+
+

दशैंको मौका छोपी चिनियाँ नागरिकको घरमा चोरी, ४ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २४ गते १८:१९

२४ असोज, काठमाडौँ। दशैंको मौका छोपी चिनियाँ नागरिकको घरमा लाखौँ रुपैयाँ चोरी गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोट घर भएका २८ वर्षीय मनिष सापकोटा, काभ्रेपलाञ्चोक घर भएका २७ वर्षीय धनेष लामा, नुवाकोट घर भएका २८ वर्षीय डियुक सापकोटा र नुवाकोट घर भएकी २६ वर्षीया श्रीमाया तामाङ छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई बिहीबार काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरूबाट पक्राउ गरेको छ ।

उनीहरूले असोज २२ गते दिनको अन्दाजी २ बजेको समयमा काठमाडौँ महानगरपालिका वडा नं. ३२ पेप्सीकोलास्थित अञ्जली ताम्राकारको साढे ३ तले पक्की घरको माथिल्लो तलामा डेरा गरी बस्ने चिनियाँ नागरिक ५७ वर्षीय लुओ जिया लियानको कोठाको ताला फोडेर लाखौ रुपैयाँ बराबरको चोरी गरेका प्रहरीको आरोप छ ।

प्रहरीका अनुसार उनीहरूले फलामको लकरमा राखिएको नगद १९ लाख रुपैयाँ तथा सीसी क्यामेराको हार्डड्राईभ समेतका धनमाल चोरी गरेर फरार भएका थिए ।

पक्राउ परेका उनीहरूको साथबाट प्रहरीले १६ लाख ४९ हजार ७४० रुपैयाँ, चोरी गरेको फलामको सेफ, चोरी गरेको रकम बाट बाँडफाँड गरी उक्त रकमबाट खरिद गरिएको नयाँ एनएस २०० मोटरसाइकल तथा ६ वटा मोबाइल बरामद गरेको छ ।

उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त बानेश्वर काठमाडौँ पठाएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?