
१ कात्तिक, काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भए पनि नेपाल राष्ट्र बैंकले बिहीबार १ खर्ब रुपैयाँ खिच्ने भएको छ ।
निक्षेप संकलन उपकरण बोलकबोल मार्फत १ खर्ब रुपैयाँ तरलता खिच्न लागिएको केन्द्रीय बैंकले जनाएको छ ।
अधिक तरलता भए पनि चालु आर्थिक वर्ष सुरुवातबाट नै लगातार तरलता खिचिरहेको केन्द्रीय बैंकले अन्तरबैंक ब्याजदर ३ प्रतिशतबाट तल झरेपछि बिहीबार १ खर्ब तरलता खिच्ने भएको हो ।
राष्ट्र बैंकको २९ असोजको तथ्यांक अनुसार स्थायी निक्षेप सुविधा मार्फत बैंकहरूले अधिक भएको ३ खर्ब ३१ अर्ब २० करोड राष्ट्र बैंकमा राखेका छन् ।
निक्षेप लागतार बढ्ने तर कर्जा अपेक्षित वृद्धि नहुँदा बैंकहरू अधिक तरलताको दबाबमा छन् । जसले गर्दा केन्द्रीय बैंकले निरन्तर तरलता खिच्दै आएको छ । बिहीबार निक्षेप संकलन उपकरण बोलकबोल मार्फत १३ दिनका लागि १ खर्ब तरलता खिच्ने भएको हो ।
स्थिर निक्षेप सुविधामा ३ प्रतिशतको ब्याजदर छ भने निक्षेप संकलन उपकरण ब्याजदर बोलकबोल मार्फत तय हुनेछ । निक्षेप संकलन उपकरणमा लगानी गर्ने बैंकहरूको साँवा र ब्याज भुक्तानी १४ कात्तिकमा हुनेछ ।
उक्त उपकरणमा लगानी गर्ने बैंकले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल पेस गर्न सक्नेछन् ।
उक्त उपकरण राष्ट्र बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने छ । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्ने छ । बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया 4