१ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली जनकपुर बोल्ट्सले डिरेक्टर अफ क्रिकेटमा बरदान चालिसे र प्रशिक्षकमा मनोज कटुवाललई नियुक्त गरेको छ ।
जनकपुर बोल्ट्सले बुधबार विज्ञप्ति जारी गर्दै पूर्वक्रिकेट समेत रहेका चालिसे र कटुवाललाई महत्वपूर्ण जिम्मेवारी दिएको जनाएको छ ।
जनकपुर बोल्ट्सले यसअघि नै नेपाली राष्ट्रिय टिमका पूर्वप्रशिक्षक समेत रहेका क्यानडाका पुबुदु दासानायकेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिसकेको छ । नेपाली क्रिकेटसँग निकै परिचित दासानायके दुई कार्यकालमा नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक भइसकेका छन् ।
त्यसबाहेक पुबुदु दासानायकेले अमेरिका र क्यानडाको पनि मुख्य प्रशिक्षक भइसकेका छन् । जनकुपर बोल्ट्सको मार्की खेलाडीमा आसिफ शेख रहेका छन् ।
बरदान चालिसे र मनोज कटुवालको आगमनले जनकपुर बोल्ट्सको प्रशिक्षण र व्यवस्थापन टोली अझ मजबुत बनेको टिमको विश्वास छ ।
। घरेलु क्रिकेटका सफल प्रशिक्षकको रुपमा स्थापित मनोज कटुवाल नेपाल प्रिमियर लिग क्रिकेटको अक्सनमा जनकपुर बोल्ट्सको टेबलमा थिए । उनी नेपालको महिला राष्ट्रिय टिमको मुख्य प्रशिक्षक समेत हुन् ।
यस्तै बरदान चालिसे यु-१९ राष्ट्रिय टिमका पूर्वउपकप्तान हुन् । चालिसेले नेपाल प्रिमियर लिगमा जनकपुर बोल्ट्सको एउटा हिस्सा हुन पाएकोमा निकै उत्साहित भएको प्रतिक्राय दिएका छन् । ‘धेरै क्षमतावान खेलाडी देखेको हिसाबमा यो निकै प्रतिस्पर्धात्मक प्रतियोगिता हुने विश्वास मैले लिएको छु,’ उनले भनेका छन्, ‘नेपाली क्रिकेटरका लागि पनि यो निकै महत्वपूर्ण प्रतियोगिता हुनेछ । किनभने उनीहरुले खेलेर, प्रतिस्पर्धा गरेर माथिल्लो स्तरमा जान सक्छन् । म अब फेरि नेपाली क्रिकेटमा आउँदै छु । जनकपुर बोल्ट्सलाई उपाधि दिलाउन म आफ्नो उत्कृष्ट दिनेछु ।’
सन् २००२ को आईसीसी यु-१९ विश्वकपबाट नेपाल अन्तर्राष्ट्रिय क्रिकेटमा चिनिन लागेको हो । न्युजिल्यान्डमा भएको त्यो विश्वकपका प्रमुख खेलाडी हुन् बरदान चालिसे र मनोज कटुवाल ।
नेपालले पाकिस्तान र बंगलादेशमाथि ऐतिहासिक विजय हात पार्दा उपकप्तान बरदान चालिसे दुवै खेलमा ‘प्लेयर अफ द म्याच’ भएका थिए भने विकेटकिपर मनोज कटुवाल त्यो टोलीको अर्का प्रमुख खेलाडी थिए ।
दुवैले सन् २००२ मा सिंगापुरमा भएको एसीसी ट्रफीबाट नेपाली राष्ट्रिय टोलीमा ‘डेब्यु’ गरेका थिए ।
सन् २०२२ मा यो जोडीले फेरि एकसाथ काम गरेका थिए । नेपाल क्रिकेट संघले आयोजना गरेको नेपाल टी-२० लिगमा यी दुईले लुम्बिनी अल स्टार्स सँगै काम गरेका थिए । जसमा बरदान चालिसे टिम प्रवर्धक र मनोज कटुवाल प्रशिक्षकको रुपमा थिए ।
नेपाल टी-२० लिगमा लुम्बिनी अल स्टार्सले बनाएको लेगेसीलाई निरन्तरता दिन बरदान चालिसे र मनोज कटुवाल खरो रुपमा उत्रिने विश्वास जनकपुर बोल्ट्सको रहेको छ ।
प्रतिक्रिया 4