+
+

‘छक्कापञ्जा ५’ फूलपातीदेखि ४३ अमेरिकी सहरमा

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २३ गते २०:५२

काठमाडौं । ‘छक्कापञ्जा ५’ बिहीबार नेपालसँगै अमेरिकामा पनि रिलिज हुँदैछ । प्याट्रिक सुवेदीको नेपाल एलेभन इन्टरटेनमेन्टले दीपकराज गिरी स्टारर फिल्मलाई अमेरिकाब्यापी प्रदर्शन गर्न लागेको हो ।

त्यहाँका ४३ सहरस्थित हलले फिल्मलाई ५०० भन्दा धेरै शो दिएका छन् । डालसमा मात्र ५६ शो, सन-फ्रान्सिस्कोमा ५६ शो, ओहायोमा ६५ भन्दा धेरै शो तय छन् ।

‘न्यूयोर्कको ज्याक्सन हाइटदेखि पश्चिमको क्यालिफोर्नियासम्म विहिबारदेखि फिल्म लाग्दैछ । बक्स अफिस रिलिज भएकाले दर्शकले अनुकूल शो अनुसार फिल्म हेर्दैछन्’ वितरक सुवेदीले भने, ‘पहिलोपटक यति वृहतरुपमा फिल्म यहाँ लाग्दैछ ।’

उक्त कम्पनीले २३ अमेरिकी सहरका हलमा फिल्म प्रदर्शन हुने विज्ञप्तिमार्फत जनाएको छ । अनलाइनखबरलाई प्राप्त विवरणमा अमेरिकाका विभिन्न हलमा धमाधम दर्शकले एड्भान्स टिकट समेत खरिद गरिरहेका छन् ।

जसअनुसार, न्यूयोर्कको रेगल एस्टोरिया, रोचेस्टर र ह्वाइट प्लेन्सस्थित एप्पल सिनेमाजमा फिल्म लाग्दैछ । टेक्सस राज्यको डालसस्थित सिनेपोलिस, सिनेमार्क लिगेसी र सिनेमार्क नर्थइस्ट मलमा पनि फिल्म रिलिज हुने उल्लेख छ ।

सिनेपोलिस चेनमा ‘छक्कापञ्जा ५’को एड्भान्स टिकट विक्री र वितरक प्याट्रिक सुवेदी ।

टेक्ससको ह्युस्टनस्थित पासादेना र केटीस्थित हलसहित अस्टिन, वाको र सान एन्टोनियोस्थित हलहरुमा पनि फिल्म रिलिज हुदैछ । पश्चिमी राज्य क्यालिफोर्नियाको सनफ्रान्सिस्कोको बे एरियास्थित चार हलमा पनि फिल्म लाग्दैछ ।

जसमा सनफ्रान्सिस्कोको रिचमण्डस्थित सेन्चुरी हिलटप, डेली सिटीको सिनेमार्क, सेन्चुरी डाउनटाउन र सिने लाउण्जमा पनि फिल्म लाग्दैछ । साक्रामेन्टोको सिनेमार्क, लस एन्जलसको स्टारमार्क सिनेमा, ओहायो कोलम्बसको मार्कस सिनेमा र मार्कस क्रसउडमा पनि फिल्म लाग्नेछ ।

एक्रोन र क्लिभल्याण्डको दुई सिनेमार्क हलहरु, सिनसिनाटीको सिनेमार्क, पिटर्सबर्गका दुई सिनेमार्क हल, डेट्रोइटको आन आर्बर, पोर्टल्याण्डको सिनेमार्क, सियटालको सेन्चुरी सिटक मल, डेनभरको हार्किन्स नर्थफिल्ड, फिनिक्सको हार्किन्स, न्यूवार्कको सिनेमार्क, एरीको सिनेमार्कमा फिल्म रिलिज हुनेछ ।

लस भेगासको सिनेमार्क, नेब्रास्कोको लिंकन ग्राण्ड सिनेमा र म्याजेस्टिक सिनेमा, विसकन्सिनका प्वाइन्ट सिनेमा र हलिउड सिनेमा, आयोयाको सिकामोर सिनेमा, मिजोरीको रोनिज सिनेमा, नर्थ डेकोटाको वेस्ट एक्रस र न्यू इङ्ल्याण्डस्थित एप्पल सिनेमाजका ४ हलमा फिल्म लाग्दैछ ।

नेपाल एलेभन डटकमबाट दर्शकले टिकट प्राप्त गर्न सक्ने जनाइएको छ । ‘अमेरिकाबाट जुन माग छ, यसले हामीलाई उत्साहत दिलाएको छ’ सुवेदीले भने । उनका अनुसार चाँडै यो फिल्मलाई क्यानडामा समेत प्रदर्शनको तयारी छ । ‘छक्कापञ्जा ५’ पहिलोपटक उत्तरी अमेरिकी राज्य अलास्कामा समेत रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?