+

दशैंका परिकार खाँदा स्वास्थ्यको ख्याल कसरी राख्‍ने ?

२०८१ असोज  २० गते १३:२१ २०८१ असोज २० गते १३:२१
दशैंका परिकार खाँदा स्वास्थ्यको ख्याल कसरी राख्‍ने ?

दशैं भन्नेबित्तिकै विभिन्न प्रकारका परम्परागत खाना झल्को आउँछ मासुका परिकार, सेलरोटी र लड्डु जस्ता मिठाईहरू घरघरमा पाक्छन् । मिष्ठान्न भोजन दशैंको नौ दिनै पाकेका हुन्छन् । घरमा होस् वा खाजाको रुपमा पाहुना जाँदा बिहान, दिउँसो र बेलुकाको खानामा छाकैपिच्छे मासुकै परिकार बढी पाक्छन् ।

यस्तोमा टन्न खाने र आराम मात्र बढी हुँदा अपचको समस्या आउन सक्छ । अझ दीर्घरोग भएमा त खानपानमा ध्यान नदिए थप स्वास्थ्य समस्या सिर्जना गर्छ ।

स्वास्थ्य समस्या आउन नदिन परम्परागत खानाको आनन्द लिंदै दशैं मनाउन खानेकुरा पकाउँदा र खाँदा सचेत र सजग भएर खानु उपयुक्त हुन्छ । सजग भएर खान ठूलो मेहनत गर्नुपर्दैन । कसरी पकाउने ? कति मात्रामा खानु उचित ? जाने पुग्छ ।

मासु कति खाने ?

विश्व स्वास्थ्य संगठनले प्रतिदिन स्वस्थ आहारका लागि वयस्कहरूले प्रतिछाक लगभग ६० देखि ७० ग्राम मासु मात्र उपभोग गर्न सिफारिस गरेको छ । तर दशैंको समयमा मानिसहरूले २०० देखि ४०० ग्रामसम्म प्रतिदिन मासु उपभोग गरिरहेका हुन्छन ।

दशैंको समयमा मासु सजग भएर खाने हो भने बढीमा ८० ग्रामसम्म मासु खान उपयुक्त हुन्छ । मासुसँगै फाइबर खाएमा मासु पच्न सघाउ हुन्छ । मासुको मात्रा घटाउन फाइबरयुक्त फलफूल र सलादपछि मात्र मासु सेवन गर्नु उचित हुन्छ । यसरी खाँदा प्रोटिन सन्तुलित मात्रामा शरीरले पाउँछ । शरीरको फ्याट र कोलेस्टेरोललाई भार पुग्दैन ।

अत्यधिक मात्रामा मासु खाँदा हुनसक्ने जोखिम ?

अत्यधिक मासुको सेवनले यसै पनि पाचनप्रक्रियामा भार पर्छ । किनकि बिहान खाएको खाना नपच्दै पेटमा अर्को खानेकुरा पुग्दा पाचनप्रक्रियामा समस्या भइरहेको हुन्छ । मासुमा उच्च प्रोटिन हुने भएकाले पेट र कलेजोले राम्रोसँग काम गर्न सक्दैन ।

त्यसमा पनि रातो मासु धेरै खाँदा पेट फुल्ने, अपच हुने, कब्जियत हुने जस्ता सामान्यदेखि दीर्घकालीन रूपमा कोलेस्टेरोल, रक्तचापमा वृद्धिको जोखिम बढाउन सक्छ । कलेजोले मासु पचाउने काम गर्छ । समयको अन्तर नै नराखी खाँदा कलेजोलाई सक्रिय भई काम गर्नुपर्छ ।

सजिलो गरी बुझ्दा मासु पच्न समय लाग्ने होइन, बोसो पच्न समय लाग्ने हो । कार्बोहाइड्रेट, फाइबरयुक्त खाना खाएको केही घण्टामा पच्ने गर्छ भने मासुमा भएको बोसो पचाउन कलेजोबाट एउटा छुटै पित्त सानो आन्द्रामा आएपछि मात्र पच्छ ।

यति गर्दा पनि मासु नपचेर शरीरमा बोसो जम्मा हुँदै जान्छ । यसबाट मोटोपन, उच्च रक्तचाप, मधुमेह,  ग्यास्ट्रिक, पेट गडबडी हुने र मलद्वारको समस्या कब्जियत लगायत समस्या निम्त्याउने सम्भावना हुन्छ ।  यसलाई हेलचेक्र्याइँ गरेमा अल्सर र मुटुरोगको जोखिम हुन्छ ।

शाकाहारी खानेकुरा पनि अत्यधिक खान हुँदैन

शाकाहारीले दशैंमा सबैभन्दा बढी पनिर खाने गर्छन् । ठिक्क खाँदा कुनै हानि गर्दैन । तर फाइदा गर्छ भन्दैमा लगातार बढी खाएमा भने यसले पनि समस्या निम्त्याउँछ ।

गुलियो पदार्थ कति सेवन गर्ने ?

दशैंमा मिठाई पनि अत्यधिक मात्रा खाइन्छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले प्रतिदिन औसत वयस्कका लागि २५ ग्रामभन्दा कम अर्थात् ६ टेबल चम्चा चिनीको मात्रा सेवन गर्न सिफारिस गर्छ । जुन हामीले दैनिक जीवनमा मिठाई, पेय पदार्थ र प्रशोधित खानामा पाइने चिनीको मात्राबाट खाइरहेका हुन्छौं ।

तर चाडबाडको समयमा ६ चम्चा चिनी मात्र खाने गर्छौं त ?

यसरी अत्याधिक गुलियो पदार्थ र मिठाईको उपभोगले अल्पकालीन र दीर्घकालीन दुवैरुपमा असर गर्छ । जस्तै, रगतमा चिनीको स्तरमा द्रुत गतिमा वृद्धि गर्न सक्छ । लामो समयसम्म अत्यधिक सेवनले मोटोपन, टाइप-२ मधुमेह, नन-अल्कोहोलिक लिभरसम्बन्धी रोग र दाँतको समस्या जस्तो जोखिम बढाउँछ ।

शरीरलाई दैनिक कति क्यालरी आवश्यक हुन्छ ?

एक सामान्य वयस्क पुरुषका लागि दैनिक करिब २५ सय क्यालोरी आवश्यक हुन्छ । जबकि महिलाहरूको लागि यो लगभग २०० क्यालोरी हुन्छ । यी आवश्यकता व्यक्तिको शारीरिक गतिविधि स्तर, उमेरको आधारमा भिन्न-भिन्न हुनसक्छन् ।

दशैंमा मासु, चामल, तरकारी र मिठाईसहितको खानाले प्रतिछाक ८०० देखि १२ सय क्यालोरी खाइने अध्ययनहरुले देखाएका छन् ।

जब शरीरले चहिएको भन्दा बढी क्यालोरी खानाबाट प्राप्त गर्छ, उक्त क्यालोरी अतिरिक्त बोसोको रूपमा शरीरमा भण्डारण हुन्छ, जसले मोटोपन बढाउने र इन्सुलिन प्रतिरोध गर्ने हुन्छ । जसले गर्दा रक्तचापको स्तरमा गडबडी आउने तथा समयसँगै नसर्ने रोगको जोखिम गराउँछ ।

धेरै खानबाट कसरी जोगिने ?

– खानालाई सन्तुलनमा राख्न हरियो सागसब्जी, तरकारी, सलादको बढी प्रयोग गरेर मासुको भाग घटाउन सकिन्छ । खानेकुराको सुरुवात मासुबाट नै गर्नुपर्छ ।

– मिठाई तथा गुलियो पेय पदार्थको सेवन सीमित गरेर आफ्नो खानालाई सन्तुलनमा राख्न सकिन्छ ।

– खाना खानुअघि प्रशस्त मात्रामा पानी पिउने, खानाको प्लेट सानो लिने र खानाको मात्रा नियन्त्रणमा ध्यान दिने, खाना राम्ररी चपाएर खाने जस्ता सामान्य व्यवहारले पनि धेरै खानबाट जोगिन मद्दत गर्छ ।

– कम्तीमा हरेक दिन ४० मिनेट हिंडडुल गर्ने जस्ता शारीरिक गतिविधिले पनि चाडबाडको समय क्यालोरी नियन्त्रण गर्दै शरीरलाई सन्तुलनमा राख्न मद्दत गर्छ ।

आहार तथा पोषण खानेकुरा दशैं

धेरै कमेन्ट गरिएका

लेखक
बबिता अधिकारी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय