+

कमजोर आँकिएको कर्णालीले कसरी जित्यो उपाधि ?

२०८१ असोज  २० गते १४:४१ २०८१ असोज २० गते १४:४१
कमजोर आँकिएको कर्णालीले कसरी जित्यो उपाधि ?

२० असोज, काठमाडौं । एभरेष्ट वुमन्स भलिबल लिगअघि धेरैले कर्णालीले उपाधि जित्ने सायदै सोचेका थिए । टिममा रहेका खेलाडी र तयारी हेर्दा टिम कमजोर रहेको अनुमान थियो । तर शनिबार भएको फाइनल खेलमा ललितपुरलाई ३-२ को सेटमा पराजित गर्दै कर्णाली अपराजित रहेर उपाधि जित्यो । कर्णालीलाई अपराजित च्याम्पियन बनाएपछि प्रशिक्षक कुमार राई निकै दंग छन् ।

कर्णालीले तीन विदेशी अनुभवी खेलाडी भित्र्याएर टिमको कम्बिनेसन मिलाएको थियो । तैपनि कुमार राईलाई उपाधि जित्ने विश्वास थिएन ।

‘उपाधि जित्छौँ भनेर सुरुमा लागेकै थिएन। सबै टोलीमा राम्रा खेलाडीहरु थिए । हाम्रोमा कलिला नानीहरू थिए । अझ ललितपुर च्याम्पियन हुन्छ भनेर सोचेको थिएँ’, उनले भने । राईले ललितपुरले उपाधि जित्ने अनुमान गर्नुका केही कारणहरु थिए ।

त्यहाँ थाइल्याण्डका ३ खेलाडी थिए । काभा नेसन्स लिग खेलेका नेपालका ४ खेलाडी थिए । तर कर्णालीमा कप्तान सुमित्रा रेग्मीले मात्र काभा नेसन्स लिग खेलेकी थिइन् । ‘टोलीलाई मिलाउँदै च्याम्पियन बन्न सक्नु अविश्वसनीय नै थियो’, उनले भने ।

केही महिनाअघि भएको काभा नेसन्स लिगमा खेलेका राष्ट्रिय टिमका सलिना श्रेष्ठ, कामना विष्ट, पुनम चन्द र साफिया पुन ललितपुर टिममा थिए । कर्णालीमा भने हालको राष्ट्रिय टिमकी सुमित्रा मात्र थिइन् भने राष्ट्रिय टिमकी पूर्वखेलाडी मनिषा चौधरी थिइन् ।

शनिबार त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भएको प्रतिस्पर्धात्मक खेलको सुरुवाती दुई सेट कर्णालीले २५–१७, २५–२० ले आफ्नो पक्षमा पार्दै उपाधि नजिक पुगेको थियो । तर त्यसपछि ललितपुरले तेस्रो सेट २५–१२ र चौथो सेट २५–१८ ले आफ्नो पक्षमा पार्‍यो । पाँचौं तथा निर्णायक सेटमा पनि खेल ११-११, १२–१२ को बराबरीमा थियो । अन्तत: कर्णालीले सेट आफ्नो पक्षमा पार्‍यो र उपाधि जित्यो ।

प्रशिक्षक राईले सुरुवातको दुई सेट जित्दा सहजै जितिन्छ जस्तो लागेपनि ललितपुरले पुनरागमन गर्दा कठिन बनेको बताए । ‘तेस्रो सेटबाट उनीहरुले हान्न थाले’, राईले फाइनल खेलबारे भने, ‘तेस्रो सेटमा उनीहरुले अन्तिम रणनीति भनेर कडा सर्भिस गर्न थाले । जसले गर्दा हाम्रो डिफेन्स चलेन । मलाई भित्री मनमा पाँचौं सेटमा पुगेपनि त्यो हाम्रै हो भन्ने लागेको थियो ।’

लिग चरणमा ललितपुरका दुई मुख्य खेलाडी अनुपस्थित हुँदा कर्णालीले सोझो सेटमा ललितपुरलाई हराएको थियो । तर फाइनल खेलमा ललितपुरका सबै खेलाडी फिट भएर फर्केका थिए । कर्णालीविरुद्ध बदला लिएर उपाधि जित्ने अवसर थियो । तर कर्णालीको जोश र लयलाई ललितपुरले तोड्न सकेन ।

च्याम्पियन बन्ने आधार

सुरुमा कर्णाली टिमको ड्राफ्टबाट आएका खेलाडी हेर्दा खासै चर्चित नाम थिएन । मार्की खेलाडी सुमित्राले भर्खरै राष्ट्रिय टिममा डेब्यू गरेकी थिइन् । मनिषा चौधरीसँग राष्ट्रिय टिममा खेलेको अनुभव थियो । मीना सुनार यू-२० राष्ट्रिय टिमबाट खेलेकी थिइन् । तर अरु खेलाडी घरेलु भलिबलमा समेत खासै नाम सुनिएको खेलाडी थिएनन् ।

‘सुरुमा टिम हेर्दा त म होपलेस नै थिएँ । त्यसपछि टिम व्यवस्थापनसँग छलफल गरेर यो यो पोजिसनमा विदेशी खेलाडी ल्याउनुपर्छ भन्यौँ । उनीहरुले राम्रो खेले’, प्रशिक्षक राईले भने ।

कर्णालीले अमेरिका, ग्रिस र टर्कीबाट विदेशी खेलाडी ल्याएको थियो । अमेरिकन सेटर गाब्रियली बेन्डा, ग्रीसकी अपोजिट हिटर अथानासिया लियगकी र टर्किस आउटसाइड हिटर जेनेप ओटुरानको आगमनपछि कर्णाली टिम सन्तुलित बनेको थियो ।

यी खेलाडीहरुले हरेक खेलमा उत्कृष्ट प्रदर्शन गरे । फाइनलमा कर्णालीलाई च्याम्पियन बनाउन जेनेपले महत्वपूर्ण भूमिका निर्वाह गरिन् । उनलाई अन्य खेलाडीले साथ दिए । सेटरको भूमिकामा खेल्ने बेन्डा समेत बेला बेला स्पाइक हान्ने गर्थिन् ।

सुरुवाती खेलमा जमेकी लियगकी पछिल्ला खेलहरुमा भने पूर्ण फिट नहुँदा राम्रो खेल्न सकिनन् । तर आवश्यक परेका बेला उनले टिमलाई योगदान दिइन् । फाइनल सहित तीन खेलमा प्लेअर अफ दि म्याच बनेकी जेनेप प्रतियोगिताकै मस्ट भ्यालुएबल प्लेअर (एमभीपी) बनिन् ।

मार्की प्लेयर तथा कप्तान सुमित्रा रेग्मीले पनि विदेशी खेलाडीको साथ राम्रो रहेको बताइन् । ‘विदेशी खेलाडीले एकदमै ठूलो सहयोग गर्नुभयो । बाहिरका खेलाडीहरु नेपाल आएर खेलेर हामीलाई जिताउनुभयो’, उनले भनिन् ।

कर्णालीकी युवा खेलाडी तथा यू-२० राष्ट्रिय टिमकी सदस्य मिना सुनारले पहिलो प्रतियोगितामा नै च्याम्पियन बन्दा निकै खुशी लागेको बताइन् । ‘सुरुवाती खेलहरु राम्रो भएको थियो । बीचमा अलि कठिन भयो । तर पछि सबैले एक अर्कालाई विश्वास गरेर अघि बढ्यौँ र सफल भयौँ’, मीनाले भनिन्, ‘हाम्रो कोचिङ स्टाफ फिजियो दाइहरु सबैले एकदमै धेरै सपोर्ट गर्नुभयो ।’

सुखद क्षण

महिला भलिबलको पहिलो फ्रेन्चाइज लिगको उपाधि जित्नु घरेलु महिला भलिबलका सफल प्रशिक्षक कुमार राईका लागि सुखद क्षण बन्यो ।

उनले २०६४ सालदेखि ‘अब पालो महिला’ को भन्ने नाराका साथ न्यू डायमण्ड एकेडेमी मार्फत महिला भलिबलमा सक्रिय रुपमा काम गरेका थिए । उनले न्यू डायमन्ड एकेडेमीबाट धेरै खेलाडीहरु उत्पादन गरिसकेका छन् ।

त्यसैले कर्णालीका प्रशिक्षक राईले फ्रेन्चाइज उपाधि जित्नुलाई आफ्नो करियरकै सुखद क्षण रहेको मानेका छन् । ‘यो मेरो जिन्दगीकै सुदख क्षण रह्यो । मैले ०६४ सालदेखि अब पालो महिलाको भनेर सुरु गरेको थिएँ’ उनले सुनाए, ‘भर्खरै एनएसजेएफ स्पोर्ट्स अवार्डमा स्पेसल अवार्डबाट सम्मानित भएको थिएँ । त्यो सरप्राइज नै थियो ।’

प्रशिक्षकको रुपमा कर्णालीलाई उपाधि जिताउँदा आफ्नो शीर नै उचो भएको महसुस भएको राईले बताए । कुमार राई आफ्नै प्रशिक्षक हुँदा लिगमा आफूहरुलाई धेरै सहज भएको कप्तान सुमित्राले बताइन् ।

तस्वीरहरु : चन्द्रबहादुर आले/अनलाइनखबर

एभरेष्ट वुमन्स भलिबल लिग

धेरै कमेन्ट गरिएका

लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय