+
+

यी हुन् दशैंमा धेरै गुञ्जिने गीत

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २० गते १२:४७

काठमाडौं । केही यस्ता गीत हुन्छन् जसलाई नसुनी धेरैलाई चाडपर्व आएको महसुस हुँदैन । संगीतले ‘फेस्टिभल मुड’ सिर्जना गर्न ठूलो भूमिका खेलेको हुन्छ । जुनसुकै जनराको किन नहोस्, चाडलाई मनाउने कुरामा यस्ता गीतले ऊर्जा थप्ने गरेका छन् ।

हरेक वर्ष दशैं आएसँगै केही गीत निकै गुञ्जिन थाल्छन् । गीतमार्फत गुञ्जिने हाँसो, रोदन र भावनाको प्रतिक्रियाले धेरैलाई यी गीत सुन्न मोहित पनि तुल्याउने गरेको छ । केही यस्ता गीत यहाँ प्रस्तुत गरिन्छ, जसलाई दशैंमा धेरै सुनिन्छ ।

दशैं आयो

फिल्म ‘मुग्लान’मा समावेश यो गीत धेरैका लागि ‘दशैं एन्थम’ जस्तै हो । शिव रेग्मी निर्देशित फिल्ममा समेटिएको यो गीत हरेक दशैंमा गुञ्जिन्छ । धेरैका लागि यो गीत भावना हो । दशैंको परिवेश, मनोविज्ञान, पिङ, जमरा र रमाइलोपन र बालीको प्रसंग जोडिएको यो गीत लोकनाथ सापकोटाको शब्द र सुरेश अधिकारीको संगीतमा तयार भएको हो ।

उदितनारायण झा, दीपा झा, नारायण लामा र जुना प्रसाईंको स्वर रहेको यो गीतको अडियोसँगै भिडियो पनि सशक्त छ । १५ वर्षअघिको यो गीत अहिले पनि उत्तिकै सुमधुर र लोकप्रिय छ ।

फौजीलाई कुन हो दशैं कुन हो चाड तिहार

दशकअघिको यो गीत रेडियो र टिभीमा धेरै बज्ने गीतमध्ये पर्छ । सशस्त्र प्रहरी बलले निर्माण गरेको यो गीतमा दशैंतिहारको बिदामा घर जान नपाउने प्रहरी, सशस्त्री प्रहरी र सैनिकको भावना समेटिएको छ ।

जगदीश समालको स्वर, गैरे सुरेशको संगीत रहेको गीतलाई दीपक कोइरालाले लेखेका हुन् । गीतको भिडियोमा घर जान नपाएका फौजी आपसमा रमाइलो गरेर दशैं मनाएको देखाइएको छ ।

दशैं तिहार

सुगम पोखरेलको स्वर तथा संगीत र रवि श्रेष्ठको शब्द रहेको गीत ‘दशैं तिहार’ यो माहोलमा धेरै सुनिने गीतमध्ये पर्छ । चाडपर्वको उमंग दर्शाउने यो गीतको कम्पोज पनि आकर्षक छ । दशैंमा रमाउनेदेखि चाडबाडमा विदेशिन बाध्य हुनेको पीडा पनि यसमा छ । यो गीत युवापुस्तामाझ पनि चर्चित छ ।

अडियोसँगै भिडियो पनि सशक्त भएकाले दशैंको मुड सिर्जना गर्न गीत महत्वपूर्ण छ । चंगा उडाएको, नाचगान गरेको दृश्यमार्फत दशैंको उमंग यसमा दर्शाइएको छ ।

नमुछे आमा दहीमा टीका’

हरेक दशैंमा धेरै सुनिने गीतमध्ये पर्छ नारायण रायमाझीको स्वर तथा संगीतको ‘नमुछे आमा दहीमा टीका’ । गीतमा लक्ष्मण रायमाझीको शब्द छ । यो मर्मस्पर्शी गीत २०५७ सालमा कृष्णभक्त राईले विभिन्न बाजा राखेर गाएपछि दशैं गीतको रुपमा चर्चित बन्यो । भारतीय सेनामा रहेका रायमाझीका दाइ लक्ष्मणले भारत–पाकिस्तानको कार्गिल लडाइँ हुने बेला सन् १९९९ ताका यो गीत लेखेका थिए ।

दशैं नै हो कि यो मेरो दशा

योगेश्वर अमात्यको स्वरमा रहेको यो गीत प्रत्येक दशैंमा धेरै सुनिनेमध्ये पर्छ । पपशैलीमा अमात्यले गाएको यो गीतको कम्पोजले धेरैलाई आकर्षित गरेको छ । न्ह्यू बज्राचार्यको संगीत र प्रेम बस्नेतको शब्द रहेको यो गीत २०५० सालमा सार्वजनिक गरिएको थियो । महंगीले चाडबाडलाई पारेको असरको कथा यसमा छ ।

यसपालि दशैमा ठूलो दाजु आउने रे

कुल पोखरेलको स्वरमा रहेको यो गीत दशैंमा गुञ्जिने अर्को चर्चित गीत हो । यसका मौलिक गायक कुल पोखरेलको स्मृतिमा गीतको रेकर्ड गरेर अन्य कलाकारले समेत युट्युबमा भिडियो हालेका छन् । आफ्नो भिन्न कम्पोज र गायन शैलीको कारण गायक पोखरेल प्रिय पनि छन् । हरेक दशैंमा यो गीतमार्फत श्रोताले पोखरेललाई स्मरण गर्छन् ।

साथै, रातो टीका निधारमा, आज हाम्रो भेट भाको दिन, दशैं आयो तिहार आयो लगायत गीत पनि धेरै सुनिने गीतमा पर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?