+
+

किन भैरहेको छ चितवनमा रवि लामिछानेको विरोध ?

संसदीय छानबिन समितिले सहकारीको रकम हिनामिना तथा अपचलनमा लामिछानेलाई पनि कारर्वाहीका लागि सिफारिस गरेपछि उनी रक्षात्मक बनेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २० गते ८:२५

२० असोज, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् चितवन क्षेत्र नं. २ का सांसद रवि लामिछानेले शुक्रबार मुग्लिनमा सार्वजनिक सुनुवाइ कार्यक्रम गरे भने शनिबार नारायणगढको नारायणी कला मन्दिरमा चितवनवासीसँग कार्यक्रम गरे ।

शुक्रवारको सार्वजनिक सुनुवाइ कार्यक्रम सकेर फर्किनै लाग्दा मुग्लिन बजारमा सहकारी पीडितहरुले उनीविरुद्ध नारावाजी गरे । शनिवार दिउँसो नारायणी कला मन्दिरको कार्यक्रममा सहकारी पीडितहरु लामिछानेलाई भेट्ने र आफ्ना माग सुनाउने तयारीमा थिए ।

उनीहरु भरतपुरको चौबिसकोठीबाट ब्यानरसहित लायन्सचोक पुग्दा प्रहरीले रोक्यो । प्रहरीले रोके पनि उनीहरु विभिन्न बाटा हुँदै नारायणी कला मन्दिरमा पुगेरै छाडे । उनीहरु गेटबाट भित्र पस्न खोज्दा फेरि प्रहरीले रोक्यो । केहीबेर धकेलाधकेल पनि भयो ।

सहकारी पीडितलाई सहयोग गर्न आएको भन्दै नेपाली कांग्रेस र नेकपा एमाले निकटका केही युवाहरु पनि कला मन्दिरको गेटमा थिए । सहकारी पीडित र युवाहरु कार्यक्रमस्थलमा प्रवेश गर्न खोज्दा गेटभित्रबाट ढुंगा प्रहार भयो । त्यसपछि गेट बाहिर रहेकाले पनि ढुंगा फर्काए । दुवैतिरबाट ढुंगा हानाहान भएपछि जिल्लाका विभिन्न युनिटबाट ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो ।

प्रहरीले लाठीचार्ज गरेर भिड तितरवितर पार्यो । दुवैतर्फको ढुंगा हानाहानबाट केही घाइते भए । स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीको लाठीचार्जबाट पनि सहकारी पीडितहरु घाइते भए । घाइतेहरुको भरतपुर अस्पतालमा उपचार गरिएको छ भने केहीलाई प्रहरीले पक्राउसमेत गरेको छ ।

सहकारी पीडित संघर्ष समितिका संयोजक शालिकराम दुवाडीले सहकारी पीडितहरुले आफ्ना कुराहरु सांसदसमेत रहेका लामिछानेसामु राख्न खोज्दा आफूहरुमाथि कुटपिट र दमन भएको बताए । ‘हामीले शान्तिपूर्ण रुपमा नै भित्र गएर आफ्ना कुराहरु राख्छौं, माग पत्र बुझाउँछौं भनेर आएका थियौं, हामीलाई बजारबाट नै भित्र छिर्न दिइएन, अनेक बाटोबाट कार्यक्रम स्थलको गेटमा आउँदा प्रहरीले लछारपछार बनाएर कुटपिट गर्‍यो,’ दुवाडीले भने, जो पीडित छ उसैलाई कुट्ने ? यो कस्तो अन्याय हो ? हाम्रो पैसा हिनामिना हुने अनि हामीले नै कुटिनुपर्ने ?’

संयोजक दुवाडीले गोर्खा मिडिया प्रा.लि.को शेयर सदस्य तथा प्रबन्ध निर्देशक भएको नाताले ६५ करोड रकमको १५ प्रतिशतको जिम्मेवारी लामिछानेले लिनुपर्ने आफूहरुको माग रहेको बताए । उनले लामिछानेले जनतालाई भ्रमित बनाउने, पीडितलाई थप पीडित बनाउने काम गरेको बताउँदै चितवनमा एक लाख सहकारी पीडित उनका विरुद्ध आन्दोलन गर्न तयार हुने बताए ।

यता, रास्वपाको चितवन जिल्ला संयोजक कृष्ण भुषालले भने कांग्रेस र एमालेका कार्यकर्ताले कार्यक्रम बिथोल्ने प्रयास गरेको बताए ।

चितवनमा साहरा सहकारीबाट लामिछाने शेयर सदस्य तथा प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया प्रा.लि.मा समेत रकम गएको छ । त्यसैले यहाँका सहकारी पीडितहरुले पनि सांसद लामिछाने जिम्मेवार बन्नुपर्ने बताउँदै आएका छन् ।

लामिछानेकै पार्टी रास्वपा भरतपुर महानगरपालिका वडा नं. १० का सचिव शालिकराम दुवाडी नै साहरा सहकारी पीडित समितिका संयोजक छन् ।

निर्वाचनका बेला लामिछानेलाई जिताउन हिँडेका दुवाडीले संसदीय छानबिन समितिले लामिछानेलाई कारबाहीको सिफारिस गरेपछि पार्टी परित्याग गरेका छन् ।

यसअघि रास्जवपाका जिल्ला संयोजकले नै पार्टी छाडेका थिए । सहकारी पीडितहरुले पटकपटक भेटेर लामिछानेलाई आफूहरुका समस्या राखे पनि चासो नदिइएको गुनासो उनीहरुको छ ।

चितवन क्षेत्र नं २ बाट जितेपछि लामिछानेले सार्वजनिक सुनुवाइ कार्यक्रम विभिन्न ठाउँमा राख्दै आएका छन् । यसपटकको सार्वजनिक सुनुवाइ कार्यक्रममा भने उनले सहकारीका विषयमा सोधिएका तीखा प्रश्नहरुको सामाना गर्नुपरेको छ ।

संसदीय छानबिन समितिले सहकारीको रकम हिनामिना तथा अपचलनमा लामिछानेलाई पनि कारर्वाहीका लागि सिफारिस गरेपछि उनी रक्षात्मक बनेका छन् । उनी विजयी बनेको चितवन निर्वाचन क्षेत्र नं. २ मा नै साहरा सहकारीबाट झण्डै ४७ करोड रकम गोर्खा मिडियामा गएको छ ।
लामिछाने गृहमन्त्री हुँदा चितवनका साहरा सहकारी पीडितको मुद्दासमेत दर्ता नगरेको आरोप उनीहरुको छ ।

गत असोज ८ गते बचत हिनामिनाको अभियोगमा गितेन्द्रबहादुर राई (जीबी)सहित १७ जनाविरुद्ध ठगी सम्बन्धी कसुरमा मुद्दा दायर भएको छ ।

साहरा सहकारीका ४४६ बचतकर्ताले प्रहरीमा उजुरी दिएका छन् तर यो सहकारीमा ६ हजार ३३४ बचतकर्ता छन् । उजुरी दिनेहरूको ३७ करोड ६५ लाख ८४ हजार ५४६ रुपैयाँ सहकारीमा बचत थियो ।

कांग्रेस-एमालेसँग बढ्दैछ द्वन्द्व

चितवनमा सहकारी पीडितहरु भए पनि अहिलेसम्म कुनै पनि दलले खुलेर साथ दिएका थिएनन् । पीडितहरुले आफ्नै ढंगले धर्ना दिने, सांसद, मन्त्री, प्रधानमन्त्री भेट्ने जस्ता काम गर्दै आएका थिए ।

तर, संसदीय समितिले लामिछानेलाई पनि कारर्वाही गर्न सिफारिस गरेपछि जिल्लाका दुई दल कांग्रेस र एमालेले सहकारी पीडितहरुलाई साथ दिन थालेको जनाएका छन् ।

कांग्रेस चितवनका सभापति राजेश्वर खनालले सहकारी पीडितहरुको पक्षमा कांग्रेसले निरन्तर साथ दिने बताउँदै चितवनबाट लामिछानेले पीडितबाट लगेको बचतको रकम फिर्ता नभएसम्म आजको भन्दा पनि ठूलठूला अवरोध गर्ने बताए ।

‘लामिछानेका पार्टी कार्यकर्ताले सहकारी पीडितमाथि नै आक्रमण गर्ने धम्की दिने, डर त्रास पैदा गर्ने गरेको देखेपछि अब हामी चुप लागेर बस्न हुन्न भन्ने भयो,’ सभापति खनालले भने ‘चितवन क्रान्तिकारी जिल्ला पनि हो लामिछानेले बुझ्नुपर्छ, यहीँको जनप्रतिनिधि भएर यहीँका जनता ठग्न पाइँदैन, बचत फिर्ता गर्नुपर्छ हाम्रो माग यही छ ।’

एमाले चितवनका अध्यक्ष कमलराज पाठक पनि सहकारी पीडितहरुले गर्ने हरेक आन्दोलनमा सधैं साथ दिने बताउँछन् ।

उनले आउने दिनमा लामिछानेले जिल्लामा अझै कडा विरोधको सामना गर्नुपर्ने भन्दै सो अनुसार तयार रहन चेतावनी पनि दिए । अध्यक्ष पाठकले भने, ‘चितवनवासीलाई ठग्न सजिलो छैन, ठगेको पनि ओकल्न लगाउँछौं ।’

सहकारी पीडितको नाममा घुुसपैठ गरेर कार्यकर्ता पठाएको हो भन्ने प्रश्नमा पाठकले लामिछानेबाट एमाले, कांग्रेस, रास्वपा, माओवादी, राप्रपा लगायत सबै पार्टी र पक्षका मान्छे ठगिएकाले पीडितहरु जानु स्वाभाविक भएको दावी गरे । सहकारी ठग जुनसुकै पार्टीको भए पनि कारर्वाही हुनुपर्ने पाठकले बताए ।

काम गर्न नसकेको आरोप

चितवन क्षेत्र नं. २ बाट जितेर गएको दुई वर्ष हुँदासम्म पनि निर्वाचन क्षेत्रको विकासमा लामिछानेले ठोस काम गर्न नसकेको आरोप पनि लाग्न थालेको छ । सत्तामा हुँदासमेत सांसद लामिछानेले जिल्लामा बजेट ल्याउन नसकेको र घोषणापत्रमा गरेको बाचा अनुसार लामिछानेले काम नगरेको गुनासो स्थानीयको छ ।

भरतपुरमा व्यवसाय गरेर बस्ने जोन कँडेलले प्रतिपक्षमा हुँदा मात्रै हैन सत्तामा हुँदा पनि लामिछानेले निर्वाचन क्षेत्रको विकासमा ध्यान नदिएको र बजेट पार्न नसकेको बताए ।

शुक्रबार भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा लामिछानेले आफूले जिल्लाको एउटा निर्वाचन क्षेत्रलाई मात्रै प्राथमिकतामा नराखेको प्रष्टीकरण दिएका थिए ।

निर्वाचन क्षेत्रका बासिन्दालाई अप्ठ्यारो पर्दा लामिछानेसँग सहज भेट्न नपाएको गुनासो पनि उनका मतदाताले गर्ने गरेका छन् ।

लामिछानेले निर्वाचन जितेको एक वर्ष पूरा भएको बेला तामझामका साथ सुरु गरेको उनको सचिवालयका सीईओले पनि राजीनामा दिइसकेका छन् । उनले जिल्लामा सुरु गरेको घुम्ती स्वास्थ्य शिविर पनि चलेको देखिँदन । महिला लक्षित ‘ब्लू बस’ भने सडकमा गुडेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?