काठमाडौं । दशैंको रौनक चारैतिर छाएको छ । मान्छेहरू घर फर्किने र आफन्तसँग भेटघाट गर्ने तयारीमा व्यस्त छन् । तर स्वास्थ्य क्षेत्रका कर्मचारीका लागि भने यो समय फरक छ । उनीहरू दशैंमा पनि आफ्नो कर्तव्य निभाउन तयार छन् ।
यस वर्ष पनि सरकारले फूलपातीदेखि दशमीको भोलिपल्टसम्म सार्वजनिक बिदा दिएको छ । तर यो समयमा स्वास्थ्य सेवाको उपलब्धता भने चुनौतीपूर्ण बन्न सक्ने देखिएको छ ।
अधिकांश अस्पतालहरूले फूलपातीदेखि एकादशीसम्म बहिरंग विभाग (ओपीडी) सेवा बन्द गर्ने निर्णय गरेका छन् । यसले गर्दा आकस्मिक कक्षमा बिरामीको चाप बढ्न सक्ने अनुमान गरिएको छ । यद्यपि, ओपीडी सेवा बन्द भए पनि अस्पतालहरूले आकस्मिक कक्षमा आउने बिरामी र वार्डमा उपचाररत बिरामीलाई निरन्तर सेवा प्रदान गर्नेछन् ।
काठमाडौं उपत्यकाका प्रमुख अस्पतालले यस चुनौतीपूर्ण समयमा विशेष तयारी गरेका छन् । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले दशैंको बिदामा पनि निरन्तर उपचार सेवा प्रदान गर्ने निर्देशक डा. श्रीप्रसाद अधिकारीले जानकारी दिए । अस्पतालले दशैंमा पाँच दिन ओपीडी बिदा भए पनि ती दिनमा २४ सै घण्टा इमर्जेन्सी सेवा उपलब्ध गराउने निर्णय गरेको छ ।
डा. अधिकारीका अनुसार सार्वजनिक बिदा भए पनि इमर्जेन्सी सेवा निरन्तर चलिरहनेछ । ‘कुनै पनि बिरामीले अस्पताल बन्द छ भनेर घरमै बस्नुपर्ने अवस्था आउँदैन । पेट दुखाइ, गर्भवती महिलाहरूमा बच्चाको चाल कम हुने, रक्तस्राव वा अन्य कुनै शंकास्पद लक्षण देखिएमा तुरुन्तै इमर्जेन्सीमा आएर जाँच गराउन सक्नुहुन्छ’ उनले भने ।
बिदाको समयमा पनि लगभग १२ जना विशेषज्ञ चिकित्सकको टोली २४ घण्टा नै सेवामा खटिने व्यवस्था मिलाइएको छ । डा. अधिकारीले भने, ‘हामीले पहिल्यै तयारी गरेका छौं । ड्युटीमा रहेका डाक्टरहरूले बिदा नलिने गरी व्यवस्था मिलाइएको छ ।’
अस्पतालमा हाल गर्भवती महिलाको संख्या बढ्दो क्रममा रहेको छ । असारदेखि असोजसम्म मासिक करिब २ हजार ५०० जना गर्भवती महिला उपचारका लागि आउने गरेको अस्पतालको तथ्यांक छ ।
यसैगरी पाटन अस्पतालले पनि दशैंको समयमा आकस्मिक सेवा मार्फत नियमित सेवा दिने जनाएको छ । अस्पतालका मेडिकल डाइरेक्टर डा. युवराज शर्माका अनुसार सार्वजनिक बिदामा मात्रै ओपीडी सेवा बन्द हुन्छ । तर आकस्मिक सेवा र भर्ना भने नियमित नै हुनेछ ।
‘हामीले आकस्मिक कक्षबाट नै ओपीडी सेवा समेत उपलब्ध गराउने व्यवस्था मिलाएका छौं । कसैले पनि उपचार नपाएर फर्किनुपर्दैन’ डा. शर्माले भने, ‘अस्पताल आउने बिरामीको उपचार गर्न त्यसैअनुसारको जनशक्तिको व्यवस्थापन गरेका छौं ।’
काठमाडौं उपत्यका बाहिरका जनशक्तिलाई दशैं र तिहारमा आलोपालो गरी बिदाको व्यवस्थापन गरिएको उनले बताए ।
त्रिवि शिक्षण अस्पतालले दशैंको समयमा उपचारका लागि आउने बिरामीलाई नियमित सेवा दिने भएको छ । अस्पतालका निमित्त निर्देशक डा. धनश्याम गुरुङका अनुसार अस्पतालको आकस्मिक सेवा र इमर्जेन्सी अपरेसन खुला रहन्छ ।
‘दशैं भनेर बिदा दिने चलन अस्पतालमा छैन । अस्पतालको आकस्मिक सेवा र इमर्जेन्सी अपरेसन खुला रहन्छ । आफ्नो ड्युटी आवरमा सबै स्टाफले नियमित सेवा दिन्छन्’ डा. गुरुङले भने ।
उनका अनुसार दशैंका लागि खटिने कर्मचारीको सूची तयार भइसकेको छ । त्यसअनुसार नै वार्डमा खटिने डाक्टर, नर्स लगायतका कर्मचारी बिरामीको सेवामा नियमित खट्छन् । काममा बाधा नपर्ने गरी चिकित्सक तथा कर्मचारीलाई दशैं बिदाको व्यवस्थापन गरिएको उनले बताए ।
यसैगरी काठमाडौंमा रहेको केन्द्रीय अस्पताल वीर अस्पतालको आकस्मिक सेवा दशैंमा पनि खुला हुन्छ । दशैंको समयमा देखिन सक्ने रोग र बिरामीको चापलाई व्यवस्थापन गर्न अस्पतालले आकस्मिक सेवाका चिकित्सकहरु रहने व्यवस्था गरेको छ । वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले दशैंको समयमा देखिने विशेष चुनौतीबारे भने, ‘खानपानका कारण हुने स्वास्थ्य समस्या र सडक दुर्घटनाका घाइतेको संख्या बढ्न सक्छ । त्यसैले हामीले विशेष तयारी गरेका छौं ।’
उनले भने, ‘सार्वजनिक बिदामा जसरी चल्थ्यो, वार्ड र आकस्मिक कक्ष त्यसैगरी चलाउँछौं । स्वास्थ्यकर्मीले आलोपालो मिलाएर काम गर्छन् र दशैं मनाउँछन् ।’
आकस्मिक कक्षमा आउने बिरामी र वार्डमा रहेका बिरामीको उपचारका लागि चिकित्सक तथा नर्सलाई रोटेसनमा परिचालन गरी नियमित सेवा प्रदान गर्ने उनले बताए ।
गंगालाल राष्ट्रिय हृदय केन्द्रका निर्देशक डा. रवि मल्लका अनुसार दशैंको समयमा पनि आकस्मिक कक्ष र वार्ड खुला रहनेछन् । ‘दशैं भए पनि बिरामीले आकस्मिक सेवा नपाएर फर्किनुपर्ने अवस्था हुँदैन’ उनी भन्छन् । आकस्मिक शल्यक्रिया पनि सञ्चालन हुने उनले जानकारी दिए ।
तर चाडपर्वको समयमा सबै सेवा भने सामान्य अवस्थामा जस्तै हुँदैनन् । ‘योजनाबद्ध शल्यक्रिया (इलेक्टिभ अप्रेसन) भने बन्द हुनेछन् । डा. मल्ल भन्छन्, ‘दशैंमा बिदामा बस्नेहरुले तिहारमा ड्युटी गर्नुहुन्छ । तिहारमा ड्युटी गर्नेले दशैंमा बिदा पाउने रुटिन मिलाएका छौं ।’
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको अवस्था पनि उस्तै छ । सार्वजनिक बिदाको समयमा समेत आकस्मिकमार्फत ओपीडी सेवा नियमित हुनेछ । विशेषगरी डेंगुका बिरामीको उपचारका लागि आकस्मिक कक्ष २४ सै घण्टा सञ्चालन हुनेछ ।
अस्पताल निर्देशक डा. युवानिधि बसौला भन्छन्, ‘अहिले डेंगुको संक्रमण कायम नै रहेकाले बिरामीलाई नफर्काई आकस्मिक कक्षबाट ओपीडी सेवा सञ्चालन गर्नेछौं ।’
रेबिज, एचआईभी, टीबी जस्ता रोगका बिरामीलाई पनि सेवा दिइने उनले बताए ।
कान्ति बाल अस्पतालमा भने दशैंका बेला ओपीडी सेवा बन्द रहनेछ । तर यहाँ पनि आकस्मिक कक्षबाट चिकित्सकले रोग विशेषज्ञताका आधारमा बिरामी हेर्नेछन् । अस्पतालका निर्देशक डा. पंकज रायका अनुसार चिकित्सक तथा नर्सहरुले दशैं र तिहारमा एकपटक मात्रै बिदा बस्न पाउने नियम बनाइएको छ ।
‘दशैंको समयमा संख्याको हिसाबमा कम बिरामी आउँछन्’ डा. राय भन्छन्, ‘तर कम बिरामी आएपनि उनीहरुमा रोगको जटिलता बढी हुन्छ । गम्भीर रोगका बिरामी हुन्छन् । त्यही हिसाबले स्वास्थ्यकर्मीको ड्युटी मिलाएका छौं ।’
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले सर्वसाधारणलाई सचेत रहन आग्रह गरे । ‘दशैं रमाइलोसँग मनाउनुहोस् । तर आफ्नो स्वास्थ्यप्रति सजग रहनुहोस्’ उनी भन्छन्, ‘कुनै स्वास्थ्य समस्या देखिएमा तत्काल नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोस् ।’
प्रतिक्रिया 4