+
+

बाढी पहिरोबाट काभ्रेमा ४२ करोडको क्षति   

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २२ गते १६:४४
काभ्रेको बेथानचोकमा पहिरो ।

२२ असोज, काभ्रेपलाञ्चोक । हालैको बाढीपहिरोले काभ्रेपलाञ्चोकको ११ हजार ६ सय ८० रोपनी क्षेत्रफलमा लगाएको बालीमा क्षति पुगेको भएको छ ।

बाढीपहिरोले जिल्लाका १३ वटै स्थानीय तहमा उक्त क्षेत्रफलमा लगाइएको धान, मकै, आलु, तरकारीलगायत अन्य बालीमा क्षति पुगेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

जिल्लामा ७ हजार २ सय परिवारले लगाएको बालीको प्रारम्भिक क्षतिको अनुमान अनुसार ४२ करोड ६३ लाख रुपैयाँ रहेको उक्त कार्यालयका प्रमुख कुलप्रसाद दवाडीले जानकारी दिए । सबैभन्दा धेरै पनौती नगरपालिकामा ९ करोड ४१ लाख, धुलिखेल नगरमा ५ करोड ४८ लाख रुपैयाँको क्षति भएको छ ।

उक्त कार्यालयले सार्वजनिक गरेको कृषि क्षतिको विवरण अनुसार ६६९ दशमलव आठ हेक्टर क्षेत्रफलको धान, ३० हेक्टरको मकैबाली तथा ४२७ दशमलव ७९ हेक्टर क्षेत्रफलको अन्य कृषि बालीमा क्षति पुगेको जनाइएको छ । यस्तै दुई हजार नौ मेट्रिकटन धान, ८४ मेट्रिकटन मकै, चार हजार दुई सय मेट्रिक टन तरकारी तथा अन्य बालीमा गरी कुल छ हजार ३७१ मेट्रिक टनमा अनुमानित गिरावट आउने उल्लेख गरिएको छ ।

यसैबीच जिल्लामा बाढीपहिरोबाट करिब चार हजार पशुपन्छी हताहत भएका अनुमान गरिएको छ । सबैभन्दा धेरै पनौती नगरमा २ हजार १०० पशुपन्छी मरेका छन् ।

जिल्लास्थित पशु सेवा कार्यालयका निमित्त प्रमुख निशान्त गेलालका अनुसार जिल्लाका १३ वटै तहबाट तथ्याङ्क सङ्कलन जारी छ । जिल्लाका सबै भागमा सञ्चार सम्पर्क कायम नभएका कारण यकीन विवरण प्राप्त हुन केही दिन लाग्ने उनले बताए ।

बाढीपहिरो र डुबानबाट अतिप्रभावित तीन दर्जनभन्दा बढी स्थानीय तहलाई राहत तथा पुनर्निर्माणलाई प्राथमिकता दिन सरकारले शुक्रबार ‘विपद् सङ्कटग्रस्त क्षेत्र’ घोषणा गरेको थियो । सरकारले तीन महिनाका संकटग्रस्त क्षेत्र घोषणा गरेमध्ये काभ्रेपलाञ्चोकको रोशी, तेमाल, बेथानचोक, चौंरीदेउराली र महाभारत गाउँपालिका तथा पनौती, नमोबुद्ध, मण्डनदेउपुर नगरपालिका छन् ।

जिल्लाको १३ स्थानीय तहमध्ये पाँचखाल नगर, महाभारत र खानीखोला गाउँपालिकाबाहेक १० तहमा बाढीपहिरोमा परी ७८ जनाले ज्यान गुमाएका, पाँच जना बेपत्ता रहेका तथा ७५ जना घाइते भएका जिल्ला प्रहरी कायालयले जनाएको छ । वर्षाजन्य विपद्‍मा परी काभ्रेपलाञ्चोकमा ३३ महिला, २९ पुरुष, नौ बालक र सात बालिकाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?