+
+

आजबाट कान्ति लोकपथ सञ्चालनमा, हेटौंडा–काठमाडौं जोड्ने सबै सडक खुले 

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २२ गते १०:१०

२२ असोज, हेटौंडा । मकवानपुर र ललितपुर जोड्ने बगुवाको बागमती पुलमा अस्थायी सडक बनाएर कान्तिलोकपथ सञ्चालनमा ल्याइएको छ । यससँगै हेटौंडा र काठमाडौंलाई जोड्ने आधा दर्जन मार्ग सबै सन्चालनमा आएका छन् ।

१२ असोजको बाढीले बागमती पुलको आधा भाग बगाएको थियो । ललितपुरतर्फको सडक यसअघि नै सुचारू भए पनि बागमती खोलामा पुल बगाएकाले कान्तिलोकपथ अवरुद्ध थियो ।

सडक विभाग, कान्तिलोकपथ सडक आयोजनाले नेपाली सेना र स्थानीय निर्माण व्यवसायीको प्राविधिक सहयोग लिएर बगुवामा ४ वटा ह्युमपाइप हालेर अस्थायी सडक बनाएको छ । सडक सुचारु गर्न मकवानपुरको भीमफेदी गाउँपालिका र ललितपुरको बागमती गाउँपालिकाले पहल गरेका थिए ।

भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले मंगलबार बिहानबाट हलुका सवारी चल्न थालेको जानकारी दिए । बागमती गाउँपालिकाका स्थानीय प्रकाश लामाकाअनुसार त्यहाँनेर सडक साँघुरो र एकतर्फी भएकाले हलुका सवारी मात्रै सञ्चालन गरिएको छ ।

बागमती पुल बगाउँदा विगत १० दिनदेखि मकवानपुर–ललितपुरको यातायात सम्पर्क टुटेको थियो । हेटौंडा र काठमाडौंलाई जोड्ने कान्तिलोकपथ महत्वपूर्ण मार्ग हो ।

हेटौंडा–कुलेखानी–सिस्नेरी–दक्षिणकाली–काठमाडौं, कुलेखानी–फाखेल–हुमानेभन्ज्याङ–फर्पिङ–काठमाडौ र कुलेखानी–महालक्ष्मीखोला–चखेल–मातातीर्थ–काठमाडौं गरी तीन वटा वैकल्पिक मार्ग आइतबार साँझबाटै सञ्चालनमा आएका थिए ।

कुलेखानी–मार्खु–चित्लाङ–चन्द्रागिरी–थानकोट सडक भने बुधबारदेखि नै खुलाइएको थियो । हेटौंडालाई धादिङ नौबिसे हुँदै काठमाडौं जोड्ने पुरानो सडक त्रिभुवन राजपथ भने पहिल्यैदेखि सञ्चालनमा छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?