । त्यसैले प्रशिक्षकको रुपमा उनी पहिलो पटक अक्सनमा बस्नेछन् ।

‘कप्तानको रुपमा म अक्सनमा सामेल छु । एउटा प्रशिक्षकको रुपमा जिम्मेवारी बढी हुन्छ । टिम सन्तुलन, कप्तान र मालिकको कुरा पनि सोच्नुपर्छ । एउटा प्रशिक्षकको रुपमा सम्पूर्ण जिम्मेवारी हुन्छ । एनपीएल अरु भन्दा फरक र मेगा अक्सन हुँदा दबाब हुन्छ’, उनले भने ।

शक्ति अक्सनमा स्थानीय खेलाडी भन्दा पनि टिम बलियो बनाउन ध्यान दिने बताउँछन् ।

‘स्थानीय खेलाडीलाई प्राथमिकता दिने आफ्नो ठाउँमा छ । प्राथमिकता भन्दा पनि टिमलाई कुन खेलाडी ल्याउँदा बेनिफिट र बलियो हुन्छ त्यहीँ अनुसार अघि बढ्ने बताएका छन् । तर आफ्नो स्थानीय खेलाडीलाई मात्रै ध्यान दिदा प्रदर्शनमा कमजोर हुन सक्छौं’, उनले भने ।

नेपाल क्रिकेट शक्ति गौचन

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय