+
+

एमालेले भन्यो : मीनबहादुर गुरुङसँग कुनै सौदाबाजी र लेनादेना छैन

‘पार्टी र नेतृत्वलाई लाञ्छित गर्नु भर्त्सनायोग्य’

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक १ गते १३:११
पार्टी कार्यालय शिलान्यासको तस्वीर ।

१ कात्तिक, काठमाडौं । पार्टी कार्यालय भवन शिलान्यासबारे भइरहेका टिप्पणीप्रति नेकपा एमालेले विरोध जनाएको छ ।

प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले विज्ञप्ति जारी गरी एमालेविरुद्ध भइरहेको टिप्पणी भत्र्सनायोग्य रहेको बताएका छन् ।

‘७५ वर्षको लामो ऐतिहासिक विरासत बोकेको पार्टीको विपक्षमा यो तहका लाञ्छना लगाउने, पार्टी र पार्टी नेतृत्वको विपक्षमा लाञ्छित गर्ने कुरा भर्त्सनायोग्य छ’, विज्ञप्तिमा भनिएको छ ।

व्यवसायी मीनबहादुर गुरुङले जग्गासहित केन्द्रीय कार्यालय भवन बनाइदिने प्रस्तावलाई एमालेले संस्थागत रुपमै स्वागत गरेको गौतमले उल्लेख गरेका छन् ।

विज्ञप्तिमा गुरुङ एमाले समर्थक र विगतमा सक्रिय नेता रहेको पनि दाबी गरिएको छ ।

‘…निज मीनबहादुर गुरुङ विद्यार्थी कालदेखि धरानमा अध्ययन गर्दा अनेरास्ववियु र स्ववियुको सक्रिय कार्यकर्ता रहेको र नोकरीको सिलसिलामा नेपाल बैंक लिमिटेडमा कार्यरत रहँदा बैंकिङ सेक्टरको केन्द्रीय कार्य समितिको सदस्य भई काम गरेको’ विज्ञप्तिमा लेखिएको छ, ‘अन्तरसंस्थानको केन्द्रीय कोषाध्यक्ष भई ट्रेड युनियन आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरी पार्टीको वैचारिक र राजनीतिक सामिप्यतामा रही कार्य गरेको तथ्य जगजाहेर छ ।’

गौतमले गुरुङसँग कुनै सौदावाजी र लेनादेना नगरेको पनि दाबी गरेका छन् । ‘यसमा कुनै किसिमको पनि सौदाबाजी र लेनादेना छैन । उहाँका नाममा विचाराधीन रहेका मुद्दाहरुको बारेमा उहाँ आफैंले फेस गर्ने हो, संविधान, कानुन भन्दा माथि कोही पनि छैन’ एमालेको विज्ञप्तिमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?