
काठमाडौं । देशभरका फिल्म हलले फूलपातीबाट प्रदर्शन तयारीमा रहेका फिल्मको अग्रिम टिकट बिक्री थालेका छन् । उक्त मितिमा प्रदर्शन हुन लागेका चार फिल्मको शो पनि बाँडफाँट गरिएको छ ।
मंगलबार राती ९ बजेसम्मको तथ्यांकअनुसार सबैभन्दा बढी शो ‘छक्कापञ्जा ५’ ले प्राप्त गरेको छ । दीपाश्री निरौला निर्देशित फिल्मले देशभर २२१ शो पाएको छ । क्यूएफएक्सले यो फिल्मलाई ९२ शो दिएको छ ।
शो बाँडफाँटमा विराज भट्ट निर्देशित एक्सन फिल्म ‘१२ गाउँ’ दोस्रो स्थानमा छ । यो फिल्मले देशभर १३५ शो प्राप्त गरेको छ । क्यूएफएक्सले यो फिल्मलाई ५४ शो दिएको छ ।
वसन्त निरौला निर्देशित फिल्म ‘ज्वाइँ साब’ले देशभर ९४ शो पाएको छ । क्यूएफएक्सले यसलाई ४१ शो दिएको छ । आलिया भट्टको बलिउड फिल्म ‘जिग्रा’ले देशभर ३१ शो मात्र पाएको छ ।
बिहीबारदेखि ‘शाम्बाला’, ‘जोकर २’ र ‘देवरा’को प्रदर्शन हटाइएको छ ।
बिहीबारका लागि ‘बेहुली फ्रम मेघौली’ले ३४ शो मात्र पाएको देखिएको छ । ओपनिङमा सर्वाधिक शो पाएको भनिएको स्वस्तिमा खड्का स्टारर फिल्मको दोस्रो साताको शोमा भारी कटौती देखिन्छ । महत्वपूर्ण कुरा के हो भने शो संख्याभन्दा अकुपेन्सी महत्वपूर्ण हो । कुन फिल्मको अग्रिम टिकट बिक्री बढी देखियो भन्ने कुराको स्पष्ट आकार बुधबार बेलुकासम्म टुंगो लाग्नेछ ।
*मंगलबार राती ९ बजेसम्मको शोको अपडेट ।
प्रतिक्रिया 4