+
+

प्रेम प्रकाशको कविता संग्रह ‘रगतको तर्पण’ विमोचन

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २२ गते १९:४९

२२ असोज, काठमाडौं। रोल्पाली कवि प्रेमप्रकाशको कविता सङ्ग्रह ‘रगतको तर्पण’ विमोचन भएको छ ।

सोमबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको पारिजात कक्षमा प्रतिष्ठानका कुलपति भूपाल राई, संस्कृतिकर्मी भीम कुमाखी, कवि बिमला तुम्खेवा र उपप्राध्यापक केशव सिलवालले संयुक्त रुपमा कृतिको विमोचन गरेका हुन् ।

विमोचन समारोहको प्रमुख अतिथिको रुपमा शुभकामना मन्तव्य दिंदै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले क्रान्तिको उद्गमस्थल रोल्पाबाट एकजना हस्तक्षेपकारी कविको रुपमा प्रेमप्रकाश आएको टिप्पणी गरे ।

कुलपति राईले भने, ‘विचारको अस्थिपन्जर र कलाको मांशपेशीले कविताको सग्लो आकृति निर्माण गरेर प्रेमप्रकाशले एउटा पूर्ण कवितासङ्ग्रह ल्याएका छन् ।’

जनसांस्कृतिक महासंघ, नेपालका अध्यक्ष भीम कुमाखीले प्रेमप्रकाशका कविताहरुले हरेक गलतका विरुद्ध आवाज उठाउँदै आलोचनात्मक चेतसहित समृद्ध समाज निर्माणको आव्हान गरेको टिप्पणी गरे ।

कुमाखीले भने, ‘प्रगतिशील चेत राख्ने कवि प्रेमप्रकाशले परिवर्तनको पक्षमा निरन्तर वकालत गर्दै राष्ट्रलाई प्रगतिपथमा डोर्‍याएर महत्त्वपूर्ण योगदान दिइरहेका छन् ।’

कवि तथा संचारिका समूहकी अध्यक्ष बिमला तुम्खेवाले प्रेमप्रकाशका कविताहरुमा कला र विचारको अद्भुत सन्तुलन रहेको टिप्पणी गरिन् ।

तुम्खेवाले भनिन्, ‘समकालीन कविहरुमा प्रेमप्रकाश आफ्नो पृथक पहिचानसहित उभिन सफल भएका छन् ।’

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक तथा कवि केशव सिलवालले प्रेमप्रकाशका कविताहरुमा नेपाली समाजका अन्तर्द्वन्द र अन्तर्वस्तुहरुको मिहिन विश्लेषण रहेको टिप्पणी गरे ।

सिलवालले भने, ‘परिवर्तनको पक्षमा आफ्नो सम्पूर्ण जीवन अर्पण गरेका गुमनाम भुइँमान्छेहरुको पक्षमा प्रेमप्रकाशले कविता लेखेका छन् ।’

रोल्पा-काठमाडौं कलासाहित्य समाजद्वारा आयोजित कार्यक्रममा अस्मिता केसी, एलिसा एकलास, गीलु रातोस, छम गुरुङ, नवीन शर्मा, नुशा लिङ्देन र प्रज्वल अधिकारीले प्रेमप्रकाशको ‘रगतको तर्पण’ कवितासङ्ग्रहबाट एकएकवटा कवितावाचन गरेका थिए ।

माटोमाथि केही अधिकार, जीवनसँग जहिल्यै पनि, भावहरुको भव्य भग्नावशेष शीर्षक तीन खण्डमा विभाजित प्रेमप्रकाशको कविताकृतिमा आगो लिन गएकाहरु, उल्टो यात्रा, रगतको तर्पण, विचार जरुरी छ, आन्दोलनमा अक्षरहरु शीर्षकका कवितासहित जम्मा बयालीस कविताहरु सङ्ग्रहित छन् ।

विमोचन कार्यक्रममा लुम्बिनी प्रदेश सांसद यमुना रोका, धर्मेन्द्र नेम्बाङ, स्वप्निल स्मृति, डा.विष्णुकुमार सिङ्जाली, नवीन रोकामगर, जीवन रोकामगर, बलबहादुर घर्तीमगर, सञ्जोग लाफामगर, मुक्तान थेबा, बाबू त्रिपाठी, असिम सागर, दीप दर्पण, कृष्णकिशु न्यौपाने, मिसन अधिकारी, उत्तम लिम्बू, मिथोच, राकेश चिन्तन, सुशीला तामाङ, प्रकाश चाम्लिङलगायत कवि, कलाकार, पत्रकार, राजनीतिकर्मी तथा संस्कृतिकर्मीहरुको उपस्थिति थियो ।

कविता, गजल र नियात्राका आधा दर्जन किताबसहित गीतिएल्बमसमेत प्रकाशित गरिसकेका प्रेमप्रकाशको ‘रगतको तर्पण’ कवितासङ्ग्रहलाई बिएन पुस्तक संसारले प्रकाशन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?