+
+

स्याङ्जाका ११ अतिरिक्त हुलाक खारेज

रासस रासस
२०८१ असोज २७ गते १०:२३

२७ असोज, वालिङ । स्याङ्जाका ११ अतिरिक्त हुलाक कार्यालयहरू खारेज भएका छन् । नेपाल सरकारले अतिरिक्त हुलाक (पाँचौँ संशोधन) नियमावली २०८० कार्यान्वयनमा ल्याएसँगै यहाँका ११ अतिरिक्त हुलाक कार्यालय खारेज भएका हुन् ।

यसअघि ५३ अतिरिक्त हुलाकमार्फत सेवा दिने गरिएकामा ११ वटा खारेज भएका जिल्ला हुलाक कार्यालय प्रमुख गुरुप्रसाद मरासिनीले जानकारी दिए ।

अतिरिक्त हुलाकमा रहेका कर्मचारी ५८ वर्ष पूरा भएपछि क्रमशः अवकाश हुँदै जाने र उक्त पद स्वतः खारेज हुने नीति सरकारले ल्याएसँगै अतिरिक्त हुलाक खारेजीमा परेका उनले बताए । ‘यस्ता हुलाकमा हुलाक प्रतिनिधि, डाँकवाहक र वितरक गरी तीन प्रकारका कर्मचारी हुन्छन् । कार्यरत कर्मचारी ५८ वर्ष पूरा भएमा त्यस्तो ठाउँका हुलाक स्वतः खारेज हुने नीतिअनुसार यहाँ पनि ११ अतिरिक्त हुलाक खारेजीमा परेका हुन्’, उनले भने, ‘धेरैजसो अतिरिक्त हुलाकमा ५८ वर्ष उमेर नपुगेका एक वा दुई जनाले सेवा दिँदै आउनुभएको छ, उहाँहरू पनि ५८ वर्ष पुगेपछि त्यहाँ पनि स्वतः सेवा बन्द हुन्छ ।’

यहाँ खारेज भएका अतिरिक्त हुलाकमा पुतलीबजार–५ स्थित पौवेगौंड, चापाकोट– ८ मा रहेको क्वामी, भीरकोट–६ मा रहेको खिलुङ देउराली, वालिङ–४ मा रहेको एलादी, आँधीखोला–२ मा रहेको चिलाउनेबास, आँधीखोला–५ स्थित निवुवाबोट, फेदीखोला–२ को मट्टिखान, हरिनास गाउँपालिकामा रहेको चित्रेभञ्ज्याङ, यहाँकै मग्याम, कालीगण्डकी गाउँपालिका–४ को बिर्घा र चापाकोट–१ को पकवादी अतिरिक्त हुलाक कार्यालय रहेका छन् ।

नियमावली जारी भई कार्यान्वयनमा आएपछि स्याङ्जामा अतिरिक्त हुलाकमा कार्यरत ६९ जनाले अनिवार्य अवकाश पाइसकेका छन् । ‘स्याङ्जाका विभिन्न ठाउँमा अब ४२ अतिरिक्त हुलाक कार्यालय बाँकी छन् । त्यहाँ कार्यरत  कर्मचारी ५८ वर्ष पूरा हुने तर नयाँ पदपूर्ति नहुने भएपछि क्रमशः कार्यालयहरु खारेज हुँदै जानेछन्’, कार्यालय प्रमुख मरासिनीले भने ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?